नेकपामा अघोषित भागबण्डाः धुम्बाराही ओलीको, पेरिसडाँडा प्रचण्ड-माधवको – Nepal Press
नेकपा विभाजन

नेकपामा अघोषित भागबण्डाः धुम्बाराही ओलीको, पेरिसडाँडा प्रचण्ड-माधवको

काठमाडौं । गत महिना पुस ९ गते बबरमहलस्थित कार्की पार्टी प्यालेसबाट केपी ओलीलाई नेकपाको अध्यक्षबाट हटाएको घोषणा गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाललगायतका नेता तत्कालीन एमाले मुख्यालय बल्खु पुगे ।

मदन भण्डारीको सालिकअघि उभिएर मुठ्ठी कस्दै उनीहरूले कसम खाए- पार्टीलाई एकढिक्का बनाएर लैजानेछौं ।

ओलीलाई कारबाही गरेलगत्तै नेतात्रय त्यहाँ पुग्नुको भित्री आशय चाहिँ मदन र तत्कालीन नेकपा एमालेको सम्पत्तिको स्वामित्वमाथि दाबी गर्नु थियो । अर्थात् विभाजनपछिको आधिकारिक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफूहरूकै भएको र पार्टीको सम्पत्तिमाथि पनि आफूहरूकै हक लाग्छ भन्ने सन्देश दिन खोजेका थिए उनीहरूले ।

सग्लो नेकपाको पनि मुख्यालय बनाउने भनिएको बल्खुमै रहँदा नेताहरूले पार्टी कार्यालयको पुनर्निर्माणको काम चाँडै थाल्ने पनि बताएका थिए । त्यसपछिको विकासक्रम भने नेता त्रयले चाहे झैं भएन ।

विभाजित नेकपाको ओली पक्षले हालको पार्टी मुख्यालय धुम्बाराहीमा कब्जा जमायो । उपत्यकाबाहिरका तत्कालीन एमाले पार्टी कार्यालय बनाइएका भवन पनि एकपछि अर्को गर्दै ओली पक्षले आफ्नो पकडमा लिन थाल्यो ।

त्यसपछि आफू नै ‘ओरिजिनल एमाले’ भन्ने नेता नेपालले लगातार असन्तुष्टि जनाइरहेका छन् । आधिकारिक नेकपा नै आफूहरू भएकाले पूर्व माओवादीको मात्रै होइन पूर्व एमालेका सबै भवन र सम्पत्ति आफ्नै हुने दाबी उनले निरन्तर गरिरहेका छन् ।

धुम्बाराही मुख्यालय र जिल्ला पार्टी कार्यालयहरूमा ओली पक्षले जमाएको पकडलाई उनले बलजफ्ती भनेका छन् । केही दिनअघि याक एण्ड यती होटलमा सम्पादकहरूसँगको छलफलमा पनि नेपालले धुम्बाराहीमा जान नपाएपछि पेरिसडाँडालाई केन्द्रीय कार्यालय बनाइएको बताएका थिए ।

माथिका सबै सन्दर्भले पार्टीको आधिकारिकता मात्रै नभई, पार्टी सम्पत्तिलाई लिएर पनि विभाजित नेकपाका दुई पक्षबीच पेचिलो लडाइँ हुने संकेत गर्छन् ।

पूर्व समूह अनुसार कार्यालय

पार्टी कार्यालय र सम्पत्तिलाई लिएर दाबी भइरहे पनि अहिले विभाजित नेकपाका दुवै पक्षले दुई फरक ठाउँबाट गतिविधि संचालन गरिरहेका छन् ।

ओली पक्षले पूर्व एमालेको पार्टी कार्यालय रहेको धुम्बाराहीबाट र प्रचण्ड-माधव पक्षले तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडाबाट काम गरिरहेको छ । पार्टी विभाजनपछि एक पटक पनि प्रचण्ड-माधव पक्ष धुम्बाराही पुगेको छैन । ओली पक्ष पनि पेरिसडाँडा पुगेको छैन । ओली पक्षले पेरिसडाँडासहित पूर्व माओवादीको कुनै पनि चल–अचल सम्पत्तिमा दाबी नगर्ने बताइसकेको छ ।

पार्टी कार्यालय मात्र होइन संसदीय दलको कार्यालय पनि ओली पक्षले तत्कालीन एमालेको प्रयोग गरिरहेको छ भने प्रचण्ड–माधव पक्षले तत्कालीन माओवादी दलको कार्यालय प्रयोग गरेको छ ।

‘हाम्रो सबै पार्टी कार्यालय र सम्पत्तिमा दाबी छ । दाबी मात्रै होइन, हाम्रै हो । हाम्रो बहुमत छ, सबै हाम्रै हुन्छ । अहिले संघर्षका कार्यक्रमहरू भएकाले हामीले यतैबाट संचालन गरिरहेको मात्रै हो ।’ –  श्रीराम ढकाल ( पेरिसडाँडा पार्टी कार्यालय सचिव)

तत्कालीन एमाले दलको कार्यालयमा दलको नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीको नेमप्लेट झुण्डिएको छ । उता तत्कालीन माओवादी केन्द्रको संसदीय कार्यालय रहेको भवन अहिले प्रचण्ड-माधव पक्षले उपयोग गरिरहेको छ । संसदीय दलका नेता प्रचण्ड, प्रमुख सचेतक देव गुरुङलगायतको कार्यालय त्यतै छ ।

ओलीपक्षीय नेकपाका नेता महेश बस्नेत पूर्व माओवादीका पार्टी कार्यालयहरू प्रचण्ड–माधव पक्षको हुने र साविक एमालेका कार्यालय र सम्पत्ति आफूहरूको हुने लगभग सहमति जस्तै बनिरहेको बताउँछन् ।

बस्नेतले नेपाल प्रेससँग भने- पहिलेको एमालेको लिगेसी स्वाभाविक रूपमा केपी ओलीसँग हुनेभयो । त्यसो हुनाले स्वाभाविक रूपमा साविक एमालेका कार्यालय र सम्पत्ति केपी ओलीको पक्षमा छ । उहाँहरूले सहज रूपमा छोड्नुभएको छ । उहाँहरूको बनिबनाउ बुझाइ के छ भने माओवादीको पेरिसडाँडादेखि हिजोको माओवादीको सम्पत्ति र कार्यालयहरू उहाँहरूको हुन्छ र हिजोको एमाले केपी ओलीको हुन्छ । यसमा एउटा सहमति जस्तै भएको छ ।

के होला बल्खु ?

प्रचण्ड-माधवपक्षीय नेकपाका नेता अमृतकुमार बोहोरा बल्खुस्थित कार्यालयसँग भावना जोडिएको बताउँछन् । ‘बल्खुसँग हाम्रो भावना जोडिएको छ’ उनी भन्छन्, ‘मैले पनि त्यहाँ लामो समय बिताएँ । माधव कमरेडले पनि लामो समय महासचिव रहँदा त्यहीं बिताउनुभयो । त्यसैले हाम्रो भावनासँग जोडिएको स्थानलाई छाड्ने भन्ने हुँदैन ।’

हाल प्रचण्ड-माधवपक्षीय नेकपाका अध्यक्ष रहेको नेपालले पनि पटक-पटक यस्तै प्रसंग उठाउने गरेका छन् ।

७ रोपनी क्षेत्रफलमा फैलिएको तत्कालीन एमालेको पार्टी कार्यालय १२ वैशाख २०७२ मा आएको भूकम्पले भत्किएपछि त्यसलाई भत्काएर नयाँ भवन बनाउने योजना एमालेको थियो । दुई पार्टी एकीकरण (३ जेठ २०७५) पछि बनेको नेकपाले पनि बल्खुमै मुख्यालय बनाउने निर्णय गरेको थियो ।

माघ १५-१९ (२०७६) मा बसेको नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठकले कार्यसम्पादन गर्न अनुकूल हुने गरी तीन महिनाभित्र पार्टी कार्यालय भवनको शिलान्यास गर्ने निर्णय गरेको थियो । त्यस्तै २९ मंसिरदेखि ६ पुस (२०७६) सम्म बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकले गरेको निर्णयको स्वागत गर्दै तीन महिनाभित्रै शिलान्यास गर्ने निर्णय गरेको थियो ।

योजना अनुसारै काम भएको भए बल्खुमा नेकपाको नयाँ मुख्यालय भवन शिलान्यास भई केही संरचना बनिसकेको हुनेथियो । तर, नयाँ मुख्यालय भवन बनाउने कुरामा शून्य प्रगति छ । भवन भन्नुअघि नै पार्टीमा विभाजन आइसकेकाले त्यो अलपत्र पर्ने अवस्था छ ।

भाडाको साँघुरो घरमा बस्नु पर्दा काममा कठिनाइ उत्पन्न भइरहेको र मनोवैज्ञानिक सन्देश समेत राम्रो नगएको उतिबैले नेकपाले ठहर गरेको थियो ।

‘पार्टीको केन्द्रीय कार्यालय भाडाको घरमा सञ्चालन गर्नुपर्दा कार्यसम्पादनमा कठिनाइ उत्पन्न भइरहेको छ’ स्थायी कमिटी बैठकपछि १० पुसमा जारी ७ बुँदे ‘अन्तरपार्टी निर्देशन-३’ मा भनिएको छ, ‘देशको प्रमुख राजनीतिक दलको आफ्नै कार्यालय भवन नहुँदा मनोवैज्ञानिक सन्देशसमेत राम्रो जान सकिरहेको छैन।’

तत्कालीन एमालेले बल्खुमा कार्यालय निर्माणका लागि २०४८ देखि पार्टीका सांसद र सर्वसाधारणबाट चन्दा संकलन गरेर जम्मा भएको एक करोडभन्दा बढी रकमले सात रोपनी जग्गा किनेको थियो । त्यही जग्गामा २०५० मा करिब एक करोड ५० हजार रुपैयाँ खर्च गरेर भवन बनाइएको थियो ।

मदन नगरमा आधुनिक र सुविधासम्पन्न पार्टी कार्यालय बनाउने योजना नेकपाको थियो । त्यसै अनुसार तत्कालीन महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा भवन निर्माण समिति समेत बनाइएको थियो।

नेकपाले आफ्नो भवन निर्माण गर्न ‘पार्टीका सम्पूर्ण सदस्यहरूलाई न्यूनतम एक दिनको तलब वा आम्दानी बराबरको सहयोग गर्न र शुभेच्छुकहरूलाई दिल खोलेर सहयोग गर्न’ अपिल पनि गरेको थियो ।

धुम्बाराहीस्थित पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानको भवन भने भाडाको हो । नेकपाले मुख्यालयको रूपमा प्रयोग गरेको उक्त भवनको मासिक भाडा रु.१ लाख ८० हजार तिर्ने गरेको छ । त्यस्तै, पेरिसडाँडास्थित तत्कालीन माओवादी केन्द्रको मुख्यालयलाई जनवर्गीय संगठनको कार्यालयको रूपमा प्रयोग गरिएको थियो ।

‘एमालेका जति जम्मै यतातिर हुनुहुन्छ । महाधिवेशनबाट निर्वाचित आधिकारिक अध्यक्ष को हो ? अनि सम्पत्ति कसको हुन्छ भन्ने कुरा प्रष्ट छैन र ?’ – ईश्वरी रिजाल (धुम्बाराही कार्यालय सचिव)

आफ्ना नेता मदन भण्डारीको नाममा मदननगर नामकरण गरेको तत्कालीन एमाले पक्ष उक्त ठाउँमा पार्टी कार्यालय बनाउने कुरालाई भावनात्मक रूपमा लिन्छ ।

साविक एमाले दुई पक्षमा विभाजित भइसकेको अवस्थामा कसले त्यो पाउने भन्ने विषय पनि पेचिलो हुने देखिएको छ । तर, ओली पक्षीय नेता बस्नेत माधव नेपाललगायतलाई भाइ अंश पनि नलाग्ने बताउँछन् ।

उनको तर्क छ- भाइ अंश लाग्ने गरी विभाजन भएन । साविक एमालेभित्रको द्वन्द्वमा प्रचण्डले खेल्नुभयो । मैले कतिपय ठाउँमा उदाहरण पनि दिने गरेको छु– हाम्रो चेलीलाई लिएर जानुभयो । त्यसो गर्दा हाम्रो गोत्र र थर त लिन पाइँदैन । प्रचण्ड कमरेडसँग माधव कमरेड गएको भनेको चाहिं प्रचण्ड कमरेडको माओवादी लिगेसीसँग जोडिन जानुभएको हो । त्यसैले साविक एमालेभित्र उहाँहरूले धेरै ¥याल चुहाउनु र आँखा गाड्नु चाहिं स्वाभाविक नहोला ।

आधिकारिकता जसको सम्पत्ति त्यसकै हुने दाबी

ओली पक्षले भाइ अंश समेत नलाग्ने बताइरहेका बेला प्रचण्ड–माधव पक्षले आफूहरू बहुमतमा रहेको दाबी पेश गर्दै आफ्नो पार्टीले आधिकारिकता पाउने र सबै सम्पत्ति पनि आफ्नै हुने जिकिर गरिरहेको छ । शीर्ष नेताहरू समेत यसबारे मुखै खोलेर बोलिरहेका छन् ।

पेरिसडाँडा पार्टी कार्यालयका सचिव एवम् केन्द्रीय सदस्य श्रीराम ढकाल आफ्नो बहुमत भएकोले सम्पत्ति पनि आफूहरूकै हुने दाबी गर्छन् । ‘हाम्रो सबै पार्टी कार्यालय र सम्पत्तिमा दाबी छ’ उनी भन्छन्, ‘दाबी मात्रै होइन, हामै्र हो । हाम्रो बहुमत छ, सबै हाम्रै हुन्छ । अहिले संघर्षका कार्यक्रमहरू भएकाले हामीले यतै (पेरिसडाँडा) बाट काम संचालन गरिरहेको मात्रै हो ।’

उनी निर्वाचन आयोगले गर्ने फैसलाका आधारमा पनि यो विषय टुंगिने बताउँछन् । ढकाल भन्छन्- यो विस्तारै मिल्ला । निर्वाचन आयोगले के गर्छ अनि टुंगिन्छ सबै ।

धुम्बाराही कार्यालयका सचिव एवम् केन्द्रीय सदस्य ईश्वरी रिजाल भने एमालेजति सबै आफूतिर भएको दाबी गर्दै सम्पत्ति पनि आफूहरूकै तर्क गर्छन् । ‘एमालेका जति जम्मै यतातिर हुनुहुन्छ’ उनको भनाइ छ, ‘महाधिवेशनबाट निर्वाचित आधिकारिक अध्यक्ष को हो ? अनि सम्पत्ति कसको हुन्छ भन्ने कुरा प्रष्ट छैन र ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर