छविविपरीत किन आक्रामक बन्दैछन् रामचन्द्र ? – Nepal Press

छविविपरीत किन आक्रामक बन्दैछन् रामचन्द्र ?

‘म न उदार न अनुदार’

काठमाडौं । प्रमुख प्रतिपक्षी दलभित्रका ‘प्रमुख प्रतिपक्षी’ नेता रामचन्द्र पौडेल । निरन्तर सभापति शेरबहादुर देउवासँगै पौंठेजोरी खेल्दै आएका उनले आफ्नो संयम भने कहिल्यै गुमाएनन् ।

पछिल्ला दिनहरुमा भने रामचन्द्र आक्रामक हाउभाउमा प्रस्तुत हुन थालेका छन् । अभिव्यक्तिमा पनि उत्तेजना देखिन्छ । मुलतः सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनी औधि रिसाएका छन् । ओलीले गरेको संसद विघटनप्रति देउवाले अन्योलपूर्ण नीति लिइरहँदा पौडेलको लाइन भने क्लियर छ । उनी संसद विघटनको स्पष्ट विरोधमा छन् ।

नेपाली कांग्रेसले केन्द्रीय समितिबाटै निर्णय गरेर देशभर संसद विघटनविरुद्ध आन्दोलन गर्यो । सभापति शेरबहादुर देउवा भने अदालतमा विचाराधीन मुद्धामा सडक तताउने पक्षमा थिएनन् । तर पौडेलकै एकोहोरो जोडबलका कारण आन्दोलन भइछाड्यो । वडा तहसम्मै आन्दोलन गरिसकेपछि भने कांग्रेस रणभूल्ल देखिएको छ ।

सभापति देउवा अब आन्दोलन लम्ब्याउने पक्षमा छैनन् तर वरिष्ठ नेता पौडेल आन्दोलनलाई थप सशक्त बनाउनुपर्ने अडानमा छन् । रामचन्द्र अहिले संसद सदस्य छैनन् ।

तर, संसद पुन:स्थापनाको पक्षमा दृढ देखिएका छन् । सतहमा हेर्दा उनले आफ्नो व्यक्तिगत लाभहानी नहेरी संविधान र विधिको वकालत गरिरहेको अर्थमा लिन सकिन्छ । तर, राजनीति यति सरल हुँदैन ।

बदलावको टर्निङ प्वाइन्ट

प्रमुख प्रतिपक्षको रुपमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप कांग्रेसले खेप्दै आएको थियो । जनताका एजेन्डाहरुलाई उठाएर सडक तताउन नसकेको भनेर आलोचना हुँदै आएको थियो । गत मंसिरमा कांग्रेस एकाएक निद्राबाट ब्यूँझिएझैं भयो ।

तनुहँमा प्रहरीले कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ गरेपछि कांग्रेसजन उत्तेजित बने । पुल उद्घाटनको विषयमा भएको विवादका बीच प्रशासनले पौडेललाई तीन घण्टा प्रहरी नियन्त्रणमा लिएको थियो ।

सभापति देउवा अब आन्दोलन लम्ब्याउने पक्षमा छैनन् तर वरिष्ठ नेता पौडेल आन्दोलनलाई थप सशक्त बनाउनुपर्ने अडानमा छन् । रामचन्द्र अहिले संसद सदस्य छैनन् ।

वयोवृद्ध नेतामाथि दुर्व्यवहार गरिएको भन्दै कांग्रेस नेता–कार्यकर्ता आगो भए । आफ्नै गृह जिल्लामा प्रहरीले कठालो समातेपछि नेता पौडेल स्वयम्ले अपमानित महसुस गरेका थिए । संयमित नेताबाट आक्रामक नेतामा परिवर्तनको टर्निङ प्वाइन्ट सम्भवत यही नै थियो ।

मंसिर २३ गते बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्रीप्रति पौडेलको आक्रोश हेर्न लायक थियो । सो बैठकमा सरकारको आलोचना गर्दै पौडेलले १२ बुँदे लिखित धारणा प्रस्तुत गरे ।

‘संसद अधिवेशन चाँडो बोलाउनुहोस् । प्रतिगामीको धज्जी त्यहीँबाट उडाइन्छ । संसदबाट संकल्प प्रस्ताव पारित गरौं ।’ बैठकमा पौडेलले भनेका थिए । संसदबाट परिवर्तनविरोधी आन्दोलनविरुद्ध संकल्प प्रस्ताव पारित गराउन पौडेलको प्रस्तावलाई प्रधानमन्त्रीले वास्ता गरेरन् । बरु त्यसको २ साता नबित्दै ओलीले संसद भंग गरिदिए । यसबाट ओलीविरुद्ध पौडेलको आक्रोश अझ बढ्न पुग्यो ।

वरिष्ठ नेता पौडेलको अहिले एक सूत्रीय माग छ– संसद पुनःस्थापना । जुन संसदमा पौडेल सदस्य छैनन् त्यही संसद पुनःस्थापना गर्ने माग उनी किन गरिरहेका छन् ? संसद पुनःस्थापनाको एजेण्डा सफल गराउन सके पार्टीभित्र र बाहिर आफ्नो स्वीकार्यता बढ्ने पौडेलको बुझाई रहेको हुनसक्ने उनीनिकट नेताहरु बताउँछन् ।

संसद पुनःस्थापनाका लागि कठोर आन्दोलनको अगुवाई गर्नुपर्ने र परिआए आन्दोलनकारी शक्तिबीच मोर्चाबन्दी गर्नुपर्ने पौडेलको धारणा छ । पौडेलको यस्तो धारणामा कांग्रेसको संस्थापन पक्ष सहमत छैन ।

पौडेलले आफूलाई असहयोग गरेर ‘हाइट बढाउन’ खोजेको सभापति देउवाको बुझाइ छ । देउवानिकट केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा पौडेलको उद्देश्य महाधिवेशनमात्रै भएको बताउँछन् ।

संसद पुनःस्थापनाका लागि कठोर आन्दोलनको अगुवाई गर्नुपर्ने र परिआए आन्दोलनकारी शक्तिबीच मोर्चाबन्दी गर्नुपर्ने पौडेलको धारणा छ । पौडेलको यस्तो धारणामा कांग्रेसको संस्थापन पक्ष सहमत छैन ।

‘संसदीय गतिविधिमा रामचन्द्र दाइको भूमिका छैन । त्यसैले उहाँ र केही नेताहरुको अर्जुनदृष्टि महाधिवेशन मात्रै हो । त्यसका लागि सभापतिले जे भन्नुहुन्छ त्यसको विरुद्धमा बोल्ने र आलोचना गरेर जाने नीति हुनसक्छ । फरक मतबाटै देउवाभन्दा अब्बल बन्छु कि भन्ने उहाँलाई लागेको छ ।’, विश्वकर्माले नेपाल प्रेससंग भने ।

पौडेलले पार्टीभित्र र बाहिर विपक्षी नेताको छवि बनाउन मेहनत गरेको भएपनि त्यो व्यवहारिक नभएको विश्वकर्माको टिप्पणी छ ।

वरिष्ठ नेता पौडेलका पछिल्ला अभिव्यक्तिहरु आफ्नै पार्टी सभापति देउवा र प्रधानमन्त्री ओली दुवैको विपक्षमा रहेका छन् । पार्टीभित्र छलफलकै क्रममा रहे पनि पौडेलले प्रदेशमा कांग्रेसले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने दावी गरेका छन् । पार्टीमा निर्णय भइनसकेको विषयमा पौडेलले राखेको धारणालाई देउवा पक्षले ‘व्यक्तिगत धारणा’ को रुपमा मात्रै बुझ्नुपर्ने बताएको छ ।

राजनीतिक विश्लेषक जुगल भूर्तेल पौडेलको पछिल्लो राजनीतिक अभियान स्वभाविक भएको बताउँछन् । लोकतन्त्रप्रतिको निष्ठा र आसन्न महाधिवेशनको दवाव दुवै कारणले पौडेल आन्दोलन र संसद पुनःस्थापनाको पक्षमा उभिएको हुनसक्ने भूर्तेलको बुझाई छ ।

‘कम्युनिष्टमा विभाजन आएको बेला निर्वाचनमा गैहाल्न पाए चुनाव जितिन्छ भन्ने कुरा पार्टी मात्रैको हितका लागि उपयुक्त हो । यद्यपि कांग्रेसले त लोकतन्त्र र संविधानको पनि कुरा गर्नुप¥यो । आन्दोलनबाट भए पनि संसद पुनःस्थापना हुनुपर्छ भनेर उहाँले एजेण्डासहित आफ्नो स्पेस खोज्नुभएको छ’, भूर्तेलले नेपाल प्रेससँग भने ।

सभापति देउवा र पौडेलको धारणा अलग देखिनु कांग्रेसकै हितमा हुने भूर्तेलको बुझाई छ । ‘सभापतिको कुराले पार्टीका कोर क्याडरलाई उत्साह दिएको छ । वरिष्ठ नेताको कुराले क्याडरसंगै आफूलाई कांग्रेस नभई डेमोक्रेट भन्न रुचाउनेलाई पनि उत्साह दिएको छ । यसले पार्टीलाई हानि चै गर्दैन ।’, भूर्तेल भन्छन् ।

पौडेलका अन्य विषयमा प्रश्न उठाउन सकिएपनि लोकतन्त्रप्रतिको निष्ठामा प्रश्न उठाउन गा¥हो हुने भूर्तेलको भनाइ छ ।

‘लोकतन्त्र र संविधानप्रतिको निष्ठालाई राजनीतिक आन्दोलनमार्फत स्थापना गर्ने र त्यसैका जगमा पार्टी नेतृत्वमा आउने प्रयत्न गर्नुभएको हो भने पनि त्यो अस्वभाविक होइन’, भूर्तेलले भने ।

म न उदार, न अनुदार: पौडेल

वरिष्ठ नेता रामचन्द्र पौडेल भने आफू सिद्धान्तको राजनीति गर्ने व्यक्ति भएकाले कसैप्रति अनावश्यक रुपमा उदार वा अनुदार नभएको बताउँछन् । संसद विघटन असंवैधानिक भएकोले संविधान बचाउनका लागि आफूले आन्दोलनको विकल्प नदेखेको उनको भनाइ छ ।

‘राजनीतिमा मध्यमार्ग हुनुपर्छ तर संविधान र लोकतन्त्रविरुद्ध उभिनेका विरुद्ध कठोर नै हुने हो । म संविधानलाई मूलधारमा ल्याउन लागिपरेको छु । संसद पुनःस्थापना भएर मैले केही पाउँदिन तर देशको संविधान जोगिन्छ ।’, पौडेलले नेपाल प्रेससंग भने ।

उनले आफू प्रधानमन्त्री ओली वा सभापति देउवासंग अनुदार नभएको बताउँछन् ।

‘म कसैसंग अनुदार पनि होइन, उदार पनि होइन । मेरो सिद्धान्तको कुरा हो । लोकतन्त्र र संविधान बचाउन मैले आन्दोलनको कुरा गरेको हुँ ।’, पौडेलले भने ।

राजनीतिक विश्लेषक जुगल भूर्तेल पौडेलको पछिल्लो राजनीतिक अभियान स्वभाविक भएको बताउँछन् । लोकतन्त्रप्रतिको निष्ठा र आसन्न महाधिवेशनको दवाव दुवै कारणले पौडेल आन्दोलन र संसद पुनःस्थापनाको पक्षमा उभिएको हुनसक्ने भूर्तेलको बुझाई छ ।

नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा देउवासंग पराजित भएयता धेरै आन्तरिक विषयमा पौडेलले फरक मत राख्दै आएका छन् । कतिपय आन्तरिक विषयमा कठोर देखिएपनि पौडेल सहजै सहमतिमा आउने बुझाई पनि पार्टीमा विद्यमान थियो ।

यतिबेला भने पौडेल सभापति देउवा र प्रधानमन्त्री ओली दुवैप्रति कठोर नीति बोकेर हिँडेका छन् । आन्दोलनप्रतिको अग्रसरता र नेतृत्वप्रतिको आक्रामकताले पौडेललाई कत्तिको राजनीतिक लाभ मिल्ने हो ? अझै केही समय धैर्य गर्नुपर्ने हुन्छ ।

फर्स्ट म्यान बन्न नसकेका नेता

६ दशकदेखि राजनीतिमा सक्रिय नेता पौडेल अहिलेसम्म पार्टी र सरकारमा फास्र्ट म्यान बन्न सकेका छैनन् । यद्यपि, सत्ता र शक्तिमा बसेको अनुभव भने उनीसँग मनग्ये छ ।

२०४८ सालको निर्वाचनपश्चात पौडेल स्थानीय विकास मन्त्री बने । २०५१ को मध्यावधि निर्वाचनपछि प्रतिनिधिसभाको सभामुख चुनिए । २०५७ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री थिए उनी ।

नेपाली कांग्रेसको महामन्त्री र उपसभापति रहिसकेका पौडेल तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको निधनपछि केही समय कार्यवाहक सभापति पनि भए । पहिलो संविधानसभामा कांग्रेस संसदीय दलको नेता रहेका पौडेलको ‘फर्स्ट म्यान’ बन्ने धोको भने अझै पूरा भएको छैन ।

पार्टीका तर्फबाट प्रधानमन्त्री पदको उम्मेदवार रहँदा संसदमा १७ पटकसम्मको मतदानमा बहुमत जुटाउन उनी असफल भएका थिए । त्यो १७ पटकका हारले उनलाई अहिलेसम्म पनि लखेटिरहन्छ ।

२०७२ फागुनमा सम्पन्न कांग्रेस महाधिवेशनमा सभापतिमा पराजित भएका पौडेल आसन्न महाधिवेशनमा पनि सभापतिको आकांक्षीका रुपमा रहेका छन् । २०४८ यताका पाँच आमनिर्वाचन जितेका पौडेल गत निर्वाचनमा नेकपाका किसान श्रेष्ठसँग पराजित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर