बाइडेनलाई कम्युनिष्ट राष्ट्र भेनेजुएलाको बधाइ, राष्ट्रपति मदुरले बढाए मित्रताको हात – Nepal Press

बाइडेनलाई कम्युनिष्ट राष्ट्र भेनेजुएलाको बधाइ, राष्ट्रपति मदुरले बढाए मित्रताको हात

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र ह्वाइट हाउससँग वर्षौंको तनावपछि राष्ट्रपति जो बाइडेनको नेतृत्वमा अमेरिका–भेनेजुयलाबीच ‘नयाँ मार्ग’ स्थापनाका लागि आफू इच्छुक रहेको भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले बताएका छन् ।

“हामी राष्ट्रपति जो बाइडेनको सरकारसँग आपसी सम्मान, वार्तालाप, सञ्चार र समझदारीमा आधारित हाम्रो सम्बन्धको नयाँ धारमा चल्न इच्छुक छौँ,” भेनेजुयलाका वामपन्थी नेता मदुरोले आफ्ना समर्थकलाई गरेको एक सम्बोधनमा भने ।

उनले भने, “नयाँ अमेरिकी प्रशासनसँग दुई मुलुकबीचको सम्बन्धमा विगतलाई परिवर्तन गर्न भेनेजुयला तयार छ ।”

ट्रम्प प्रशासनले भेनेजुयलाका वामपन्थी नेता मदुरोलाई सत्ताबाट हटाउन भेनेजुयलाविरूद्ध सन् २०१९ देखि प्राकृतिक ग्यास र तेलको कारोबारलगायतका कैयौँ आर्थिक प्रतिबन्धको घोषणा गरेको थियो । मदुरोलाई अमेरिकाले एक ‘तानाशाह’ का रूपमा हेर्ने गर्छ ।

वर्षौंको चीसो सम्बन्धपछि अमेरिकी सरकारले विपक्षी नेता जुआन गुएइदोलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिका रूपमा मान्यता दिएपछि कराकस र वाशिङ्गटनबीच जनवरी २३, २०१९ मा कूटनीतिक सम्बन्धलाई पूर्णरूपमा तोडिएको थियो ।

नोभेम्बरमा अमेरिकी राष्ट्रपतिको निर्वाचनमा विजयी भएपछि मदुरोले लामो समयदेखि अमेरिकामा राजनीति गरेका बाइडेनलाई बधाइ दिए। भेनेजुएला ‘संयुक्त राज्य अमेरिकाको जनता र सरकारसँग वार्ता र समझदारीमार्फत् राम्रो सम्बन्ध राख्न तयार रहेको बताउँदै डिसेम्बरमा मदुरोले पुनः आफ्ना भनाई व्यक्त गरेका थिए ।

बाइडेन प्रशासनले भेनेजुएलाबारे निकै नरम अडान लिनेछ र नयाँ सङ्क्रमणकालीन सरकार निर्माणका लागि अन्तर्राष्ट्रिय मध्यस्थतामा अघि बढ्ने विश्वास विश्लेषकहरूले लिएका छन् ।

यद्यपि बाइडेनको विदेशमन्त्री मनोनीत एन्थोनी ब्लान्केनले मदुरोलाई यसपहिले ‘क्रुर तानाशाह’को रूपमा वर्णन गरेका थिए । उनले सिनेटमा भएको आफ्नो पुष्टिकरण सुनुवाइमा गुएइदोलाई समर्थन गर्ने ट्रम्पको नीतिलाई अँगाल्ने कुरा उल्लेख गरेका थिए ।

भेनेजुएलाको राष्ट्रिय सभाको नेतृत्वमा मदुरो पक्षधर उम्मेदवारलाई शपथ खुवाइएपछि गुएइदोेलाई नै समर्थन गर्ने अमेरिकी नीतिलाई अमेरिकाले नवीकरण गरेको थियो । डिसेम्बरमा भएको निर्वाचनमा गुएइदोको विपक्षी दलले निर्वाचनको निष्पक्षतामाथि प्रश्न गर्दै बहिष्कार गरेको थियो ।

राष्ट्रिय सभाका पूर्व अध्यक्ष ं(सभामुख) गुएइदोेलाई नयाँ संसदले प्राविधिकरूपमा जिम्मेवारीबाट हटाएको छ । यद्यपि उनले विदेशी समर्थन लिई छाँया विपक्षी सांसदहरूको समानान्तर निकाय कायम गर्ने योजना रहेको उल्लेख गरे ।

संयुक्त राष्ट्र संघका अनुसार २०१५ पछि पाँचलाख भन्दा बढी भेनेजुएलीहरू राजनीतिक र आर्थिक उथलपुथलको कारण विस्थापित बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *