सरकारले ११ हजार भन्दा बढी बेरोजगार व्यक्तिलाई ६० प्रकारका तालिम निशुल्क सञ्चालन गर्दै – Nepal Press

सरकारले ११ हजार भन्दा बढी बेरोजगार व्यक्तिलाई ६० प्रकारका तालिम निशुल्क सञ्चालन गर्दै

काठमाडौं । सरकारले मुलुकभरका ११ हजार भन्दा बढी बेरोजगार व्यक्तिलाई निशुल्क रुपमा ६० प्रकारका सीपमूलक तालिम दिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको लघु, घरेलु तथा साना उद्योग प्रर्वधन केन्द्रले मुलुकभरका ७ सय ५३ वटै स्थानीय तहबाट समावेश हुने गरी ११ हजार २ सय ५ जना बेरोजगार व्यत्तिलाई सीपमूलक तालिम दिन लागेको हो ।

कोभिड–१९ को प्रभावपछि वैदेशिक रोजगारी गुमाई नेपाल फर्केका र मुलुकमा बेरोजगार भईरहेका नागरिकलाई सीपमूलक तालिम लिई स्वरोजगार हुने एवं उद्यम संचालन गराउन उत्प्रेरित गर्ने उद्देश्यले ६० वटा सीपमूलक तालिम सञ्चालन गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय निर्देशक सुमन घिमिरेले नेपाल प्रेसलाई जानकारी दिए ।

श्रम मन्त्रालयले यसबारेको जानकारी स्थानीय तहलाई गराउनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेसंगै मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरिसकिएको मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए ।

लघु, घरेलु तथा साना उद्योग प्रर्वधन केन्द्रको वार्षिक कार्यक्रम अनुसार चालु आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न ६० वटा सीपमूलक, सीप अभिवृद्धि एवम उद्यमशीलता विकास तालिम सञ्चालन हुने भएकाले तालिम लिई भविष्यमा उद्यम व्यवसाय गर्न इच्छुक व्यक्तिका लागि माघ १३ गतेभित्र अनलाइन आवेदन पेश गर्न भनिएको छ ।

केन्द्रको अनलाइन पोर्टलमार्फत मुलुकभरका ७ सय ५३ वटै स्थानीय तहका बेरोजगार व्यक्तिले अनलाईन फारम भर्न सक्ने केन्द्रका कार्यकारी अधिकृत पुष्पराज शाहीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार केन्द्रबाट सबैभन्दा धेरै ६ सय जनालाई एक हप्ते उद्यमशीलता विकास तालिम दिइदै छ भने त्यसपछि क्रमस १० दिने बेकरी बेसिक तालिम ५ सय १० जनलाई, १ महिने अवधिमा डल बनाउने तालिम ४ सय २० जनालाई र अन्य तालिम पनि दिइदै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *