शालीनदीमा स्वस्थानी व्रत बस्न पिसिआर रिपोर्ट चाहिने – Nepal Press

शालीनदीमा स्वस्थानी व्रत बस्न पिसिआर रिपोर्ट चाहिने

व्रत बस्नका लागि २० देखि ५० वर्ष उमेर समूहका लागि मात्र समावेश गरिने नियम

काठमाडौं । पौष शुक्ल पूर्णिमाका दिन (यही माघ १५गते) हिन्दू धर्मावलम्बीले स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा शुरु हु्दैछ ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी व्रत बसे तथा कथा भने र सुने मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले नयाँ नियमसहित मेला व्यवस्थापनको तयारी पूरा भएको जानकारी दिएको छ ।

कोभिड– १९ को महामारीका कारण यही माघ १५ गतेदेखि एक महिनासम्म चल्ने शालीनदी मेलाका लागि समितिले ५० व्रतालु राख्ने गरी पूजा सञ्चालन गर्ने कार्यविधि बनाएको समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले बताए।

उनले भने, ‘मेलामा जम्मा ५० जना व्रतालुलाई समावेश गरिनेछ, व्रत बस्न इच्छुक हुनेले भोलि (सोमबार) सम्म आवेदन दिनुपर्नेछ, व्रत बस्नका लागि २० देखि ५० वर्ष उमेर समूहका लागि मात्र समावेश गरिने नियम बनाएका छौँ ।’

समितिले उनीहरुको पिसिआर, एक्स–रे रिपोर्ट आएपछि मात्रै व्रतका लागि योग्य मान्ने श्रेष्ठले बताए । गत वर्ष व्रतालुकोे सङ्ख्या ३०० भन्दा धेरै थियो । यस वर्ष कोभिड–१९ को महामारीका कारण समितिले ५० जनाको सङ्ख्या तोकेको हो ।

व्रतालुको सुरक्षालाई ध्यानमा राखेर माधवनारायण भगवानको दर्शन गर्न दूर दर्शनको व्यवस्था मिलाइएको छ भने व्रतालु र भक्तजनबीच दूरी कायम गराउनका लागि व्रत परिसरमा बार लगाएर ठाउँ खाली गरिएको छ ।

साथै मेलामा आउने भक्तजनका लागि मास्क अनिवार्य गर्दै दूरी कायम हुने गरी सम्पूर्ण सुरक्षा र स्वास्थ्यलगायतका विषयमा तयारी पूरा भएको आयोजक समितिले जनाएको छ ।

मेलामा केही भक्तजन शालिनदीमा नुहाउन आउने हुँदा उनीहरुको स्वास्थ्य सुरक्षालाई ध्यान दिएर ठाउँ ठाउँमा साबुन पानी, स्यानिटाइजर र मास्क वितरण गर्ने तथा होडिङ बोर्ड राख्ने प्रबन्ध मिलाइसकिएको अध्यक्ष श्रेष्ठले बताए ।

मेला सञ्चालनमा भीडभाड नहुने गरी व्यवस्थापन गर्ने र माधवनारायण व्रतालु नुहाउने पोखरीमा यस वर्ष प्रतिबन्ध लगाउने गरी कार्यविधि अपनाउनसमेत जिल्ला प्रशासन कार्यालय काठमाडौँले आदेश दिएको समितिले जनाएको छ ।

गत वर्ष २२ लाख दर्शनार्थीले प्रत्यक्ष माधवनारायण स्वस्थानी व्रत मेलामा दर्शन गरेका जनाउँदै समितिले यस वर्ष भने भक्तालुको सङ्ख्यामा कमि आउने बताएको छ । रासस

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर