निगमका उडानकर्मीले गरे पदमार्ग सफाइ – Nepal Press

निगमका उडानकर्मीले गरे पदमार्ग सफाइ

हवाइजहाजको आकाश यात्रामा सधैँ व्यस्त रहने नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का पाइलट पदमार्ग सफाइमा जुटेका छन् ।

कोभिड–१९ महामारीको सङ्क्रमण तीव्र रहेका बेला उद्धार उडानमा व्यस्त बनेका निगमका पाइलट, क्याबिन क्रू, इञ्जिनीयर, फ्लाइट डिपाचरलगायतका उड्डयनकर्मी फरक भूमिकासहित सफाइमा उत्रिएका हुन् ।

उड्डयनकर्मीले शनिबार थानकोटदेखि भालेश्वर मन्दिर जोड्ने पुरानो चन्द्रागिरि पदमार्ग सफाइ गरेका छन् । निगमको अपरेशन विभाग प्रमुख क्याप्टेन दीपुजुहार्चनसहितका उडानकर्मीले पदमार्ग सफाइ गरेको निगमले जनाएको छ ।

राष्ट्रिय ध्वजाबाहक भएको नाताले निगमले अरु विभिन्न कार्यमार्फत सामाजिक उत्तरदायित्वको कार्यक्रमलाई निरन्तरता दिइने क्याप्टेन जुहार्चनले बताए।

अहिले निगमको अन्तरराष्ट्रिय गन्तब्यमा उडानको चाप पनि कम छ । फुर्सदिलो समयको सदुपयोग गर्दै निगमका उडानकर्मीले सामाजिक उत्तरदायित्व बहन गरेका हुन् ।

उनीहरुले मेडिकल मास्क र पञ्जा लगाएर थानकोटको फेदीबाट चन्द्रागिरि डाँडासम्म करीब पाँच घण्टा सफाइ कार्यमा जुटेका थिए । सफाइका क्रममा झण्डै दुई क्विन्टल हाराहारी फोहर पदमार्गबाट उठाइएको सफाइ अभियानका संयोजकसमेत रहेका क्याप्टेन जुहार्चनले जानकारी दिए।

प्लास्टिक, चकलेटका खोस्टा, फास्टफुड खानेकुराका प्लास्टिक, पानीका बोतल, मदिराका बोतललगायत बेवारिसे अवस्थामा फालिएका फोहर व्यवस्थापन गरिएको थियो । डाँडामा बोकेर पुर्र्‍याइएको फोहर निगमले चन्द्रागिरि हिल्स प्रालीलाई हस्तान्तरण गरेको थियो ।

उक्त फोहरलाई व्यवस्थापन गर्न केबलकारबाट पुनःथानकोटमा रहेको बेसस्टेसनमा झारिएको थियो । चन्द्रागिरि हिल्सले पनि सफाइ अभियानलाई सहयोग गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.