वामदेवको स्पष्टीकरण– अध्यक्ष खोज्यो भन्नु भ्रमपूर्ण – Nepal Press

वामदेवको स्पष्टीकरण– अध्यक्ष खोज्यो भन्नु भ्रमपूर्ण

काठमाडौं । नेकपा विभाजनको विपक्षमा रहेको बताइरहेका नेता वामदेव गौतमले आफूले अध्यक्ष खोजेको भन्ने समाचार भ्रमपूर्ण भएको जनाएका छन् ।

गौतमको निजी सचिवालयले मंगलबार एक प्रेस नोट जारी गर्दै ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने कुरा उनीबाट व्यक्त नभएको बताएको छ।

‘विगत केही समयदेखि क.वामदेव गौतमलाई विभिन्न किसिमले अपमान गर्ने, उहाँका विचार, अभियान र विधि पक्षधर कार्यशैलीमाथि भ्रम सिर्जना गराउने कामहरु योजनावद्ध रुपमा हुँदै आएका छन्’ गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘राससमा प्रकाशित उक्त समाचार त्यही क्रमको निरन्तरता हो।’

भैंसेपाटीस्थित सचिवालयमा आएका केही पत्रकारसँग भेटघाट गरेको तर समाचारमा आएजस्तो विचार व्यक्त नभएको प्रेस नोटमा उल्लेख छ।

‘सोमबार केही पत्रकार साथीहरु उहाँलाई भेट्न भैंसेपाटीस्थित हाम्रो सचिवालयमा आउनुभएको थियो’ प्रेस नोटमा भनिएको छ, ‘ती साथीहरु पत्रकार मात्र नभइ पार्टी र संगठनमा समेत आवद्ध भएका नाताले अनौपचारिक रुपमा भेट गर्न आउनुभएको हो। उहाँहरुसँग पार्टी एकता अभियान, विभाजनले निम्त्याएका असरलगायतका विषयमा अनौपचारिक कुरा भएको हो। तर, जसरी समाचारमा आएजस्तो ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने कुरा उहाँबाट व्यक्त भएको छैन।’

कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि पार्टी विभाजन नहोस् भन्ने पक्षमा भएको र त्यही माग र चाहनालाई सम्बोधन गर्न गौतमले ‘नेकपा एकता राष्ट्रिय अभियान’ सञ्चालन गरिरहेको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर