सिनेमा संवादमा पर्यटनको चर्चा – Nepal Press

सिनेमा संवादमा पर्यटनको चर्चा

‘सिनेमा पर्यटन विकासकाे राम्रो माध्यम’

घान्द्रुक । करिब १२ वर्षअघि कलाकार, निर्देशक सुदर्शन थापा कास्कीको घान्द्रुक आएका थिए । चलचित्र ‘मेरो एउटा साथी छ’ को सुटिङमा आएकाबेला अहिलेजस्तो सहज थिएन । नयाँ पुलदेखि सुटिङका पोकापुन्तुरा बोकेर उकालो उक्लिएका थिए ।

तर, अहिले घान्द्रुक त्यस्तो छैन । गाउँकोे आँगनसम्मै मोटरबाटो आइपुगेको छ । धुवाँ उडाउँदै गाडीहरु गुड्छन् । बरु १२ वर्षअघि थापाहरुको सुटिङ सामान परम्परागत ढंगमा खच्चडले बोकेको थियो । ‘त्यतिबेला धेरै कष्ट थियो । अहिलेजस्तो थिएन । दोस्रो पटक आउँदा त धेरै परिवर्तन भइसकेछ,’ थापा त्यो समयमा फर्किन्छन् ।

चलचित्र पत्रकार संघले कास्कीको घान्द्रुकमा गरेको सिनेमा संवाद कार्यक्रमको ‘सिनेमा टुरिजम’ सेसनमा थापाले आफ्नो अनुभव सुनाएका हुन् । संवादको सहजीकरण बासु मिश्रले गरेका थिए भने वक्ताका रुपमा निर्देशक थापासँगै पर्यटन व्यवसायी गोपी भट्टराई थिए ।

सेसनमा पर्यटन र सिनेमाको सम्बन्ध, सम्भावना आदिबारे बहस गरिएको थियो । थापाले सिनेमा र पर्यटन क्षेत्रको सम्बन्ध नङ र मासुकोजस्तै सम्बन्ध भएको बताए । ‘फिल्म, डकुमेन्ट्रीहरुले पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा ठूलो सहयोग गर्छ,’ उनले भने । राम्रो सिनेमाले गरेको पर्यटन प्रवद्र्धनले ठाउँको विकास हुनेमा पनि उनको जिकिर छ ।

लामो समयको कोरोना महामारी र लकडाउनले सबैभन्दा बढी प्रभावित क्षेत्र सिनेमा र पर्यटन क्षेत्र हुन् । कोरोना कहर सहज हुँदै विस्तारै बजार खुल्दै गर्दा पनि पर्यटन र सिनेमा बजार पुरानै अवस्थामा फर्किन केही समय लाग्ने अर्का वक्ता तथा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईको अनुभव छ । ‘यी दुई क्षेत्र भनेका तत्काल रिभाइभ हुन सक्दैन । केही समय त पक्कै लाग्छ,’ उनले भने ।

भट्टराई सिनेमाले गर्दा नै लुकेका विभिन्न पर्यटकीय ठाउँहरुको प्रचारप्रसारमा ठूलो सहयोग पुगेको बताउँछन् । ‘कुनै पनि ठाउँको एक्स्पोज गर्न सिनेमाले सहयोग गरिरहेको छ । कुनै कुनै ठाउँको त कायापलट नै भइराखेको छ,’ उनले भने, ‘सिनेमा र पर्यटनबीच जति सहकार्य हुनुपर्ने हो । त्यति नभएको हो कि झैं पनि लाग्छ ।’ उनले नेपाली सिनेमाले आन्तरिक पर्यटक बढाउनमा धेरै सहयोग गरेको उनी बताउँछन् ।

निर्देशक थापाले भने सबै सिनेमाले पर्यटन विकासमा टेवा नपुर्याउने बताउँछन् । उनी सिनेमा छायांकन गर्दैमा तत्काल पर्यटन प्रर्वद्धन नहुने सुनाए । आन्तरिक तथा बाह्य पर्यटकलाई सिनेमाका आधारमा प्रर्वद्धन गर्ने हो भने नेपाली मौलिकता पनि प्रवद्र्धन गर्नुपर्ने उनको मत छ ।

उनले भने, ‘सबै चलचित्रले सबै ठाउँ चिनाउँछन् भन्ने हुँदैन । ठाउँको विशेषता, जाने प्रक्रिया र त्यहाँको मौलिकतालाई पनि क्याच गर्न सकियो भने बल्ल त्यसले पर्यटन प्रवद्र्धन हुने हो ।’

नेपाली सिनेमा निर्माणको क्रममा भने सरकारी तहको सहयोग नरहेको थापाको गुनासो छ । ‘सहकार्यको अभ्यास नभएर हो कि ? फिल्म छायांकनको समयमा सरकारले सहयोग गर्छ भन्ने नै सोच्दैनौं । व्यक्तिगत रुपमा स्थानीयको सहयोग त हुन्छ । कहिलेकाहीं सहकार्य नगर्दा साना गल्तिमा पनि ठूलो सजाय भोग्नु परिरहेको हुन्छ,’ उनले भने ।

तर, पोखरा पर्यटन परिषदका गोपी भट्टराई भने व्यवसायीले माया गरिरहेको दाबी गर्छन् । उनले संघीयता पछि सबै तहका सरकारको समन्वय हुन नसक्दा पनि समस्या उत्पन्न भएको उनको भनाइ छ । ‘अधिकार धेरै भएर पनि होला ! विभिन्न ठाउँका मौलिकता नै हराए । पदमार्ग हराए । कोर्डिनेसन हुन नसक्दा समस्या आएको हो,’ उनले भने ।

चलचित्र पत्रकार संघ, कास्कीले घान्द्रुक सिनेमा संवाद गरेको हो । कार्यक्रममा सिनेमा टुरिजम र सिनेमा साहित्य गरी २ सत्र सञ्चालन भएका थिए । सिनेमा साहित्य: सम्बन्ध र साझेदारी विषयक सत्रलाई दिनेश डिसीले सहजीकरण गरेका थिए भने वक्ताका रुपमा कलाकार, निर्देशक दिपकराज गिरी, भुषिता वशिष्ठ र लेखक गनेस पौडेल छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर