प्रधानमन्त्रीको अभिव्यक्ति स्वतन्त्रताविरुद्धको बर्बराहट : कांग्रेस – Nepal Press

प्रधानमन्त्रीको अभिव्यक्ति स्वतन्त्रताविरुद्धको बर्बराहट : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिहरुलाई स्वतन्त्रताविरुद्धको बर्बराहटको संज्ञा दिएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक विज्ञप्ती जारी गर्दै ‘संसद विघटनको विरोध गर्नेहरु देशद्रोही हुन्’ भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिको आलोचना गरेको हो । ‘प्रधानमन्त्रीको यो अभिव्यक्ति अलोकतान्त्रिक त छ नै यसले उहाँमा रहेको अधिनायक आकांक्षालाई थप उजागर गरेको छ’, शर्माले भनेका छन् ।

सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ को संज्ञा दिएकोमा पनि प्रवक्ता शर्माले आपत्ति जनाएका छन् । प्रधनमन्त्रीका पछिल्ला अभिव्यक्तिले पदको गरिमा घटाएको कांग्रेसको टिप्पणी छ । ‘प्रधानमन्त्रीका पछिल्ला कैयौ अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउँदै लगेका छन् । आफ्नो कदमविरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने कर्म मार्फत उहाँले तिनको भन्दा बढी आफ्नै मर्यादित जिम्मेवारीको अमर्यादित ढंगले अपमान गरिरहनु भएको छ’, विज्ञप्तीमा भनिएको छ ।

कांग्रेसले समाजको कुनैपनि वर्ग, पेशा वा समुदायलाई लाञ्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन प्रधानमन्त्रीलाई कांग्रेसले चेतावनी समेत दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर