प्रविधिमैत्री कामले राजस्व प्रणालीमा सुधार देखिएको छ: महानिर्देशक दाहाल – Nepal Press

प्रविधिमैत्री कामले राजस्व प्रणालीमा सुधार देखिएको छ: महानिर्देशक दाहाल

काठमाडौं । भन्सार सेवा तथा पूर्वाधारमा सुधार र आधुनिकीकरणको काम तीब्र पारिएको भन्दै भन्सार विभागले आयात-निर्यात व्यापारमा सहजीकरणका लागि तयार रहेको बताएको छ ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मंगलबार नेपाल उद्योग परिसंघमा आयोजित अन्तरक्रियामा भन्सार विभागका महानिर्देशक सुमन दाहालले एकद्वार प्रणाली कार्यान्वयनमा आउन थालेको, प्रविधिमा आधारित मूल्यांकन तथा अनुगमन प्रणाली अपनाइएको र छिट्टै डिजिटल भुक्तानीका लागि काम अघि बढेको बताए ।

महानिर्देशक दाहालले विभागले अघि बढाएका कामले समग्र व्यापार तथा राजस्व प्रणालीमै सुधार देखिएको पनि जानकारी गराए ।

भन्सार एजेण्टको संख्या थप्न आवश्यक तयारी भइसकेको र यसलाई छिट्टै पूर्णता दिइने छ । भन्सार पूर्वाधार तथा नाकाहरुमा बन्दै गरेका एकीकृत चेक पोष्टको सुधारमा सहकार्य तथा समन्वय आवश्यक रहेको दाहालले सहकार्यका लागि परिसंघलाई आग्रह समेत गरे ।

परिसंघका कार्यवाहक अध्यक्ष विष्णुकुमार अग्रवालले भन्सार विभागले व्यापार सहजीकरणका लागि पूर्वाधार तथा सेवामा भइरहेको सुधारको स्वागत गर्दै करिब २५ वर्ष यतादेखि भन्सार एजेण्ट थप नभएकाले इजाजतपत्र तत्काल खुला गरी एजेण्टको संख्या बढाउन आग्रह गरे ।

यस्तै डिजिटल भन्सार प्रशासनको माग दोहोर्‍याउँदै व्यवहारमा नै कागजातविहीन जाँचपास र डिजिटल भुक्तानीको सुविधा आवश्यक भइसकेको र भन्सार प्रशासनले विश्वसनीय उद्योगी व्यवसायीहरुलाई झन्झटबिनाको जाँचपासको व्यवस्था गर्न ध्यानाकर्षण गराए ।

व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक सरदविक्रम राणाले व्यापार प्रवर्द्धनका लागि नेपाल ट्रेड इन्फरमेशन पोर्टल शुरू गर्न लागेको जानकारी गराउँदै सहकार्यका लागि निजी क्षेत्रलाई आग्रह गरे ।

परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले भन्सार पूर्वाधार तथा सेवामा भएका सुधारको स्वागत गर्दै वस्तु उत्पादनको लागत कम गर्ने र निकासीकर्तालाई थप सहुलियत दिन सकेमात्र निर्यातको अंश बढाउन सकिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर