बुटवलका तीन ओटा पुलको अर्थमन्त्री पौडेलले एकैदिन उद्घाटन गर्दै – Nepal Press

बुटवलका तीन ओटा पुलको अर्थमन्त्री पौडेलले एकैदिन उद्घाटन गर्दै

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाभित्र रहेका तीन ठूला पुल अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एकैदिन उद्घाटन गर्ने भएका छन् ।
मन्त्री पौडेलले बुधबार तिनाउ नदीमा रहेको मगरघाटस्थित तिनाउ पुल, देवीनगरस्थित तिनाउ पुल र नयाँगाउँस्थित दानव नदीमा रहेको पुल उद्घाटन गर्नेछन् ।

डिभिजन सडक कार्यालय बुटवलका सूचना अधिकारी ई. कृष्ण कुँवरका अनुसार योसँगै बुटवलमा लामो समयदेखि रोकिएको राजमार्गचौराहदेखि चिडियाखोलासम्मको सडक बिस्तार पनि अर्थमन्त्री पौडेलले शुरु गर्ने छन् ।

 

तिनाउ नदीमा रहेको मगरघाटस्थित तिनाउ पुल २१ करोड ४९ लाख लागतमा निर्माण सम्पन्न भएको हो । २०७३ असार २९ गते निर्माण शुरु भएको सो पुल २०७६ माघ २८ गते सम्पन्न भएको थियो ।

कंक्रिट प्रि–स्टेट प्रविधिमा बनाइएको सो पुल लुम्बिनी बिल्डर्सले निर्माण सम्पन्न गरेको हो । १८० मिटर लम्बाई र ११ मिटर चौडाई रहेको यसको जिम्मेवारी पुल योजना पश्चिम क्षेत्र सेक्टर ४ पाल्पाले लिएको थियो ।

त्यसैगरी देवीनगरस्थित हात्तिसुँडमा रहेको तिनाउ पुल ११ करोड ९३ लाख लागतमा निर्माण भएको हो । ११० मिटर लम्बाई ११ मिटर चौडाई रहेको यो पुल लुम्बिनी अरनिकोले जिम्मा पाएको थियो ।

२०७२ असार ३० मा निर्माण शुरु भएको यो पुल २०७६ माघ ५ गते निर्माण सम्पन्न भएको हो । यसको निर्माण जिम्मेवारी सडक डिभिजन कार्यालय बुटवलको रहेको थियो ।

त्यसैगरी नयाँगाउँस्थित दानव नदीको पुल ६ करोड ६५ लाख लागतमा निर्माण भएको हो । २०६९ असार २४ गते निर्माण शुरु भएको यो पुल २०७६ भदौ ३० गतेमात्र सम्पन्न भएको हो ।

स्थानीयको विवादका कारण लामो समय निर्माण कार्य रोकिएको थियो । ९८.२५ मिटर लम्बाई र ७.२ मिटर चौडाई रहेको यो पुल लुम्बिनी बिल्डर्सले बनाएको हो भने यसको पनि जिम्मेवारी सडक डिभिजन कार्यालय बुटवलको रहेको थियो ।

यो क्षेत्रका जनप्रतिनिधिसमेत रहेका पौडेलकै पहलमा संघीय सरकारबाट बजेट विनियोजन गरिएको उनको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर