कौसीखेतीले फेरेको सावित्राको दैनिकी – Nepal Press

कौसीखेतीले फेरेको सावित्राको दैनिकी

रुपन्देहीका महिलामा कौसीखेतीप्रतिको आकर्षण बढ्दो

रुपन्देही । कोरोना महामारीका कारण भएको लकडाउनले धेरैलाई बेरोजगार बनायो । धेरैलाई दिन काट्नै मुस्किल भयो । तर कतिपयले उक्त समयलाई सीपमूलक काम सिक्ने र गर्ने मौकाका रुपमा प्रयोग गरे ।

रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम सिद्धार्थपथकी सावित्रा भण्डारीले लकडाउनको समयलाई कौसीखेतीमा प्रयोग गरिन् । जसले उनलाई आत्मनिर्भर बनाएको छ । उनी अहिले प्रशस्त जग्गा नहुनेले पनि घर खर्च चलाउन कौसीखेती गर्ने तरिका सिकाउन थालेकी छिन् ।

५ वर्षअघि तिलोत्तमा बसाइसरी आएकी सावित्राका श्रीमान् विदेशमा छन् । २ सन्तानसहित सिद्धार्थपथमा बस्दै आएकी सावित्राको कौसी खेती लोभलाग्दो छ । १० धुरमा बनेको एक तले घरको छतमा लटरम्म टमाटर फलाएकी छन् । साग, गोभी, भन्डा र फलफुलका विरुवाले हरियाली मात्र बनेको छैन् । घरकै सुन्दरता बढाएको छ ।

लामो समयको लकडाउनमा विद्यालय नखुल्दा छोराछोरी घरमै बसे । उनीहरुकै स्यारसुसारमा व्यस्त सावित्राले एकदिन सामाजिक सञ्जालमा कौसी खेतीका बारेमा देखिन् । त्यसपछि उनले आफै कौसी खेती गर्ने योजना बनाइन् । यो कुरा छिमेकी कल्पना भण्डारीलाई सुनाइन् ।

तरकारीसंगै फलफूल पनि रोप्ने भन्दै यसबारे जानकार राख्ने रमेश पाण्डेलाई भनिन् । सबैले सहयोग र हौसला दिएपछि उनले लकडाउनकै बीचमा कौसी खेती सुरु गरिन् ।

सावित्राको बिहान घरको छतमा बित्ने गर्दछ । छतमा कौसीखेती गरेकी उनले तरकारी, फलफूल र फूलका विरुवाहरुमा पानी हाल्छिन् ।

सुकेका पात टिप्छिन् । केही समय करेसाबारीमा भुलेपछि मात्र घरभित्रको काम गर्छिन् । लकडाउन अघिसम्म सावित्राको दैनिकी यस्तो थिएन लकडाउनले उनको दैनिकी फेरिएको छ ।

कौसीमा तरकारी लगाउँदा कुहिने फोहोरलाई व्यवस्थापन गर्नसमेत सकिने भएकाले कौसी खेती सुरु गरेको सावित्राले बताइन् । ‘सामाजिक सञ्जालमा रमाउनु भन्दा करेसाबारीमा भुल्दा छुट्टै आनन्द आउने रहेछ । त्यसैले पनि तरकारी र फूलका विरुवाहरु रोपे’ उनले भनिन् ।

बाहिरको भन्दा स्वस्थकर हुने भएकाले कौसीको तरकारी राम्रो हुने उनको भनाइ छ । अहिले सावित्राले गोभी, धनियाँ, प्याज, साग, सिमी, भिन्डी, खुर्सानी, काँक्रालगायतका तरकारी कौसीमा लगाएका छन् । तरकारीमात्र होइन उनले सयपत्री, गोदावरी, मखमली, धुपी, स्वीकस, बेगमबेली, डग फलावरका विरुवाहरु उनले रोपेकी छिन् ।

घरको छतमै च्याउ खेती गरेकी छिन् । गड्यौला मल बनाउने योजना समेत अघि बढाएकी सावित्राले कौसी खेती गर्नेहरुका लागि स्थानीय तहले तालिम दिएमा आफैं स्वाबलम्बी बन्न सकिने बताउँछिन् ।

बजारमा दैनिकजसो तरकारीको मूल्यबृद्धि र विषादीयुक्त तरकारी उपभोग गर्दा हैरान भएकी सावित्रा अहिले खुसी छिन् । उनीबाट सिकेर कौसीखेती गर्नेको सङ्ख्या दिनुहुँ बढिरहेको छ ।

कौसीखेतीको लहर

रुपन्देहीको तिलोत्तमा, बुटवल, सिद्धार्थनगर, सैनामैना, देवदहलगायतका क्षेत्रमा अहिले कौसी तरकारी खेती गर्न थालिएको छ । सामान्यतया कौसी खेती भन्नाले घरको छतमा गमला, काठको बाकस, सिमेन्टको बोरा र प्लास्टिकको थैलामा उचित मात्रामा माटो र मलको प्रयोग गरेर खेती गर्नुलाई बुझिन्छ ।

कौसीको खाली ठाउँको सदुपयोगबाट आर्गानिक तरकारी खेती गर्न सकिने र सानो परिवारलाई वर्षभर पुर्याउन सकिने भएकाले पनि कौसी खेतीमा धेरै आर्कषित भएका छन् ।

उक्त टोलमा कौसी खेती गर्ने सावित्रा एक्ली भने होइनन् । अहिले सोही टोलमा कल्पना भण्डारी, छविकला ढकाल, विष्णु गौतम, सम्भयता पोख्रेल, सुनिता पोख्रेलले कौसी खेती गर्दै आएका छन् । टोलले अघि सारेको ‘एक घर एक बगैचा तथा कौसी खेती’ अभियानअनुसार टोलमै कौसी खेतीको सुरुवात गरिएको स्थानीय कल्पना भण्डारीले बताइन् ।

‘घरमा बस्दा मनमा धेरै कुरा खेल्ने भएकाले पनि हामीले यो कौसी खेतीलाई अभियानै चलाएर गर्नुपर्छ भन्ने लाग्यो । मैले मात्र कौसीमा फलाएको सिमीबाट घरमा खाएर पनि १६ केजी बिक्री गर्नसकें ।’ उनले भनिन् । उनले घरमा बस्ने समयको सदुपयोग गरेर यस्ता काम गर्न सकिने बताएकी छन् ।

नगरपालिकाको प्राथमिकतामा कौसीखेती

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले कौसी खेती गर्नेहरुका लागि नगरपालिकाले विउ र प्राविधिक सहयोग गर्ने बताउँछन् । ‘हामीले यसलाई अभियानकै रुपमा लैजाने योजना बनाएका छाै । अहिले टोलहरु हामीले सिजन अनुसारका विउविजन दिन थालेका छौं । छिट्टै अभियानको सुरुवात हुन्छ’ उनले भने ।

बुटवल उपमहानगरपालिकाले पनि कौसीखेतीलाई प्राथमिकतामा राखेको छ । प्रवक्ता रामप्रसाद रेग्मीले उपमहानगरले बजेट विनियोजन गरेर नै यसका लागि योजना अगाडि सारेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर