नागरिक एप: १२ दिनमा ४ लाख डाउनलोड, निशुल्क बनाउने तयारी – Nepal Press

नागरिक एप: १२ दिनमा ४ लाख डाउनलोड, निशुल्क बनाउने तयारी

काठमाडौं । सरकारले माघ २ गते सार्वजनिक गरेको नागरिक मोवाइल एप डाउनलोड गर्नेको सख्या ४ लाख नजिक पुगेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रको मंगलबार दिउँसोसम्मको तथ्यांकअनुसार एप डाउनलोड गर्नेको संख्या ३ लाख ९१ हजार ३ सय ११ पुगेको हो ।

डाउनलोड गर्नेमध्ये २८ दशमलव ९ प्रतिशत अर्थात् १ लाख १२ हजार ९ सय ४८ प्रयोगकर्ताले प्रयोग नै गर्न थालेका छन् । तर ७१ दशमलव १ प्रतिशत अर्थात २ लाख ७८ हजार ३ सय ६३ प्रयोगकर्ता प्रमाणीकरणको चरणमा रहेका केन्द्रका सूचना अधिकारी समेत रहेका सहायक निर्देशक रमेश पोखरेलल जानकारी दिए ।

अधिकांशको मोवाइल नम्बर आफ्नो नाममा नभएकाले प्रमाणीकरण हुनेको संख्या कम भएको उनले बताए ।

केन्द्रको पछिल्लो विवरणअनुसार अहिलेसम्म नागरिकता ८२ हजार ७ सय ८९, प्यान नम्बर ५३ हजार ७ सय ७१, राहदानी ४२ हजार १ सय ९३, मतदाता परिचय पत्र ३८ हजार ८ यसय ४५ प्रयोगकर्ताले दर्ता गरेका छन् ।

यस्तै एसएलसी गरेका २५ हजार १ सय ३०, प्लस टु गरेका १२ हजार ६ सय १५, कर्मचारी संचय कोषमा ५ हजार ४ सय ५६, नागरिक लगानी कोषमा ५९, सामाजिक सुरक्षा कोषमा ४७ प्रयोगकर्ता आवद्व भएका छन् । एपमार्फत अहिलेसम्म २ जनाले गुनासो पनि गरेका राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ ।

एप सार्वजनिक भए पनि पूर्ण रुपमा प्रयोग गर्न नसकिने अवस्थामा रहेको प्रयोगकर्ताले गुनासो गरेका छन् । एप सार्वजनिक भएको ११ दिन बितिसक्दा समेत अझै एपमा देखिएका समस्या समाधान नभएका उनिहरुको गुनासो छ ।

एपमा विवरण भरेर दर्ता हुन नसक्नुमा विभिन्न प्राविधिक कारण रहेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी पोखरेलले बताए । आफूले प्रयोग गरेको मोबाइल नम्बर अर्काकै नाममा दर्ता छ भने यस्तो समस्या आउने उनको भनाइ छ ।

उनका अनुसार सिम लिदाँ मोबाइल सेवा प्रदायकलाई बुझाएको व्यक्तिगत विवरण र आफूले नागरिक एपमा भरेको विवरण फरक परे पनि त्यस मोबाइलमा नागरिक एप दर्ता भएर सक्रिय हुन सक्दैन ।

जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग र निर्वाचन आयोगको नामावलीको विवरणसँग मोबाइल प्रयोगकर्ताको व्यक्तिगत विवरण मिल्नैपर्ने गरी एपलाई सुरक्षित बनाइएको छ ।

व्यक्तिगत विवरण गृह मन्त्रालयले वा सरकारी निकायले जारी गर्दा कम्प्यूटर प्रणालीमा प्रविष्ट नगरेको अवस्थामा पनि यस्तो समस्या देखिएको केन्द्रले जनाएको छ । कतिपय अवस्थामा गृह मन्त्रालय, राहदानी विभाग, निर्वाचन आयोगको कम्प्यूटर प्रणालीमा राखेका विवरणमा गल्ती भएकाले पनि यस्तो समस्या हनुसक्ने केन्द्रको भनाइ छ ।

गृह मन्त्रालयले नागरिकता सम्बन्धि विवरण नागरिक एपमा राख्दा समस्या देखिएपछि त्यसलाई मिलाउनका लागि मन्त्रालयले छुट्टै अनलाईन प्रणालीको विकास गर्न थालिसकेको मन्त्रालयका सूचना अधिकारी समेत रहेका उपसचिव प्रेमलाल लामिछानेले नेपाल प्रेसलाई जानकारी दिए ।

एप्पल फोन प्रयोगकर्ताले एप नखुल्ने समस्या बढी भोगिरहेको उनिहरुको भनाइ छ । विशेष गरी आइफोन ६ सम्मका एपल डिभाइसमा यस्तो समस्या आएको छ । केन्द्रमा पनि यस्तो गुनासो आइकाले यसलाई सुधार गर्ने काम जारी रहेको सूचना अधिकारी पोखरेलले बताए ।

नेपालमा नेपाल टेलिकम र एनसेलका प्रयोगकर्ताले मात्र एपमा पहुँच बनाउन सक्ने व्यवस्था गरिएको छ । एपमा फोटो समेत अपलोड नहुने समस्या देखिएको छ । कतिपयको सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषको विवरण एपले देखाइरहेको छैन । प्रणालीले देखाउनसक्ने गरी राख्न अन्य निकायलाई केन्द्रले आग्रह गरिसकेको छ ।

परीक्षणको चरणमा रहेको नागरिक एपमा ९ ओटा सेवा राखिएको छ । एप मार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र, मतदाता परिचयपत्रसम्बन्धी विवरण प्राप्त गर्न सकिने छ ।

यस्तै कर्मचारी संचय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएको रकम र ऋणको विवरण जानकारी लिन सकिने छ । नागरिक एपबाट हेलो सरकारमा गुनासो समेत गर्न सकिने छ ।

नागरिक एप प्रयोग गर्दा निःशुल्क प्रयोग गर्ने व्यवस्थाका लागि पनि पहल भइसकेको राष्ट्रिय सूचना प्रविधि केन्दका सूचना अधिकारी पोखरेलले बताए । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकम सेवा प्रदायकसँग डेटा निःशूल्क गर्न छलफल गरिरहेको छ ।

सरकारले गत माघ २ गते सम्भव भएसम्मका सबै सार्वजनिक सेवाहरु मोबाइलबाटै प्रदान गर्ने उदेश्यले नागरिक एपको बेटा भर्सन सार्वजनिक गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *