बादलले ठम्याएका नेकपा विभाजनका तीन कारकतत्व – Nepal Press

बादलले ठम्याएका नेकपा विभाजनका तीन कारकतत्व

प्रतिनिधिसभा पुनःस्थापना भए राजतन्त्र पुनःस्थापना हुन्छ

काठमाडौं । नेकपा विभाजनपछि पनि दुई दिनसम्म तटस्थ बसेर अन्तिममा केपी ओली पक्षमा खुलेका गृहमन्त्री रामबहादुर थापा बादल सोमबार तत्कालीन माओवादीको प्रभाव क्षेत्र कालिकोटमा पुगेर प्रचण्डमाथि खनिए ।

उनले नेकपा विभाजन गर्ने तीन प्रमुख पात्रका रुपमा प्रचण्ड, माधव नेपाल र झलनाथ खनाललाई चित्रित गर्दै उनीहरु प्रतिगामी शक्तिको मतियार बनेको आरोप समेत लगाए । बादलले प्रतिनिधिसभा पुनःस्थापना भए राजतन्त्र पुनःस्थापना हुने दावी समेत गरे ।

बादलले प्रचण्डलाई प्रधानमन्त्री नपाएको छटपटी, झलनाथलाई राष्ट्रपति बन्न नपाएको कुण्ठा र माधव नेपाललाई अध्यक्ष बन्ने हुटहुटीले नेकपा विभाजन गरेर बाहिरिएको टिप्पणी गरे । उनले तीनै जना नेताको षड्यन्त्र असफल पार्न प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर जनतामा जाने निर्णय गरेको बताए ।

कालिकोटमा बादलले गरेको भाषण यस्तो थियो

केपी ओलीको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको एकीकरण भएपछि धेरै देशी विदेशी शक्तिहरु छटपटिएका थिए । समृद्धिको यात्रा अघि बढेपछि पार्टीभित्रका अशन्तुष्ट शक्ति खोज्न थाले ।

नेकपाभित्रका कमजोर पात्र खोज्ने क्रममा उनीहरुले राष्ट्रपति हुन नपाएकोमा असन्तुष्ट व्यक्ति भेटे । प्रधानमन्त्री बन्न नपाएको असन्तुष्ट पात्र छन् भन्ने उनीहरुले पत्ता लगाए । अनि नेकपाभित्र यस्ता नेताहरु पनि छन्, जो अध्यक्ष हुन चाहन्छन् । प्रतिस्पर्धामा पराजित भएकोमा तीब्र असन्तुष्ट छन् भन्ने उनीहरुले पत्ता लगाए । वास्तवमा नेकपाको शीर्ष नेतृत्वमा रहेका तीन अवसरवादीलाई उनीहरुले समाते ।

तीनै असन्तुष्टि र कमजोर पात्रलाई उनीहरुले समाते । गत असोज महिनासम्म आउँदाखेरि नेकपाभित्रका ती असन्तुष्टिलाई, कुण्ठाहरुलाई उनीहरुले उत्कर्षमा पुर्‍याए । तपाई हामीले देख्यौं, नेकपाभित्रका केही फुटवादी, गुटवादी महत्वाकांक्षी पात्रले पार्टी अध्यक्षको विरुद्ध आरोपहरु खडा गरे । पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्छ । अन्यथा केन्द्रीय समितिबाट हटाउँछौं भने । उनीहरुले प्रधानमन्त्री हुनका निम्ति तथाकथित आरोपहरु खडा गरे । प्रधानमन्त्रीबाट राजीनामा नदिए अविश्वास प्रस्ताव ल्याएर अपदस्थ गर्छौ भने ।

पार्टीभित्रका असन्तुष्ट ती फुटवादीहरुलाई आरोपपत्र फिर्ता लिन भनेर हामीले धेरै प्रयत्न गरेको हो । अन्तिमसम्म हामीले गरेको प्रयत्न असफल भयो । त्यो गुट भेला भएर पार्टी अध्यक्षलाई कारवाही गरेको नाटक मन्चन गरेर पाटी फुटाइछाडे ।

उनीहरुले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव लगे । त्यो औपचारिक रुपमा दर्ता नभए पनि उनीहरुको षड्यन्त्र प्रष्ट भयो । हाम्रो पार्टीभित्रका ती अवसरवादी तत्वहरु प्रतिगामीको षडयन्त्रमा परेर फेरि प्रतिगमनमा संसद पुनःस्थापना गर्ने षडयन्त्रका मतियार भएका छन् ।

आज उनीहरुले भनिरहेका छन्स- सरकारले असंवैधानिक कदम उठायो भनेर स्याल हुइइया गरेका छन् । वास्तवमा यो उनीहरुको छटपटी हो । प्रधानमन्त्रीलाई अपदस्थ गर्ने, प्रतिक्रान्ति गर्ने उनीहरुको षड्यन्त्र असफल भएकोमा छटपटाहट हो ।

हिन्दीमा एउटा भनाइ छ नि, ना रहेगा बाँस, ना बजेगा बाँसुरी। उनीहरुको प्रधानमन्त्री हुने सपनालाई चकनाचुर पार्‍यौं । हामी ती अवसरवादीहरुलाई जनताको बीचमा गएर जनताको अभिमत लिएर प्रधानमन्त्री हुने अवसर दिएका छौं । प्रतिगामी शक्तिहरुले नेकपाको नेतृत्व र प्रधानमन्त्रीलाई अपदस्थ गर्न खोजेका थिए । संसद पुनःस्थापना भयो भने राजतन्त्र पुनःसस्थापना हुन्छ । प्रतिगमनका मतियार संसद पुनःस्थापना हुँदैन । पुनःस्थापनाको कुरा भनेको राजनीतिक अस्थिरता पैदा गर्ने नारा हो । यसको भण्डाफोर गर्न जरुरी छ ।


प्रतिक्रिया

One thought on “बादलले ठम्याएका नेकपा विभाजनका तीन कारकतत्व

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर