गंगामायाका छोरालाई अदालतमा तोडफोड र ज्यान मुद्दामा सफाइ – Nepal Press

गंगामायाका छोरालाई अदालतमा तोडफोड र ज्यान मुद्दामा सफाइ

काठमाडौं । छोराका हत्यारालाई कारवाही माग गर्दै अनसनकै क्रममा ज्यान गुमाएका गोरखाका नन्दप्रसाद अधिकारी र अहिले पनि अनसनमै रहेकी गंगामायाका छोरा नुरप्रसादले २ वर्षपछि अदालतमा तोडफोड र ज्यान मार्ने उद्योगको मुद्दाबाट सफाइ पाएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले उनलाई उच्च अदालतमा तोडफोड तथा ज्यान मार्ने प्रयास गरेको अभियोगबाट सफाइ दिएको हो ।

एउटा निजी मुद्दाका वादीको तर्फबाट बिचौलीयाका रुपमा गएका नुरप्रसादले अदालतबाट आफ्नो पक्षमा फैसला नआएपछि २०७५ असोजमा उच्च अदालत पाटनभित्र तोडफोड र हातपात गरेका थिए ।
उच्च अदालतमा तोडफोड गर्दै अधिकृत रोशन बस्नेतलाई कुर्सी उचालेर आक्रमण गरेपछि उनी पक्राउ परेका थिए । ललितपुरकी विन्दू घतानीको जग्गा सम्बन्धी मुद्दामा अदालतले उनको पक्षमा फैसला नगरेपछि उनी तोडफोडसहित आक्रमणमा उत्रिएका थिए ।

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीलाई तत्कालीन माओवादीले युद्धकालमा हत्या गरेका थिए । छोराका हत्यारामाथि कारवाहीको माग गर्दै अनसन बसेका नन्दप्रसादको निधन भइसकेको छ । आमा गंगामाया अनसनमै छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर