ए सरकार, यस्तो तस्वीरले दुख्दैन ? – Nepal Press
टिप्पणी

ए सरकार, यस्तो तस्वीरले दुख्दैन ?

पहिलो दृष्टिमा तस्वीर सामान्य लाग्छ, पिकअप भ्यानबाट केही सामान अनलोड गरिंदैछ । तर, जब थाहा हुन्छ, त्यो कुनै ‘सामान’ नभएर विदेशमा मृत्यु भएर नेपाल फिर्ता ल्याइएको शव हो, अनि रसाउँछन् आँखाहरु ।

मलेसियाबाट हिजो नेपाल एयरलाइन्सले एकैसाथ १८ जना नेपालीको शव बोकेर ल्यायो । कमाउन गएका युवाहरु यसरी बाकसमा कैद भएर फर्किँदा उनीहरुका परिवारमा भएको आर्थिक क्षतिको त हिसाब निस्केला, तर मानसिक पीडाको हिसाब कुनै गणितले निकाल्न सक्दैन । उनीहरुलाई त आफ्नो प्रियजनको मृत्यु के कारणले भयो भन्नेसमेत स्पष्ट छैन ।

प्रतिनिधिपात्रका रुपमा सिन्धुलीका कुमार तामाङलाई लिउँ । उनका दाजु सूर्यबहादुर तामाङ मलेसियाको एउटा गार्मेन्ट फ्याक्ट्रीमा काम गर्थे, करिब अढाइ वर्षदेखि । गत मंसिरमा कुमारलाई फोन आयो मलेसियाबाट । भनियो– तपाईंका दाजु सुतेको ठाउँबाट उठ्नुभएन ।

दाजुका सहकर्मीले फोन गरेर भनेपछि नपत्याउने कुरा भएन । बेलुका खाना खाएर सद्दे सुतेका दाजु बिहान एकाएक मृत भेटिएको कुरामा उनलाई संशय नभएको त होइन । तर, उनले गर्न सक्ने केही थिएन । मृत्यु भएको करिब डेढ महिनापछि दाजुको शव प्राप्त गर्न सकेकोमा नै चित्त बुझाउनु परेको छ उनले । आगामी जेठमा सधैंका लागि मलेसियाबाट फर्किने योजना दाजुले सुनाएका थिए । त्योभन्दा चार महिना अगावै दाजु आए, तर प्राण उतै छोडेर ।

पैसा कमाउने सपना बुनेर विदेश भासिएका नेपालीहरु यसरी बाकसभित्र फर्किने सिलसिला आजको होइन । औसतमा दैनिक तीन वटा लास विमानस्थलबाट भित्रिन्छन् । सबैभन्दा धेरै नेपालीहरुको मृत्यु मलेसियामा नै हुने गरेको छ । सन् २०२० मा मात्रै मलेसियामा २७५ जना नेपालीहरुको विभिन्न कारणले मृत्यु भएको थियो । विभिन्न रोग, आत्महत्या र सडक दुर्घटनामा परेर धेरै नेपालीको मृत्यु हुने गरेको छ ।

देशभित्र रोजगारी नपाएपछि युवाहरुका लागि अन्तिम विकल्प बनेको छ, वैदेशिक रोजगारी । मलेसिया र खाडी देशमा गएर रगत–पसिना बगाउनेहरुले नै आज नेपालको अर्थतन्त्र धानिदिएका छन् । जीवित हुँदा त उनीहरु हाड घोटेर पनि पैसा कमाउँछन्, र परिवारलाई सहारा दिन्छन् । तर, उनीहरु नै मरे भने त्यो परिवारको हविगत के हुन्छ ?

वैदेशिक रोजगारीमा जाने नेपालीहरु प्रायः अदक्ष हुन्छन् । त्यसैले उनीहरुलाई बढी श्रम गर्नुपर्ने र कठिन काममा राखिन्छ । न्यून वेतनका लागि उनीहरु आफ्नो ज्यान जोखिममा राखेर काम गर्न विवश छन् । आफ्नो परिवारलाई त्यागेर विरानो देशमा आँशु पिएर बाँच्नुको अर्को पीडा छ । यो सिलसिला कहिलेसम्म ? उत्तर कसैसँग छैन ।

सरकारलाई यस्तो तस्वीरले झस्काउनुपर्ने हो । देशको मुहार फेर्छौं भन्ने राजनीतिक दलहरुलाई चिन्तित तुल्याउनुपर्ने हो । तर, फोहोरको वरिपरि झिंगा भुन्भुनाएझैं हरदम सत्ता राजनीतिमै भुन्भुनाउने सरकार र दलहरुलाई यस्ता तस्वीरमा अल्मलिने फुर्सद कहाँ ? यस्ता विषय उनीहरुको एजेन्डामा नै छैनन् । उनीहरुको एजेन्डामा तीन चिज छन्– सत्ता, सत्ता र फेरि पनि सत्ता ।

दिनहुँ बस्छन् पार्टीका गोप्य मिटिङहरु । हुन्छन् ठूला आमसभाहरु । निकालिन्छन् ठूला–ठूला जुलुस । सबै केका लागि ? केवल सत्ता प्राप्तिका लागि । देशभित्रै रोजगारीको सिर्जना गरेर युवाहरुलाई विदेश पलायन हुनबाट रोक्ने योजना बनाउने कुरा नेताहरुको प्राथमिकतामै छैन । यो एजेन्डा त्यतिबेला प्राथमिकतामा पर्छ, जब चुनाव आउँछ । चुनाव सकिएसँगै फेरि सबै प्राथमिकताहरु फेरिन्छन् ।

वैदेशिक रोजगारी देशको अर्थतन्त्र बचाउने जीवनजलजस्तो भएको छ । तर, यो क्षेत्रलाई सुरक्षित र व्यवस्थित गर्न आवश्यक पहलहरु भएका छैनन् । विदेशमा किन नेपालीहरुको मृत्यु हुन्छ र त्यसलाई रोक्न के गर्न सकिन्छ भन्ने कुनै ठोस अन्वेषण भएको छैन । सरकार केवल रेमिट्यान्सबाट आएको पैसा गनेर बसेको छ । नागरिकप्रतिको जिम्मेवारी बाेध सरकारलाई छैन ।

हिजो मलेसियाबाट ओर्लिएका मृत शरीरहरु, जनताको सपनाका पनि लाशहरु हुन् । जबसम्म यो सिलसिला जारी रहन्छ, देशका शासकहरु कहिल्यै जनताको नजरमा माथि उठ्न सक्दैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर