अमेरिकालाई कमजोर देखाउने चार कारण: कसरी धान्लान् बाइडेनले ? – Nepal Press
टिप्पणी

अमेरिकालाई कमजोर देखाउने चार कारण: कसरी धान्लान् बाइडेनले ?

विश्व प्रसिद्ध लेखक फ्रान्सिस फुकुयामाले यही जनवरी १८ मा फरेन अफेयर्स म्यागाजिनमा आर्टिकल लेखे । १४ मिनेट २० सेकेन्डको अडियो टाइम भएको आर्टिकलको हेडलाइन छ, ‘रोटन टु दि कोर ?’ अर्थात् ‘जरामै सडिएको हो ?’

अमेरिकाको खस्कँदो विश्व विरासतको बारेमा सन् २०१४ मै फुकुयामाले फरेन अफेयर्समा ‘अमेरिका इन डिके’ अर्थात् ‘क्षयीकरणमा अमेरिका’ शीर्षकको आर्टिकल लेखेका थिए । उनले पछिल्लो आर्टिकलमा ट्रम्प प्रशासनले अमेरिकाको खस्कँदो विश्व विरासतको गति झनै बढेको तर्क गरेका छन् ।

अमेरिकाका ४६औं राष्ट्रपति जो बाइडेनको शपथ ग्रहणको दुई दिन अगाडि प्रकाशित भएको फुकुयामाको आलेखले अमेरिका कमजोर भएको उदाहरण दिन्छ । दोस्रो विश्वयुद्धपछि शुरू भएको शीतयुद्धताका विश्वका दुई धु्रवमा एक ध्रुवको शक्ति अमेरिका शीतयुद्ध सकिएपछि विश्वमा एकछत्र हावी भयो ।

तर, त्यही अमेरिका यही जनवरी २० मा ७८ वर्ष २ महिना १ दिन उमेरका सबैभन्दा पाका राष्ट्रपति बाइडेन सत्तामा आउँदा निकै थिलथिलिएको छ, विश्व मञ्चमा धेरै कमजोर भएको छ । यी हुन् अमेरिका विश्वमा कमजोर भएको प्रष्ट देखाउने चार कारणः

१. विभाजित देश

जनवरी २० मा जो बाइडेनको शपथग्रहण तथा पद हस्तान्तरण समारोहमा डोनाल्ड ट्रम्प उपस्थित भएनन् । यो एक औसत घटना मात्रै थिएन । अमेरिकी इतिहासमा १५२ वर्ष अगाडि मात्रै यसरी पदभार हस्तान्तरण समारोहलाई बहालवाला राष्ट्रपतिले ‘बंक’ गरेका थिए ।

बीबीसीका अनुसार यस्तो घटना सन् १८६९ मा भएको थियो । त्यो बेला डेमोक्रेटिक पार्टीबाट निर्वाचित १७औं अमेरिकी राष्ट्रपति एन्ड्रु जोन्सनले रिपब्लिकन पार्टीबाट निर्वाचित १८औं राष्ट्रपति उल्येस एस ग्रान्टको शपथग्रहण तथा पद हस्तान्तरण समारोह ‘बंक’ गरेका थिए ।

सन् १९४५ मा दोस्रो विश्वयुद्धको विजेता भएसँगै अमेरिका विश्व शक्ति समीकरणमा सबैभन्दा हावी भयो । सन् १९४७ देखि १९९१ सम्म सोभियत संघसँगको शीतयुद्धमा पनि अमेरिका नै हावी थियो ।

ट्रम्पको बंकलाई सामान्य घटना मात्रै मानेर हुँदैन । यसले विभाजित अमेरिकाको चित्र देखाउँछ । बेलायती समाचार संस्था रोयटर्सका अनुसार आधा रिपब्लिकन मतदाताहरूले बाइडेनले धाँधली गरेर चुनाव जितेको विश्वास गर्छन् । यस्तो विश्वासको संकट अमेरिकामा पहिलो पटक भएको अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकहरूले तर्क गर्दै आएका छन ।

त्यही अविश्वासकै कारण जनवरी ६ मा क्यापिटल हिलमा पाँच जनाको ज्यान जानेगरिको दंगा भएको हो । दंगाले आफूलाई लोकतन्त्रको विश्व मसिहा भन्ने अमेरिकालाई नैतिक संकट भएको छ । विभाजित देशले गर्दा अमेरिका इतिहासमा अत्यन्तै कमजोर अवस्थामा छ । बाइडेनले विभाजनलाई एकतामा रूपान्तरण गर्न ठूलो कसरत गर्नुपर्ने देखिन्छ ।

२. कमजोर अर्थतन्त्र

सन् १९४५ मा दोस्रो विश्वयुद्धको विजेता भएसँगै अमेरिका विश्व शक्ति समीकरणमा सबैभन्दा हावी भयो । सन् १९४७ देखि १९९१ सम्म सोभियत संघसँगको शीतयुद्धमा पनि अमेरिका नै हावी थियो ।

यसको कारण अमेरिकी अर्थतन्त्र पनि थियो । फोब्र्स पत्रिकाका अनुसार शीतयुद्धकालमा सन् १९६० ताका विश्वको कुल जीडीपीको ४० प्रतिशत हिस्सा अमेरिकाको मात्रै थियो । तर, शीतयुद्ध सकिएर झनै शक्तिशाली भएको अमेरिका पछिल्लो दशकमा आर्थिक रूपमा ओरालो लाग्दैछ । जस्तो अहिले अमेरिकाको जीडीपी विश्व जीडीपीको १५ प्रतिशत हाराहारी मात्रै भएको स्टाटिस्टा डटकमले उल्लेख गरेको छ ।

एकातिर अमेरिकी अर्थतन्त्र कमजोर हुँदैछ भने अर्कोतर्फ उसको प्रतिस्पर्धी चीनको उदय जारी छ । पर्चेजिङ पावर प्यारिटी (पीपीपी)को आधारमा चीनको जीडीपीले अमेरिकालाई सन् २०१४ बाटै उछिनेको छ । कतिपयले अबको दशक बाँकी अर्थतन्त्रका सूचकहरूमा पनि चीनले अमेरिकालाई उछिनेर पहिलो अर्थतन्त्र बन्ने अड्कल काट्दै आएका छन् ।

एकातिर आफ्नो आर्थिक विरासत कमजोर हुँदै जानु र अर्कोतिर चीनले कडा प्रतिस्पर्धीको रूपमा प्रस्तुत गर्नुले अमेरिकालाई विश्व विरासत कायमै राख्न तनाव भएको छ । त्यही भएर अहिले अमेरिकाको दबदबा पछिको विश्वको चर्चा शुरु भएको छ । अमेरिकी पत्रकार फरिद जाकरियाले एक पुस्तकै लेखेका छन् । जसको शीर्षक छः ‘दि पास्ट अमेरिकन वर्ल्ड’ अर्थात् ‘अमेरिकापछिको विश्व’ ।

३. वैकल्पिक र बहुध्रुवीय विश्व व्यवस्थाको अभ्यास

दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्थाको लिडर अमेरिका हो । संयुक्त राष्ट्रसंघको स्थापनादेखि विश्वस्तरीय संस्था तथा तिनले पार्ने प्रभावको नेतृत्व अमेरिकाले गरेकोले दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्थालाई धेरैले अमेरिकन वल्र्ड अर्डर अर्थात् अमेरिकी विश्व व्यवस्था भन्दै आएका छन् ।

तर, पछिल्ला दशकमा त्यो अर्डरमा धक्का लागेको छ । त्यसको नेतृत्व चीन तथा रसियालगायतका देशहरूले गर्दै आएका छन् ।

उदाहरणका लागि अमेरिकी छत्रछायाँको एशियाली विकास बैंकको विकल्पमा चीनको अगुवाईमा खोलिएको छ एशियाली पूर्वाधार लगानी बैंक । सन् २०१६ को जनवरीबाट संचालनमा आएको बैंकमा १०३ देशहरू सहभागी छन् । बेइजिङमा मुख्यालय भएको बैंकको संस्थापक सदस्य नेपाल पनि हो ।

एकातिर अमेरिकी अर्थतन्त्र कमजोर हुँदैछ भने अर्कोतर्फ उसको प्रतिस्पर्धी चीनको उदय जारी छ । पर्चेजिङ पावर प्यारिटी (पीपीपी)को आधारमा चीनको जीडीपीले अमेरिकालाई सन् २०१४ बाटै उछिनेको छ ।

यस्तै, विश्व बैंकको विकल्पमा पनि चीन, रसिया, इण्डिया, ब्राजिल तथा दक्षिण अफ्रिकाले नयाँ विकास बैंक संचालनमा ल्याएका छन् । शुरुमा बिक्स बैंक भनिने नयाँ विकास बैंकको मुख्यालय पनि चीनको सांघाईमा रहेको छ । यो बैंक सन् २०१६ को फेब्रुअरीबाट संचालनमा आएको हो ।

आर्थिक क्षेत्रमा अमेरिकन अर्डरलाई तनाव भएको अर्को घटनाक्रम हो चीनको नेतृत्वमा सन् २०२० को नोभेम्बर १५ मा हस्ताक्षर भएको विश्वको सबैभन्दा ठूलो आर्थिक सम्झौता । क्षेत्रीय विस्तृत आर्थिक साझेदारी (आरसीईपी)मा अमेरिकाका कट्टर साझेदार दक्षिण कोरिया, जापान, अष्ट्रेलिया समेटिएका पूर्वी एशियाका १० देश छन् ।

आर्थिक मात्रै हैन अन्य मोर्चाहरूमा समेत अमेरिकी दबदबा कमजोर बन्दै आएको छ । यसलाई धेरैले शीतयुद्ध सकिएपछिको एकल अमेरिकी ध्रुव सकिएर शुरु भएको बहुध्रुवीय विश्व व्यवस्थाको रूपमा चित्रित गर्न थालेका छन् । एकल धु्रवमै फर्काउने वा बहुध्रुवमै चित्त बुझाउनेमा कुन अप्सन बाइडेनले रोज्लान् त्यो भने उनको पूरा प्रशाशन काल हेर्नै पर्ने हुन्छ ।

४. साझेदार देशसँगको विश्वासको संकट

अमेरिकी विश्व दबदबाको कारण मूलतः सैन्य र आर्थिक हैसियत हो । तेस्रो कारण भने अमेरिकाको रणनीतिक गठबन्धन दक्षता हो । आफ्नो स्वार्थको मुद्दामा गठबन्धन र फरक मत आएपछि निषेध गर्न अमेरिका माहिर छ ।

जस्तै, दोस्रो विश्वयुद्धताका सोभियत संघसँग साझेदारी गरेको अमेरिका युद्ध सकिएको दुई वर्षपछि उसैसँग शीतयुद्धमा पुग्यो । यस्तै, शीतयुद्धताका अमेरिकाले चीनलाई च्याप्यो । अमेरिकाले चीनलाई अँगालो हालेपछि मात्रै गणतन्त्र चीनको नाममा संयुक्त राष्ट्रसंघमा स्थायी सदस्य रहेको ताइवानलाई हटाएर सन् १९७१ बाट जनवादी गणतन्त्र चीन उक्त स्थानमा विराजमान भयो । तर, अहिले त्यही अमेरिका चीनसँग दोस्रो शीतयुद्ध गरिरहेको छ ।

साझेदार बनाउने र फाल्ने अमेरिकी कदमलाई पछिल्लो समयमा थप धक्का पुगेको छ । अमेरिकी चाहना विपरीत मिसाइल प्रतिरक्षा प्रणाली रूसबाट खरीद गरेर टर्कीले आफ्नै पोजिसन खडा गरेको छ । एस ४०० मिसाइल प्रतिरक्षा प्रणाली अमेरिकी दबाब हुँदाहुँदै खरीद गर्ने अर्को देश भारत पनि हो ।

अमेरिकाले नचाहँदा पनि रसियाबाट नर्ड स्ट्रिम–२ ग्याँस पाइपलाइन खरिद प्रक्रिया अगाडि बढाउने जर्मनीको कदम पनि अमेरिकी साझेदारहरूको स्वतन्त्र निर्णय हो । आफ्ना कट्टर समर्थक देशहरूले पनि आफ्ना कट्टर विपक्षी खेमाका देशहरूसँग साझेदारी बढाएपछि अमेरिकाको टाउकोदुखाइ भएको छ । यसलाई बाइडेनले कसरी व्यवस्थापन गर्लान् त्यो पर्खाइको विषय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर