कांग्रेसलाई नेकपाका दुवै पक्षको एउटै प्रस्तावः मुख्यमन्त्री र तीन मन्त्रालयबाहेक सबै दिन्छौं, सहयोग गर्नुस् – Nepal Press
प्रदेश १

कांग्रेसलाई नेकपाका दुवै पक्षको एउटै प्रस्तावः मुख्यमन्त्री र तीन मन्त्रालयबाहेक सबै दिन्छौं, सहयोग गर्नुस्

विराटनगर । प्रदेश १ मा नेकपाका दुबै पक्षले कांग्रेसलाई मुख्यमन्त्री र तीन मन्त्रालयबाहेक सबै मन्त्रालय दिएर सत्ता साझेदारी गर्न प्रस्ताव गरेका छन् ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको प्रचण्ड–माधव नेपाल पक्षले कांग्रेसलाई मुख्यमन्त्रीसहित आन्तरिक मामिला, अर्थ र सामाजिक सुरक्षा मन्त्रालयबाहेक सबै मन्त्रालय दिएर सत्ता साझेदारीका लागि प्रस्ताव गरेको हो ।

ओली पक्षबाट मुख्यमन्त्री शेरधन राईले पनि कांग्रेसलाई उही प्रस्ताव राखेका छन् ।

तर सत्ताको साँचो बोकेर बसेको कांग्रेसले भने कुनै निर्णय गरेको छैन । प्रदेश र बागमती प्रदेशमा सत्ता साझेदरीबारे कांग्रेसले केन्द्रमै छलफल गरिरहेको छ । कांग्रेसले मुख्यमन्त्री जसले दिन्छ उसैलाई सहयोग गर्ने नीति लिएको छ ।

नेकपाका दुबै पक्षलाई आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेसको साथ अनिवार्य छ । तर, कांग्रेस भने सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने गरी आन्तरिक गृहकार्यमा जुटेको कांग्रेस संसदीय दका उपनेता हिमाल कार्कीले बताए । उनले नेकपाका दुबै पक्षसित छलफल भइरहेको बताए ।

कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले भने अविश्वास प्रस्ताव संसदमा पेश भएको स्थितिमा कांग्रेसले प्रस्तावको पक्षमा मतदान गर्ने बताएका छन् ।

प्रदेश १ मा बुधबारदेखि संसद अधिवेशन सुरु भएको छ । तर मुख्यमन्त्रीविरुद्ध संसद सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव संसदमा पेश भएको छैन ।

प्रदेश १ को प्रदेशसभामा कुल ९३ सिटमध्ये नेकपाको ६७, कांग्रेसको २१, जनता समाजबादी पार्टीको ३, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लोकतान्त्रि राष्ट्रिय मंचको एक/एक सिट छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर