राधाकृष्ण मैनाली भन्छन्ः केपी ओली मन्दिर गएको पहिलोपटक देखेँ – Nepal Press

राधाकृष्ण मैनाली भन्छन्ः केपी ओली मन्दिर गएको पहिलोपटक देखेँ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथ मन्दिरमा गएर पुजाआजा गरेको विषयले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ । कम्युनिष्ट नेतामा धार्मिक रुझान देखिएको भनेर कतिले खिसिट्यूरी गरेका छन् भने कतिले चाहिँ नेपाललाई हिन्दू राज्य बनाउन ओली अग्रसर हुने संकेतको रुपमा यसलाई बुझेका छन् ।

ओलीका भुतपूर्व सहयोद्धा पुराना कम्युनिष्ट नेता (पछि राजावादी) राधाकृष्ण मैनाली उनको धार्मिक रुझान देखेर आफू आश्चर्यमा परेको बताउँछन् । मैनालीको भनाइअनुसार ओली युवाअवस्थामा ओली आस्तिक थिएनन् ।
नेपाल प्रेससँग उनले भने, ‘हामी जेलमा सँगै बस्दा होस वा जेलबाट बाहिर निस्केपछि, मैले ओलीमा धार्मिक रुझान कहिल्यै देखिनँ । एकपटक पनि मन्दिर गएको थाहा छैन । बरु जेलबाट निस्केपछि म यदाकदा पशुपतिनाथ मन्दिर जान्थेँ ।’
ओलीले बाल्यकालमा रामायण–महाभारतजस्ता किताबहरु पढेको भए पनि राजनीतिमा लागिसकेपछि कुनै धर्मग्रन्थमा रुची नलिएको मैनाली बताउँछन् ।

‘उहाँका बुवा धार्मिक प्रवृत्तिको हुनुहुन्थ्यो । बुवाका केही धार्मिक किताब ओलीले बाल्यकालमा पढ्नु भएको हो । पछि रामनाथ दाहालको घरमा बस्दा उहाँले रामायण महाभारत, स्वस्थानीहरु पढ्नु भयो । उहाँले रामनाथकी आमा र हजुरआमालाई स्वस्थानी वाचन गरेर सुनाउनुहुन्थ्यो । उहाँको धार्मिक ज्ञानको सुरुवाति स्रोत यत्ति नै हो । बाल्यकालमा पढेका कुरा हत्पत्ति बिर्सिँदैन । कम्युनिष्ट राजनीतिमा लागिसकेपछि उहाँले धार्मिक पुस्तक पढ्नुभएको जस्तो लाग्दैन । जेलमा बस्दा राजनीतिक–दार्शनिक पुस्तकहरु धेरै पढ्नुहुन्थ्यो, धार्मिक किताब पढेको देखिनँ ।’ उनले सुनाए ।

ओलीले हिन्दूत्वप्रति देखाइरहेको प्रेमलाई उनले ‘दक्षिणपन्थि रुझान’ का रुपमा व्याख्या गरे । मैनालीले भने, ‘उहाँमा केही समयदेखि दक्षिणपन्थी रुझान देखिन थालेको छ । दक्षिणपन्थि रुझान यही नै हो भनेर ब्याख्या गर्न त गाह्रै छ । तर, अहिले धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रजस्ता विषयहरुमा उहाँ सकारात्मक हुनुहुन्न ।’

आफूले अंगिकार गर्दै आएको कम्युनिस्ट सिद्धान्तबाट ओली ‘डिरेल’ भइरहेको पनि मैनालीले टिप्पणी गरे । ओली भित्रैबाट धार्मिक बनेका नभइ राजनीतिक लाभका लागि उनले धार्मिक रुझान देखाउन थालेको उनको आशंका छ ।

‘फुटपछि उहाँको पार्टी कमजोर भएको छ । यस्तो बेलामा चुनाव गराउँछु पनि भनिरहनुभएको छ । यही अवस्थामा चुनावमा जाने हो भने उहाँको पार्टीले बहुमत ल्याउन सम्भव छैन । फुटेको पार्टीले बहुमत ल्याएर चुनाव जितेको इतिहास पनि छैन । हिजो कांग्रेस र एमाले फुट्दा चुनावी नतिजा कस्तो आएको थियो भन्ने राम्ररी बुझ्नु भएको छ । तसर्थ आगामी चुनावमा आफूलाई बलियो बनाउने हेतु उहाँले हिन्दू राज्य पक्षधर जनमतलाई आफूतिर तान्ने नाटकीय प्रयास गर्नुभएको हुन सक्छ ।’ मैनालीले ब्याख्या गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर