‘मिर्मिरे आँखा…’ अब खुल्दैनन् – Nepal Press

‘मिर्मिरे आँखा…’ अब खुल्दैनन्

पोखरा । निधारमा चट्ट मिलेको ढाका टोपी, सर्टमाथि इस्टकोट, सधैंको हँसिलो अनुहार र साथमा एउटा सारंगी । पोखरामा हुने साना तथा ठूला कार्यक्रममा प्रायः पुगिरहने र मिठास धुन निकाल्न अगुवाई गरिरहने एउटा अनुहार थियो त्यो ।

दायाँबायाँ ससाना बालबालिकालाई उनीहरुकै रुचि अनुसार वाद्यवादन सुम्पिएर आफू सारंगी रेट्थे । कसैले केही सोधिहाले मुसुक्क मुस्कुराउँदै जवाफ दिन्थें, ‘गन्धव जाति, पेशामात्रै होइन, यो संस्कृति हो । बचाउनुपर्छ ।’

प्रविधिको विकाससँगै गन्धर्व संस्कृति छायाँमा पर्दै गएपछि त्यसलाई जोगाउन पोखरा १६ बाटुलेचौरमा पाठशाला नै खोलेर उनले वाद्यवादन, संगीत सिकाउन थाले । त्यसरी गन्धर्व संस्कृतिलाई चिनाउन लागिपर्ने गन्धर्व संस्कृतिका धरोहरमध्येका एक धनबहादुर गन्धर्व सोमबार छकालै अस्ताएका छन् ।

उच्च रक्तचापका कारण ५९ वर्षीय गन्धर्व शनिबार अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा सोमबार बिहान ८ बजे उनको निधन भएको हो । २०२१ सालमा जन्मिएका गन्धर्वको नाम पोखरा महानगरले गठन गर्न लागेको ‘प्रज्ञा प्रतिष्ठान’का लागि पनि सिफारिस गरिएको थियो ।

गन्धर्व संस्कृतिलाई चिनाउन लागिपर्ने गन्धर्व संस्कृतिका धरोहरमध्येका एक धनबहादुर गन्धर्व सोमबार छकालै अस्ताएका छन् ।

गन्धर्व चर्चित गीत ‘यो दाजुको मिरमिरे आँखा, बेली चमेली, फूल मायामा नभुल..’ लगायत सयभन्दा चर्चित गीतका सर्जक हुन् । प्रविधिको विकाससँगै गन्धर्व संस्कृति लोप हुँदै गएपछि उनले नयाँ पुस्तालाई सारंगी लगायत वाद्यवादन सिकाउन पाठशाला नै सञ्चालन गरेका छन् ।

चर्चित गायक तथा संगीतकार मामा झलकमान गन्धर्वको नाममा २०६६ सालमा ‘झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारंगी संरक्षण पाठशाला’ स्थापना गरेका थिए । पाठशालाबाट अहिलेसम्म करिब ८ सय जनाले संगीत शिक्षा लिइसकेको छोरा दिलिप गन्धर्व सुनाउँछन् ।

‘हाम्रो मौलिक संस्कृतिलाई बचाउनुपर्छ भन्ने उहाँमा थियो । त्यही भएरै पाठशाला खोल्नु भएको हो,’ नेपाल प्रेससँग कुरा गर्दै गन्धर्वले भने, ‘अहिले पनि २२ जना बालबालिकाले संगीत शिक्षा लिइरहेका छन् ।’ पाठशालामा नेपाली मात्रै नभई अहिलेसम्म ९ जना विदेशीले संगीत शिक्षा लिइसकेको उनले जानकारी दिए ।

चर्चित गायक तथा संगीतकार मामा झलकमान गन्धर्वको नाममा २०६६ सालमा ‘झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारंगी संरक्षण पाठशाला’ स्थापना गरेका थिए ।

पाठशालामा सारंगी, मादल लगायतका मौलिका वाद्यवादन बजाउन सिकाउने गर्दछ । दिलिप स्वयं पनि त्यही पाठशालामा वाद्यवादन सिकाउने गर्दछन् । ‘नेपाली मौलिक संगीत अझ त्यसमा पनि सारंगीको चिनारी विकास गर्न उहाँ सधैं तत्पर हुनुहुन्थ्यो,’ उनले भने ।

गन्धर्वको निधनले नेपाली संगीत क्षेत्रमा अतुलनीय क्षति पुगेको उनलाई नजिकबाट नियालेका कलाकार बताउँछन् ।

‘नेपाली लोकसंगीतको क्षेत्रमा उहाँ एउटा चिनारी नै हो । उहाँको प्रस्थान भनेको हाम्रो लागि ठूलो दुर्घटना नै हो,’ गायिका हरिदेवी कोइरालाले नेपाल प्रेससँग भनिन्, ‘पुर्खाको पहिचानलाई जोगाउन उहाँ सधैं लागिपर्नु भो । सारंगीको क्षेत्रमा उहाँले गरेको प्रयास त नेपाली संगीत इतिहासमा स्वर्ण अक्षरले नै लेखिन्छ ।’

गन्धर्वले संकलन र सिर्जना गरेका गीत, संगीत नेपाली संगीताकाशमा अजरअमर रहने कोइराला बताउँछिन् । ‘सारंगीलाई विश्वसामु चिनाउन उहाँले जुन प्रयत्न गर्नुभो त्यो अतुलनीय नै छ । केही काम अपूरा, अधुरा रहे होलान् अब त्यो पूरा गर्ने जिम्मेवारी हामीलाई दिनु भएको छ,’ उनले भनिन्, ‘उहाँको निधनको खबर हामी संगीतकर्मी अत्यन्तै दुखी छौं ।’

गन्धर्वको निधनले नेपाली मौलिक संगीत क्षेत्रले एउटा पोख्त कलाकार गुमाएको कलाकार संघ, गण्डकीका अध्यक्ष सुनिल थापा सुनाउँछन् । ‘हामीले चिनेदेखि नै उहाँले सारंगीलाई आफ्नो जीवन सुम्पिनु भएको हो । त्यसैमा अनवरत लाग्नु भयो । जीवनको अन्तिम क्षणसम्म पनि उहाँले सारंगी लगायत मौलिक वाद्यवादनलाई कसरी बिकास गर्नेमै सोचमग्न हुनुहुन्थ्यो,’ उनले भने ।

मौलिक संगीतको एउटा ‘लेजेन्ड’ लाई पोखराले असमयमै गुमाउनु परेको गायक विनोद बानियाँ बताउँछन् । भन्छन्, ‘पोखरामै बसेर पनि देशको नाम चिनाएको हो उहाँले । तर, नेपाली संगीत क्षेत्रले जति चिन्नुपर्ने हो त्यति नचिन्दा उहाँमाथि राजनीति भएको हो कि भन्ने पनि लाग्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर