रुपन्देहीमा ओली पक्षले बनायो ४९९ सदस्यीय अधिवेशन आयोजक कमिटी – Nepal Press

रुपन्देहीमा ओली पक्षले बनायो ४९९ सदस्यीय अधिवेशन आयोजक कमिटी

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (ओली समूह) रुपन्देहीले ४९९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी बनाएको छ ।

नेकपा जिल्ला कमिटी रुपन्देहीको आइतबार पुष्पलाल स्मृति भवन बुटवलमा बसेको चौथो पूर्ण बैठकले अधिवेशन आयोजक कमिटी निर्माण गरेको हो ।

बैठकले माघ महिनाभरमा जिल्ला, क्षेत्र, पालिका र वडा तहसम्मका कमिटी गठन पुनर्गठन बिस्तार गर्ने तथा फागुनमा जिल्ला, क्षेत्र र पालिकास्तरमा सभाहरु गर्ने निर्णय गरेको छ ।

बैठकले निर्वाचन आयोगले माघ १५ गते प्रकाशन गर्ने मतदाता नामावली हेरी १६, १७ र १८ मा नाम सच्याउन सम्पूर्ण पार्टी कमिटीहरुलाई ध्यान पु¥याउन आग्रह गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज लिला गिरीले पार्टीमा देखिएको बिग्रह र तटस्थतालाई चिर्दै सम्पूर्ण शक्तिका साथ कार्यकर्ता र जनतामा जान नेतृत्वमा रहेका कार्यकर्तालाई आग्रह गरे ।

उनले देशलाई बिखण्डनबाट बचाउन, विकास र समृद्धिको यात्रालाई निरन्तरता दिन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले ताजा जनमतको लागि निर्वाचनमा जाने निर्णय गर्नु बाध्यात्मक कदम भएको बताए ।

अर्का केन्द्रीय सदस्य एवं सहइन्चार्ज दधिराम न्यौपानेले बैठकले गरेका निर्णयहरु दृढतापुर्वक कार्यान्वयनका लागि लाग्न निर्देशन दिंदै गाली गलौजमा होइन, आदरभावका साथ सैद्धान्तिक रुपमा जुध्ने कामको नेतृत्व गर्न आह्वान गरे । पार्टी जिल्ला कमिटी अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा बैठक बसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर