४० कटेपछि रमाउनेहरु: शेरबहादुरदेखि शेरधनसम्म – Nepal Press
विवाह ढिलो, प्रेम रसिलाे

४० कटेपछि रमाउनेहरु: शेरबहादुरदेखि शेरधनसम्म

‘ढिला विवाहले महिलालाई बढी प्रभाव पर्छ’

काठमाडौं । विवाहको लागि उपयुक्त उमेर कुन हो ? यसमा कुनै सर्वमान्य सिद्धान्त छैन । व्यक्तिले आफ्नो अनुकुलताका आधारमा निर्णय लिनु नै उचित ठानिन्छ ।

हालै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह वन्धनमा बाँधिएका छन् । मुख्यमन्त्रीको विवाह आफैंमा हेडलाइन बन्ने विषय थियो नै ।

त्योभन्दा चाखलाग्दो कुरा थियो, दुलाहा र दुलहीको उमेर । दुलाहा ५० वर्ष छुन लागेका । दुलही भर्खर २३ वर्षकी । उमेर अन्तर २५ वर्षभन्दा बढि । सामाजिक सञ्जालमा उनीहरुलाई बधाईसँगै विभिन्न बहसहरु पनि भइरहेका छन् ।

कतिले मन मिलेपछि उमेर कुनै इस्यू हुँदैन भनेर स्वभाविकरुपमा लिनुपर्ने मत राखेका छन् । कतिले चाहिँ मुख्य मन्त्रीले छोरी उमेरकी केटी रोजेको भनेर कटाक्ष गरेको पनि देखिएको छ ।

उमेर छिप्पिएपछि विवाह गर्ने राई नेपालका पहिलो व्यक्ति भने अवश्य होइनन् । राजनीतिदेखि कलाकारितासम्ममा अरु नामहरु पनि छन्, जसले ४० काटेपछि मात्रै घरबार सुरु गरे ।

हेमन्त रानाको गीतले भनेझैं ४० कटेपछि रमाउनेहरुको सूचीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि नेपाली चलचित्रका महानायक राजेश हमालसम्म छन् । उनीहरुको जीवन सुखमयरुपमै चलिरहेको छ ।

आउनुस्, ढिला विवाह गर्ने केही पब्लिक फिगरहरुबारे छोटो चर्चा गरौं-

शेरबहादुर देउवा

नेपालमा ०४६ सालमा प्रजातन्त्र स्थापना भएयता लगातार सुनिँदै आएको नाम हो शेरबहादुर देउवा । ४८ सालको संसदीय निर्वाचन जितेपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा उनी गृहमन्त्री थिए । बहालबाला गृहमन्त्री छँदा नै उनले गृहस्थि बसाएका हुन्, जतिबेला उनको उमेर ४५ वर्ष थियो ।

राणा खानदानकी आरजु देउवासँग शेरबहादुरले लगनगाँठो कसेका हुन् । उनीहरुबीच पनि उमेरको राम्रै अन्तर (करिब १५ वर्ष) छ । देउवाको विवाह हुँदाका बखत नेपालमा अहिलेजस्तो बग्रेल्ती मिडिया थिएनन् । सामाजिक सञ्जालको त कल्पना नै थिएन । तसर्थ हाइप्रोफाइलको विवाह धेरै ठूलो विषय बनेन ।

शेरबहादुर र आरजुको वैवाहिक जीवन सुखद छ । विवाहपछि देउवा चार पटक मुलुकको प्रधानमन्त्री बने । सम्पत्ति पनि प्रशस्तै जोडे । श्रीमान प्रधानमन्त्री छँदा आरजुले मज्जैले पावर एक्सरसाइज गरिन् । पछि उनी आफैं कांग्रेस राजनीतिमा आइन् ।

श्रीमानकै बलमा सभासद समेत बनिन् । बूढानीलकण्ठमा देउवाको भव्य निवास छ । राजा–महाराजाको जस्तो विलासी जीवनशैली छ, उनीहरुको । देउवा दम्पतीबाट एक मात्र सन्तानका रुपमा छोरा छन् ।

बलबहादुर केसी

कांग्रेसका पुराना नेता बलबहादुर केसीले पनि ढिला विहे गरेका हुन् । उनले २०६१ साल माघ १७ गते लगनगाँठो कसेका थिए । बलबहादुरले विवाह गरेको पर्सिपपल्ट नेपालमा शाही ‘कु’ भएको थियो ।

विवाह गर्दा बलबहादुर ५२ वर्षका थिए भने उनकी पत्नी रिना केसी ३३ वर्षकी । उनीहरुको प्रेमविवाह हो । रिना पनि पहिल्यैदेखि नेपाली कांग्रेसको राजनीतिमा छिन् । २०५३ सालमा उनी पद्मकन्या क्याम्पसमा स्ववियू सभापति थिइन् । अहिले महिला संघमा छिन् ।

बलबहादुर दम्पती हाल लाजिम्पाट क्षेत्रमा रहेको आफ्नै निवासमा बस्छन् । उनीहरुबाट कुनै सन्तान भएका छैनन् । पहिले पटक–पटक मन्त्री भएका बलबहादुर विवाहपछि भने मन्त्रीको कुर्सीमा पुग्न सकेनन् ।

उनले ७४ सालमा भएको चुनावमा उनी गृहजिल्ला सोलुखुम्बुबाट पराजित भएका थिए । त्यसअघि सोही क्षेत्रबाट उनी ७० सालमा विजयी भएका थिए । हाल उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन् ।

बलबहादुर विगतमा विभिन्न विवादमा पनि मुछिएका थिए । अहिले भने उनको खासै चर्चा छैन । नयाँ पुस्ताका धेरैले उनलाई चिन्दैनन् पनि ।

मिथिला शर्मा

अभिनयको बलमा दर्शकको मन जित्दै आएकी पुरानी अभिनेत्री मिथिला शर्माले आधा शताब्दी लामो अविवाहित जीवन बिताइन् । ५० वर्षको उमेरमा उनले २०७१ सालमा विवाह गरिन्, बयोवृद्ध पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहोरासँग ।

विवाह गर्दा मोतिलाल ७४ वर्षका थिए । उनीहरुबीच २४ वर्षको अन्तराल थियो । मिथिलाको त्यो पहिलो विवाह भए पनि मोतिलालको दोस्रो थियो । पहिलो पत्नीको मृत्यु भएपछि मोतिलालले लामो समयदेखि चिनजानमा रहेकी मिथिलालाई जीवनसाथी बनाएका थिए ।

उनीहरुले कोर्ट म्यारिज गरेका हुन् । अदालती बिहेपछि मोतिलाल र मिथिलाले परिवार, आफन्त र निकटस्थहरुलाई एउटा रेस्टुरेन्टमा पार्टी दिएका थिए ।

शर्माले लामो समयसम्म नृत्यांगना र निर्देशक भएर नेपाल पुलिस क्लबमा काम गरेकी थिइन् । पछिल्लो समय उनी एउटा डान्सिङ रियालिटी शोमा निर्णायकको रुपमा देखिएकी थिइन् । मोतिलाल भने रिटायर्ड लाइफमा छन् ।

मोहनचन्द्र अधिकारी

नेपालका नेल्सन मण्डेलाको उपमा पाएका पुराना कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारीले ५३ वर्षको उमेरमा विवाह गरेका थिए । उनले २०४७ साल माघमा आफूभन्दा २५ वर्ष कान्छी बालकुमारी खनालसँग जनवादी विवाह गरेका हुन् ।

विसं १९९४ मा जन्मेका मोहनचन्द्र ०२८ सालमा भएको झापा विद्रोहका प्रमुख योद्धा थिए । झापा विद्रोहकै बखत पञ्चायत सुरक्षाकर्मीले पक्राउ गरेपछि ०३० सालमा जेल परेका उनले १७ वर्ष जेलजीवन बिताए ।

जेलजीवन बिताउने क्रममा उनको भेट शिक्षक आन्दोलनबाट पक्राउ परेर एक महिना भैरहवा जेल बसेकी बालकुमारीसँग भेट भएको भयो । त्यसपछि आफन्तहरूको प्रस्तावमा उनीहरूको विवाह भएको थियो ।

रामेश

जनवादी गायक रामेश पनि ४० वर्ष कटेपछि विवाह गर्नेमा पर्छन् । उनले ०४७ सालमा विवाह गरेका हुन् । विवाह गर्दा रामेशको उमेर ४५ वर्षको आसपास थियो ।

रामेशले पाल्पाकी लक्ष्मी श्रेष्ठसँग लगठगाँठो कसेका थिए । करिब ५८ अघिदेखि जनवादी गीतमार्फत उनी प्रजातन्त्रको पक्षमा जागरण ल्याउन उनी लागिपरेका थिए । रामेश अहिले खासै चर्चामा छैनन्, तर उनले गाएका ‘गाउँ गाउँबाट उठ…’ देखि ‘गरिबको चमेली…’ लगायतका गीतहरु अहिले पनि चर्चित छन् ।

राजेश हमाल

अभिनेता राजेश हमालले चलचित्र क्षेत्रमा प्रवेश भएयता सबैभन्दा बढी सामना गरेको प्रश्न हो, ‘विवाह कहिले गर्ने ?’ उत्तर दिँदा दिँदा उनी थाकिसकेका थिए । अन्ततः उनले यो प्रश्नलाई सदाको लागि टुंग्याइदिए, ०७१ साल माघमा ।

उमेरले अद्र्धशतक प्रहार गरिसकेपछि राजेश आफूभन्दा आधा उमेरकी मधु भट्टराईसँग विवाह वन्धनमा बाँधिएका हुन् । राजेश र मधु प्रेम सम्वन्धमा थिए । मधु राजेशभन्दा २२ वर्षले कान्छी छन् । राजेश गत जेठबाट ५६ वर्षमा लागे । विवाह गरेको ६ वर्ष पुगिसक्दा पनि उनीहरूले सन्तान जन्माएका छैनन् ।

बिहेपछि राजेश र मधुको जीवन उल्लासमय रुपमा बितिरहेको छ । राजेश पछिल्लो समय चलचित्रमा खासै सक्रिय छैनन् । मधु पनि घरव्यवहारमै व्यस्त छिन् । अहिले राजेश हमाललाई सबैभन्दा सोधिने प्रश्न हो, सन्तान कहिले जन्माउने ?

प्रदिप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडलले ४१ वर्षका उमेरमा विहे गरेका थिए । २०७३ साल वैशाख १५ गते उनले सर्लाहीकी एन्जिला न्यौपानेसँग लगनगाँठो कसेका थिए । न्यौपाने त्यतिबेला नेविसंघको केन्द्रीय सदस्य थिइन् । उनीहरूको प्रेम विवाह भएको हो ।

एन्जिला र प्रदीपको उमेरमा ११ वर्षको अन्तराल छ । उनीहरूका छोरा र छोरी गरी दुई सन्तान छन् । छोरी मन्टेश्वरी जान थालेकी छन् ।

आफ्नो विवाहका विषयमा प्रदीप भन्छन्, ‘हाम्रो समाजमा विवाह गर्न ढिला भयो भने विभिन्न टिका–टिप्पणी हुन्छन् । मलाई पनि विवाहका लागि आफन्त र परिवारबाट दबाब आइरहन्थ्यो । विवाहपछि पनि टिप्पणीहरू आइरहे । अहिले हाम्रो दाम्प्त्य जीवन सुखद् छ । दुवै जना खुसी छौं ।’

ऋषि धमला

ऋषि धमला अत्यधिक बेफुर्सदी पत्रकार मानिन्छन् । फुर्सद कम भएकैले होला उनले विवाह गर्न पनि ढिला गरे ।

०३२ सालमा धादिङमा जन्मिएका धमलाको विवाह २०७१ सालमा भएको थियो । उनकी पत्नी एलिजा गौतम २०५० सालमा जन्मिएकी हुन् । ऋषि र एलिजाबीच १८ वर्षको अन्तर छ ।

उमेरको अन्तरालले धमलाको वैवाहिक जीवन रंगीन बनाउन रोकेको छैन । श्रीमतीलाई निकै माया गर्ने ऋषिले उनको नायिका बन्ने इच्छा पूरा गरिदिन चलचित्र निर्माणसमेत गरेका थिए ।

उनले निर्माण गरेको चलचित्र अनुराग फ्लप भए पनि कलाकारितामा एलिजाको ढोका खुल्यो । अहिले उनी म्युजिक भिडियोहरुमा सक्रिय छिन् । ऋषि र एलिजाका एक छोरी र एक छोरा छन् ।

शेरधन राई

उमेरले आधा शताब्दी टेक्न लागेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हिजो मात्रै विवाह बन्धनमा बाँधिएका छन् । ४९ वर्षीया राईले २६ वर्ष कान्छी जाङ्मु शेर्पालाई दुलही बनाएका हुन् । २३ वर्षिया जाङ्मु सन् २०१८ कि मिस मंगोल हुन् ।

शेरधन र जाङ्मु केही समयदेखि प्रेममा थिए । छोरी उमेरकी केटीसँग बिहे गर्न लागेको भनेर शेरधनको ट्रोलसमेत भयो । कतिपयले चाहिँ मन मिलेपछि उमेरको अन्तरालले फरक नपर्ने भनेर उनको बचाउ गरेका छन् ।

‘ढिला विवाहले महिलालाई बढी प्रभाव पर्छ’

सुरेश ढकाल, मानवशास्त्री

विवाह एउटा सामाजिक संस्था वा सामाजिक अनुबन्धन हो । जीव वैज्ञानिक दृष्टिकोणबाट हेर्दा विवाह जैविक आवश्यकता निदान गर्ने माध्यम पनि हो ।

उमेर ढल्किएपछि गरिने विवाहलाई ढिलो विवाहको रुपमा हेर्ने चलन छ । ढिलो विवाह गर्नुको कारण एउटै मात्र हुन्न । ढिलो विवाहका कारण नितान्त व्यक्तिगत पनि हुनसक्छन् । अन्य सामाजिक, राजनीतिक कारण पनि हुनसक्छन् ।

नेपालमा मोहनचन्द्र अधिकारी, रामेश, राजेश हमाल जस्ता चिनिएका व्यक्तिले ४० कटेपछि विवाह गरेका छन् । भर्खरै मात्र मुख्यमन्त्री शेरधन राईले पनि ४० कटेपछाडि नै विवाह गरे । विवाहलाई सांस्कृतिक, सामाजिक, पारिवारिकलगायतका लगायतका कुराले फरक पार्छन् ।

विवाहमा कति उमेर फरकमा र कुन प्रक्रियाबाट विवाह गर्यो भन्ने कुराले प्रभाव पार्छ । अर्कोचाहिँ पारिवारिक कुराले गर्छ ।

ढिला विवाह गरेर पारिवारिक असर पर्न सक्लान् । सन्तान जन्माउने कुरामा ढिलाइ हुन्छ । यसले खासगरी महिलालाई प्रभाव पर्छ । ढिलो विवाहले परिवारमा एडजस्ट गर्न समय लाग्ने जस्ता समस्याहरू पनि देखिन्छन् । हुन त यी सबै कुराहरू केस, व्यक्ति, पारिवारिक, सामाजिक र राजनीतिक स्थितिअनुसार फरक पर्छन् ।

विवाह यही उमेरमा गरिनुपर्छ भन्ने कुनै विधान छैन । ५० वर्षअघिको समयलाई अहिलेको समयसँग तुलना गर्ने हो भने विवाहका सन्दर्भमा धेरै परिवर्तन देख्न सकिन्छ । विवाहसँग जोडिएको सामाजिक मान्यताहरूमा भिन्नता देख्न सकिन्छ । यदि अरु देशसँग हाम्रो देशलाई दाँज्यो भने फरक धेरै छन् । समयअनुसार यस्ता कुरामा फरक पर्न सक्छन् ।

विवाहमा कति उमेर फरकमा र कुन प्रक्रियाबाट विवाह गर्यो भन्ने कुराले प्रभाव पार्छ । अर्कोचाहिँ पारिवारिक कुराले गर्छ ।

युरोपियन देशहरूमा विवाहभन्दा पनि लिभिङ टुगेदरमा बढी बस्ने ट्रेन्ड छ । त्यहाँका नागरिकहरूले विवाह बढी उमेरमा गर्छन् । १५ वर्षदेखि लिभिङ टुगेदरमा बसेर विवाह गर्छन् । उनीहरू दुवै इन्डिपेन्डेन्ट हुन्छन् । रहर लागेर बच्चा जन्माइहाले भने पनि बच्चालाई सरकारले दिने सुविधा, सुरक्षा सबै पाउँछन् ।

हाम्रोमा भने बच्चा आमाले हुर्काएर बाउ खोजी गर्ने चलन छ । तर, त्यतातिर बच्चा कसको भन्दा पनि बच्चाले सम्पूर्ण अधिकार पाउनुपर्छ भन्ने कुरामा जोड हुन्छ । राज्यले ग्यारेन्टी गरेका सामाजिक सुरक्षाका कुराहरूले पनि विवाहलाई धेरै फरक पार्छ । राज्यको नीति, सामाजिक सुरक्षा नीतिहरूले फरक पार्ने केस हुन्छन् ।

धेरै उमेर ग्याप भएका दुलहा र दुलहीबीच पनि कस्ता असर पर्छन् भन्ने कुरा चासोका विषय हुन् । यसको मनोवैज्ञानिक पाटो पनि छ । एउटा २० वर्षको व्यक्ति र ५० वर्षको व्यक्तिले सोच्ने तौर–तरिका र सोच्ने आवेग नै फरक हुन्छ । फरक ढंगबाट सोच्ने र फरक उमेर ग्याप भएका मान्छेहरू एकै ठाउँमा बस्दा समस्या आउन सक्छ नै ।

नेपालमा उमेर ढल्केको मान्छेलाई भर्खरको युवती विवाह गर्न रुचि हुन्छ । तर, युरोपियन देशमा त्यस्तो हुँदैन । उमेर धेरै ग्याप हुँदा पर्ने असर पनि सामाजिक दृष्टिकोण, पारिवारिक स्थिति र राज्यको नीति तथा सेवा–सुविधाले तय गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर