चिनी उद्योगीबाट अहिलेसम्म ५२ करोड असुल भएको सरकारको दावी – Nepal Press

चिनी उद्योगीबाट अहिलेसम्म ५२ करोड असुल भएको सरकारको दावी

काठमाडौं । सरकारले चिनी उद्योगीबाट उखु किसानलाई बक्यौता तिर्न बाँकी रकममध्ये करीब ५२ करोड रुपैयाँ असुलेको छ ।

उखु किसानले पाउनुपर्ने बक्यौता रकम भुक्तानीका लागि गृह मन्त्रालय र मातहत निकायबाट आवश्यक समन्वय भएको थियो । चिनी उद्योगीबाट अहिलेसम्म ५१ करोड ८८ लाख ४४ हजार अशुल भइसकेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म श्रीराम सुगर मिल्स लिमिटेडले ३५ करोड ७५ लाख ४४ हजार रुपैयाँ किसानलाई भुक्तानी भइसकेको मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव चक्रबहादुर बढाले नेपाल प्रेसलाई जानकारी दिए ।

त्यस्तै, अन्नपूर्ण सुगर एण्ड जेनेरल इण्डष्ट्रिज प्रालीबाट १० करोड ८८ लाख, लुम्बिनी चिनी उद्योग प्रालिबाट ४ करोड ९५ लाख र इन्दिरा सुगर एण्ड इण्डष्ट्रिज प्रालिबाट ३० लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।

किसान संर्घष समितिका संरक्षक राकेश मिश्राका अनुसार उनीहरुले कति रकम पाए कति रकम पाएका छैनन् त्यसको विवरण सरकारले नदिएको गुनासो गरेका छन् ।

मिश्राका अनुसार अहिले किसानको खातामा रकम गएपनि दुई लाख पाउनेले ५० हजारमात्र पाएका छन् ।

सरकारले कत्ति रकम किसानका खातामा हाल्यो भन्ने कुराको यकिन तथ्याङक नभएको मिश्रले बताए । मिश्राका अनुसार  किसानले पाएको रकम सार्वजानिक हुनु पर्‍यो । यति दिए भनेर भएन ।

लामो समयसम्म पनि उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने उद्योगीमाथि आवश्यक कारबाही गर्न भन्दै उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयले गृह मन्त्रालयलाई अनुरोध गरेको थियो ।

त्यसैअनुरुप, गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा गत मंसिर ३० गते बसेको बैठकले तत्काल कानून बमोजिम कारबाही गर्न निर्देशन दिएको थियो ।

बैठकले उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने इन्दिरा सुगर मिल नवलपरासी, लुम्बिनी चिनी उद्योग नवलपरासी, अन्नपूर्ण सुगर एण्ड जेनेरल इण्डष्ट्रिज सर्लाही र श्रीराम सुगर मिल्स र महम्मदपुर रौतहटका सञ्चालकलाई आवश्यक कारवाही गर्न प्रहरी प्रधान कार्यालय र सम्बन्धित प्रम्ुख जिल्ला अधिकारीलाई निर्देशन दिएको हो ।

उक्त निर्देशन बमोजिम प्रमुख जिल्ला अधिकारीबाट वक्यौता रकम भुक्तानीको लागि थप पहल भइरहेको पनि गृह मन्त्रालयका प्रवक्ता बुढाले बताए । बक्यौता रकम नतिर्ने उद्योगीको नाममा पक्राउ पूर्जी जारी भई कानूनी कारवाही प्रक्रिया शुरु भइसकेको पनि मन्त्रालयको जनाएको छ ।

उद्योगीबाट भुक्तानी हुन बाँकी रकम जतिसक्दो चाँडै वितरण गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पुनः निर्देशन दिइएको छ ।

भुक्तानी गर्न अटेर गर्ने उद्योगका सञ्चालकलाई कानून बमोजिम कारवाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन भएको र गृह मन्त्रालयबाट ती निर्देशन कार्यान्वयन गराउन मन्त्रालयले ताकेता गरिरहेको मन्त्रालयले जनाएको छ ।

रौतहट, सर्लाही र पश्चिम नवलपरासी लगायत विभिन्न जिल्लामा सञ्चालित चिनी उद्योगले किसानबाट उखु खरीद गरे बाफतको रकम भुक्तानी नदिएको भन्दै उखु किसान दुई पटक काठमाडौं पुगेर आन्दोलन गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *