रुपन्देहीमा विष्णु पौडेल र घनश्याम भुसाल को हावी ? – Nepal Press
नेकपा विभाजन

रुपन्देहीमा विष्णु पौडेल र घनश्याम भुसाल को हावी ?

वहुसंख्यक जनप्रतिनिधि ओली पक्षमा,पूर्व माओवादी पनि विभाजित

रुपन्देही । केन्द्रीय राजनीतिमा प्रभाव जमाएका अर्थमन्त्रीसमेत रहेका नेकपा ओलीपक्षका महासचिव विष्णु पौडेल र प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य घनश्याम भुसालका कारण रुपन्देहीको वडा तहसम्मै नेकपा विभाजनको असर पर्न थालेको छ ।

स्थानीय सरकारका जनप्रतिनिधि, जिल्ला समन्वय प्रमुख, प्रदेश सांसद तथा विघटित प्रतिनिधि सभाका सांसदहरू, राष्ट्रिय सभाका सांसद, प्रदेश तथा जिल्ला कमिटीको बहुमत सदस्य ओली पक्षमा लागेका कारण पनि प्रचण्ड-माधव पक्ष आफ्‍नो पकड बलियो देखाउन सक्रिय भई गतिविधि गरिरहेका छन् ।

रुपन्देहीबाट तीन पटक निर्वाचन जितिसकेका विष्णु पौडेल एकीकृत पार्टीको महासचिव पदमा पुगिसकेका छन् । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा माओवादी नेता भक्ति पाण्डे र कांग्रेस नेता सूर्यप्रसाद प्रधानलाई हराएका पौडेलले २०७० को दोस्रो संविधानसभामा चुनावमा पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराई र कांग्रेस नेता सूर्यप्रसाद प्रधानलाई धेरै मतान्तरले पराजित गरे । पौडेलले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता युवराज गिरीलाई हराउँदै देशभरमै सबैभन्दा धेरै मतान्तरमा विजयी बनेर थप चर्चा कमाएका थिए ।

पहिलेदेखि नै माधव नेपाल खेमामा खुलेका घनश्याम भुसाल पनि आफ्नो वर्चश्व जोगाइराख्‍न सक्रिय भएर लागेका छन् । अघिल्लो संविधानसभाको चुनावमा थोरै मतले पराजित भुसालले पछिल्लो संविधानसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट कांग्रेसको समर्थनमा राप्रपाका नेता दीपक बोहरालाई पराजित गरेका थिए । पहिलो निर्वाचनमा पौडेलको साथ नपाएका उनले पछिल्लो पटक भने साथ पाएका थिए । ओली नेतृत्वको सरकारमा कृषिमन्त्री रहेका भुसाल नेकपा विभाजनसँगै राजीनामा दिएर प्रचण्ड(माव पक्षको कित्तामा क्लियर गरेका छन् ।

रुपन्देहीबाट विघटित प्रतिनिधिसभामा निर्वाचित ३ सांसद र समानुपातिकका १ गरी ४ सांसदमध्ये विष्णु पौडेल, छविलाल विश्वकर्मा, राधा ज्ञवाली ओली पक्षमा खुलेका छन् भने प्रचण्ड-माधव पक्षमा पक्षमा नेता घनश्याम भुसालमात्र छन् ।

पार्टी र सरकारमा पौडेलको प्रभाव बलियो भएकाले ओली पक्ष सशक्त देखिएको छ । पार्टी विभाजनको संकेतसँगै पहिलेदेखि नेपाल पक्षमा देखिएका पूर्व जिल्लाअध्यक्ष तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, सांसद तुलसी चौधरी, एमाओवादी खेमाबाट प्रदेश सांसद बनेका दधिराम न्यौपाने, नेपाल पक्षमा रहेका पार्टी केन्द्रीय सल्लाहकार नेत्र पन्थी, सोही पक्षमै रहेकी नेतृ सावित्रा अर्याल, नेता नन्दिकेशर ढकाल ओली पक्षमा ओली पक्षमा उभिएका छन् ।

ओली पक्षका नेता तेजेन्द्र केसी २०७२ सालमा पहिलोपटक अर्थमन्त्री बनेका पौडेलले आफ्नो क्षेत्रको विकासलाई उच्च प्राथमिकताका साथ बजेट ल्याएकोले विकासप्रेमी नेताको छवि बनाएको बताउँछन् । ‘पौडेल आफ्नो पार्टीमा मात्र नभएर सबै क्षेत्रमा लोकप्रिय भएको र सबैका कुरा सुन्नसक्ने नेता हो । त्यसैले उहाँको प्रभाव धेरै छु,’ केसीले भने ।

जिल्ला र प्रदेश कमिटीमा ओली पक्ष हाबी

पार्टी एकतापछि रुपन्देहीमा १ सय ७४ सदस्य जिल्ला कमिटी बनाइएको थियो । २०७६ जेठ १३ गते पूर्वएमालेको तर्फबाट शिवराज सुवेदी अध्यक्ष तथा पूर्वमाओवादीको तर्फबाट दधिराम न्यौपानेलाई सचिवमा जिम्मेवारी दिइएपनि न्यौपानेले आफू पहिले नै केन्द्रीय सदस्य बनेको भन्दै राजीनामा दिएपछि निर्मल जिसीलाई सचिव बनाइयो ।

जिल्ला कमिटीमा ६० प्रतिशत र प्रदेश कमिटीमा रुपन्देहीका २५ जनामध्ये २० जना आफ्नो पक्षमा रहेको ओली पक्षको दाबी छ । प्रचण्ड-माधव पक्षका नेता सिद्धिचरण भट्टराई पनि आफ्नोपट्टि बहुमत रहेको बताउँछन् । तर, उनले संख्याबारे भने खुलाएनन् ।

स्थानीय तहमा पनि प्रचण्ड-माधव पक्ष कमजोर

रुपन्देहीका १६ स्थानीय तहमध्ये ८ वटामा प्रमुख उपप्रमुख दुवै तथा एक स्थानीय तहमा नेकपाले उपप्रमुख जितेको थियो । तीमध्ये १५ पदमा पूर्वएमाले र २ पदमा पूर्वमाओवादीले विजयी भएका थिए । ओली पक्षको दाबी अनुसार ७ वटा पालिकाका जनप्रतिनिधि आफ्नो पक्षमा खुलेका छन् ।

प्रचण्ड-माधव पक्षले ३ प्रमुख र ३ उपप्रमुख गरी ६ जना आफूतिर रहेको बताएको छ । जिल्ला समन्वय समितिका प्रमुख एकराज विकले पनि ओली पक्षमा कित्ता क्लियर गरेका छन् । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र उपप्रमुख गोमादेवी आचार्य ओली पक्षमा छन् । सुवेदी दुई पार्टी एकिकरणपछि बनेको जिल्ला समितिका अध्यक्षसमेत हुन् ।

त्यस्तै शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरी र उपाध्यक्ष शान्तादेवी ज्ञवाली ओली पक्षमा छन् । यी दुवै तत्कालीन एमाले पार्टीबाट विजयी भएका थिए ।

सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारु ओली पक्षमा छन् भने उपाध्यक्ष अमृता गुरुङ प्रचण्डमाधव पक्षमा रहेको सो समूहले बताए पनि उनी आफू तटस्थ रहेको बताएकी छन् । उनीहरू पनि दुवै पूर्वएमालेका हुन् । सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्की र उपाध्यक्ष विना राना ओली पक्षमा छन् । पूर्वएमालेबाटै निर्वाचित कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण क्षेत्री र उपाध्यक्ष गोमा तरामुले पनि ओलीलाई साथ दिएका छन् । त्यसैगरी देवदहकी उपाध्यक्ष विद्या गुरुङ ओली पक्षमा छन् ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरे र जागेश्वरीदेवी चौधरी प्रचण्ड-माधव पक्षमा छन् । उनीहरू दुवैजना तत्कालीन एमालेमा माधव नेपाल पक्षधरका थिए । संसद विघटनपछि केपी ओलीले विस्तार गरेको केन्द्रीय समितिमा उपप्रमुख जागेश्वरीदेवीको नाम आएपछि उनले विज्ञप्ति जारी गरेर आफू ओली पक्षमा नरहेको प्रष्ट्याएकी थिइन् । तिलोत्तमा नेता घनश्याम भुसालको गृहनगर हो ।

त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारी, उपाध्यक्ष उमा काफ्ले प्रचण्ड-माधव पक्षमा खुलेका छन् । यी दुवै तत्कालीन एमालेको माधव नेपाल पक्षका मानिन्छन् । त्यसैगरी पूर्वमाओवादीबाट निर्वाचित ओमसतिया गाउँपालिकाका हिरा केवट र उपाध्यक्ष सुदरमती कुमारीले कित्ता परिवर्तन गरेर ओली समूहमा लागेका छन् ।

रुपन्देही जिल्लामा केन्द्रीय सदस्य तथा इन्चार्ज लिला गिरी, सहइन्चार्जद्वय खिमलाल भट्टरार्ई र एकराज विश्वकर्मा ओली समूहमा लागेका छन् ।

११ मध्ये १० प्रदेश सांसद ओलीतिर

लुम्बिनी प्रदेशमा रुपन्देहीबाट प्रत्यक्ष र समानुपातिक गरी ११ जना सांसदले प्रतिनिधित्व गर्छन् । जसमध्ये १० जना अहिले केपी ओलीको साथमा छन् । निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट २ जना निर्वाचित भएका थिए । रुपन्देही क्षेत्र नम्बर १ को ख बाट दधिराम न्यौपाने र समानुपातिक तर्फबाट दीपा वि।क। प्रदेश सांसद बनेका थिए । तर, न्यौपाने ओली पक्षमा आएपछि जिल्लाबाट प्रचण्ड-माधव पक्षमा लाग्ने प्रदेश सांसद दीपा मात्र बाँकी छिन् ।

रुपन्देहीबाट लुम्बिनी प्रदेशमा भोजप्रसाद श्रेष्ठ, लिला गिरी, भूमिश्वर ढकाल, कृष्ण न्यौपाने, तुल्सी चौधरी, विमला पन्थी, सुनिता कुमारी ठटेर, थानकुमारी चापागाई, र कमला वि।क। ओली पक्षमा खुलेर लागेका छन् ।

राष्ट्रियसभाका दुईजना सांसद ओलीतिर

राष्ट्रिय सभामा रुपन्देहीबाट प्रतिनिधित्व गर्ने दुईजनै सांसद ओली पक्षमा लागेका छन् । यहाँबाट नेता खिमलाल भट्टराई तथा गोपाल भट्टराई राष्ट्रियसभामा रहेका छन् । खिमलाल राष्ट्रिय सभामा पार्टीको प्रमुख सचेतक छन् ।


प्रतिक्रिया

One thought on “रुपन्देहीमा विष्णु पौडेल र घनश्याम भुसाल को हावी ?

  1. बलेको आगो ताप्ने नेपाली समाजको विशेषता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर