पशुपतिनाथमा प्रधानमन्त्री : हिन्दूराज्य पक्षधरका लागि सुखद संकेत ? – Nepal Press

पशुपतिनाथमा प्रधानमन्त्री : हिन्दूराज्य पक्षधरका लागि सुखद संकेत ?

काठमाडौं । न शिवरात्रि, न अरु कुनै पर्व । न सरकारीस्तरको कुनै औपचारिक कार्यक्रम । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बिहान अचानक पत्नीसहित पशुपतिनाथ मन्दिरमा झुल्किए । झुल्किएका मात्रै होइनन्, उनी बकाइदा पूजा–अनुष्ठानमा सहभागी भए ।

गणतन्त्र स्थापनायता कुनै पनि बहालवाला प्रधानमन्त्रीले सम्भवतः यसरी पशुपतिनाथ मन्दिरमा विधिपूर्वक पूजा–अनुष्ठान गरेका थिएनन् । संविधानले नेपालको हिन्दूराज्यको मान्यता खारेज गरेर धर्मनिरपेक्ष बनाएपछि मन्त्री–प्रधानमन्त्रीहरु पशुपतिनाथ छेउछाउको बाटो हिंड्नसमेत हिच्किचाउँथे । तर, ओलीले सम्भावित प्रतिक्रियाको वास्ता नगरी पशुपतिनाथ मन्दिर धाएर अर्थपूर्ण सन्देश दिएका छन् ।

परराष्ट्रविद निश्चलनाथ पाण्डे ट्वीटरमा लेख्छन्, ‘आर्यघाट जाने तर माथि मन्दिरमा नउक्लिने बाम विचारका नेताहरुको बानी थियो । भारतीय प्रधानमन्त्रीले श्रीखण्ड चढाएर पूजा गर्न हुने, हाम्रा प्रधानमन्त्री जानै नहुने कदापि होइन ।’

ओली धर्ममा आस्थावान वा धार्मिक भावनाले ओतप्रोत नेता होइनन् । उनी त धर्मलाई अफिम मान्ने कम्युनिष्ट स्कुलिङबाट आएका हुन् । बाल्यकालमा उनले रामायण–महाभारतहरुजस्ता ग्रन्थ पढेका थिए । स्वस्थानी भट्याएका थिए । तर, धर्मप्रति उनको लगाव विगतमा कहिल्यै नदेखिएको उनका पुराना सहयोद्धा राधाकृष्ण मैनाली बताउँछन् ।

‘बरु म यदाकदा मन्दिर जान्थेँ । उहाँ कहिल्यै गएको थाहा छैन’ मैनालीले नेपाल प्रेससँग भने, ‘उहाँ पहिले नास्तिक नै हुनुहुन्थ्यो, अहिले धेरै फेरिनुभयो ।’

हो, पछिल्लो समय हिन्दू धर्म र पूर्वीय दर्शनप्रति ओलीको रुझान स्पष्ट देखिन थालेको छ । त्यसलाई उनी लुकाउन खोजिरहेका पनि छैनन् । ओली आफ्नो भाषण र अन्तरवार्ताहरुमा पूर्वीय दर्शनको व्याख्या गरेर थाक्दैनन् । हिन्दू धर्ममा पुजिने देवी–देवताहरुका प्रसंगहरु पनि उनी झिकिरहन्छन् । नेपाललाई ऋषिमुनिहरुको तपोभूमिका रुपमा चित्रण गर्ने गर्छन् । अलिक दिनअघि उनले जीटीभीसँगको अन्तरवार्तामा अन्तरवार्ताकारलाई पूर्वीय दर्शनबारे राम्रैसँग पढाएर पठाएका थिए ।

केही समयअघि ओलीले भगवान रामको जन्मस्थल भारतमा नभएर नेपालको ठोरीमा रहेको उल्लेख गर्दै यसको उत्खनन् गरिने घोषणा गरे । उनको यो अभिव्यक्तिले नेपालमा मात्रै नभएर भारतमा समेत तरंग ल्यायो । भारतीय मिडियाहरुले आफ्नो देशको सम्पदामा आँखा गाडेको भनेर ओलीलाई खुबै खेदे । तर, ओली अहिले पनि भगवान रामको वास्तविक जन्मस्थल नेपालमा भएको मान्यतामा अडिग छन् ।

पहिलेका नास्तिक ओली अहिले हिन्दूधर्मप्रति मोहभाव किन देखाइरहेका छन् त ? यसका दुई आयाम छन् । पहिलाे भनेको उमेर र अनुभवले खारिंदै जाँदा उनीभित्र विगतमा जस्तो कम्युनिष्ट कट्टरता छैन । धर्म समाजविज्ञानको एउटा महत्वपूर्ण अंग हो भन्ने निष्कर्षमा उनी पुगेका छन् । नास्तिकबाट आस्तिकमा परिणत भएका हुन् वा होइनन्, त्यो उनैलाई थाहा होला । तर उनी धर्मलाई अफिम ठान्ने कम्युनिष्ट स्कुलिङबाट मुक्त भएको चाहिं यथार्थ हो ।

पछिल्लो समय हिन्दू धर्म र पूर्वीय दर्शनप्रति ओलीको रुझान स्पष्ट देखिन थालेको छ । त्यसलाई उनी लुकाउन खोजिरहेका पनि छैनन् ।

ओली निकट एक नेता भन्छन्, ‘उहाँ भौतिकवादबाट बाहिर आएर पूरै आध्यात्मिक व्यक्तिमा परिणत हुनुभएको होइन, हिन्दू धर्म देशको पहिचान र संस्कृतिको एउटा अंग भएकोले यसले आवश्यक सम्मान पाउनुपर्छ भन्ने दृष्टिकोण उहाँको हो ।’

ओलीको हिन्दूत्व प्रेमको अर्को महत्वपूर्ण आयाम छ । नेपाललाई धर्मनिरपेक्षबाट हिन्दू राज्यमै फर्काउनुपर्छ भन्ने बढ्दो जनमतबाट उनी लोभिएका हुन सक्छन् । बलियो नेतृत्व नपाएको यो जनमत आफूतिर खिच्ने रणनीतिका रुपमा पनि उनले हिन्दू धर्मतर्फ झुकाव देखाइरहेको कतिपयको बुझाइ छ ।

ओलीका निकटवर्तीहरु त उनले आफ्नो कार्यकालमै धर्मनिरपेक्षता र संघीयता उल्टाउने दावीसमेत गर्छन् ।

बालुवाटारनिकट स्रोत भन्छ, ‘नेपालमा धर्मनिरपेक्षता र संघीयता ल्याएर गलत भएको उहाँले पहिल्यै महसुस गरिसक्नुभएको छ । अब यी दुवै प्रणाली उल्टाउनका लागि उपयुक्त समयको पर्खाइमा हुनुहुन्छ ।’

त्यसो त ओलीका विरोधीहरुले उनीहरुमाथि प्रहार गर्ने मुख्य अस्त्र पनि ‘परिवर्तन विरोधी’ भन्ने हो । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता केही पनि ओलीले नरुचाएको उनीहरु बताउने गर्छन् । नेकपाको ‘विभाजन’ पछि प्रचण्ड र माधव नेपालले ओलीमाथि लगाइरहेको एउटा आरोप पनि यही हो । सानातिना आरोपको पनि मुखभरिको जवाफ फर्काउने ओली संघीयता र धर्मनिरपेक्षता विरोधीको आरोपमा चाहिं खासै कडा जवाफ दिन चाहिरहेका छैनन् । महसुस गर्न सकिन्छ कि यो आरोपमा उनलाई ठूलो आपत्ति छैन । जनताले आफूलाई संघीयता-धर्मनिरपेक्षता विरोधीकै रुपमा चिन्दा राजनीतिक नोक्सानी नहुने बुझाइसमेत ओलीको छ ।

नेपालमा हिन्दू राज्यको पक्षमा निकै ठूलो जनमत रहेको र यो बढ्दो क्रममा रहेको विषय अब लुकाएर लुक्दैन । तर, यो जनमतलाई प्रतिनिधित्व गर्ने बलियो राजनीतिक शक्ति छैन । हिन्दू धर्मको वकालत गर्ने सबैभन्दा ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी हो । तर, यसले आफ्नो आकर्षण गुमाइसकेको छ । यसर्थ, ओलीले साँच्चिकै आँट गरेर संघीयता-धर्म निरपेक्षताका विषयमा बोल्ड निर्णय लिए भने यो जनमत उनले कब्जा गर्न सक्ने सम्भावनालाई नकार्न सकिंदैन । तथापि विरोधी कित्ताबाट उत्पन्न हुनसक्ने कठोर प्रतिक्रियाको सामना गर्न पनि उनी तयार हुनुपर्नेछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन श्रेष्ठ प्रधानमन्त्री ओलीले हिन्दूधर्मप्रति दर्शाइरहेको प्रेम स्वागतयोग्य भएको बताउँछन् ।

‘उहाँले हिन्दू राज्यको वकालत गर्दा हामीलाई राजनीतिक नोक्सानी हुन्छ कि हुँदैन भन्ने गौण विषय हो, ठूलो कुरा यही हो कि उहाँजस्तो कम्युनिष्ट नेताले हिन्दू राज्यको आवश्यकता र औचित्यको महसुस गर्न थाल्नुभएको छ ।’

तर, सजिलो छैन

ओलीको भित्री चाहना संघीयता र धर्मनिरपेक्षता उल्टाउने हो भने पनि त्यो कदम चाल्न उनका लागि फलामकै च्यूरा चपाएभन्दा कम चुनौतीपूर्ण हुने छैन । यसमा सबैभन्दा पहिलो तगारो पार्टीभित्रैबाट उत्पन्न हुने निश्चित छ ।

नेपाल कम्युनिष्ट पार्टी अहिले अर्धविभाजित अवस्थामा छ । नेताहरु दुई ध्रुवमा बाँडिइसके पनि निर्वाचन आयोगले विभाजनको मान्यता दिएन । यसले आगामी दिनमा एकताको झिनो सम्भावना पैदा गरेको छ । यदि एकता भएन भने पनि पूर्वमाओवादीका केही नेताहरु ओलीसित छन् । उनीहरुलाई धर्मनिरपेक्षता र संघीयताप्रति अघोर प्रेम छ । पूर्वएमालेकै कतिपय नेताहरु ओलीसँग सहमत नहुन सक्छन् । त्यसबेला ओलीले पार्टीभित्रको सम्भावित विरोध पन्छाउँदै जनसमर्थनको आडमा आफूलाई थिग्राउनुपर्ने हुन्छ । त्यसका लागि उनमा बलियो मानसिक दृढता चाहिन्छ । कथंकदाचित एकता भएर फेरि प्रचण्ड–माधवहरु सँगै भए झन् चुनौतीको आयतन झनै भयानक हुन्छ ।

खैर, यो अलि परको कुरा भयो । हिन्दू राज्य वा संघीयताबाट एकैचोटि ब्याक हुने आँट गर्न नसके यी विषयमा जनमतसंग्रह गराउन मध्यमार्गी विकल्प ओलीसँग छ । आगामी चुनावसँगै जनमतसंग्रहको पनि घोषणा गर्ने हो भने सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने गरी उनले चाहेको नतिजा आउन सक्छ । नेपालको संविधानले पनि दूरगामी मुद्दाहरुमा जनमत संग्रहमा जान सकिने प्रावधान राखेकै छ । यो एउटा प्रजातान्त्रिक प्रक्रिया पनि हो । गणतन्त्रकै विषयमा पनि जनमतसंग्रहमा जाँदा अन्यथा हुँदैन, यसकारण कि यो व्यवस्था अहिलेसम्म जनअनुमोदित भएको छैन ।


प्रतिक्रिया

One thought on “पशुपतिनाथमा प्रधानमन्त्री : हिन्दूराज्य पक्षधरका लागि सुखद संकेत ?

  1. नेपाल लाई हिन्दू राज्य बनाइयो भने गैर हिन्दूहरू चुप लागेर बस्ने छैनन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर