आगामी चुनावमा ठूलो दल ओली नेतृत्वकै नेकपा : विष्णु पौडेल – Nepal Press

आगामी चुनावमा ठूलो दल ओली नेतृत्वकै नेकपा : विष्णु पौडेल

रुपन्देही । नेकपा महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी चुनावमा सरकारका कामलाई हेरेर जनताले अत्यधिक मत दिने र ठूलो दल पनि ओली नेतृत्वकै नेकपा बन्ने बताएका छन् ।

मंगलबार प्रेस संगठनले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जसरी पनि तोकिएकै समयमा निर्वाचन हुने दावी गरे । पौडेलले जस्तोसुकै परिस्थितिमा पनि सरकार चुनाव गर्न तयार रहेको जनाउँदै सबै दलहरुलाई चुनावमा केन्द्रित रहन आग्रह गरे ।

पौडेलले निर्वाचन आयोग, सुरक्षा निकायले वैशाख १७ र २७ मा हुने निर्वाचनका लागि तयारी थालेको र सरकारले स्रोत व्यवस्थापनमा लागेको जानकारी दिए । उनले ताजा जनादेशमा जानु उपयुक्त विकल्प भएको बताउँदै प्रचण्ड–माधव पक्षलाई कटाक्ष गर्दै सडकमा गरिने आन्दोलनको कुनै अर्थ नभएको बताए ।

पौडेलले सडकमा आन्दोलन गर्न भन्दा चुनाव केन्द्रित सभा गर्न आन्दोलनरत दलहरुलाई आग्रह गर्दै निर्वाचनमा केन्द्रित नभएपछि पछुताउनुपर्ने अवस्था आउनसक्ने बताए । अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा पुनःस्थापना हुने कुनै सम्भावना नरहेको जिकिरसमेत गरेका छन् । संविधान बनाउँदाका प्रमाणले नै संसद पुनःस्थापना नहुने उनको भनाइ छ ।

आगामी चुनावमा सरकारका कामलाई हेरेर जनताले अत्यधिक मत दिने र ठूलो दल पनि ओली नेतृत्वकै नेकपा बन्ने बताए । अर्को प्रसंगमा अर्थमन्त्री पौडेलले कोरोनाविरुद्धको भ्याक्सिन सबै नेपालीलाई निःशुल्क लगाइने पनि जनाए । उनले पछिल्लो समय अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर