सातै प्रदेशमा आज कोरोनाविरुद्धको खोप पुग्दै – Nepal Press

सातै प्रदेशमा आज कोरोनाविरुद्धको खोप पुग्दै

काठमाडौं । भारत सरकारले अनुदानमा दिएको कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप आइतबार सातवटै प्रदेशमा पुग्दैछ ।

शनिबारदेखिनै खोप पठाउन थालिएको बताउँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले सबै प्रदेशका भण्डारण केन्द्रमा आज खोप पुर्‍याइने जानकारी दिए ।

भारतबाट जहाजमार्फत बिहीबार ल्याइएको खोप त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलबाट सीधै टेकुस्थित स्वास्थ्य सेवा विभागको केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ । प्रवक्ता गौतमका अनुसार प्रदेशमा पठाइएको खोप आवश्‍यकताको आधारमा ७७ वटै जिल्ला अस्पतालमा वितरण गरिनेछ ।

पहिलो चरणमा उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ । सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३०० अस्पतालबाट खोप लगाइने सरकारको तयारी छ । काठमाडौं उपत्यकामा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ ।

उक्त खोप स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड-१९ व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, संक्रमितको मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ ।

दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने मन्त्रालयले जनाएको छ। खोप लगाउन शुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने डा. गौतमले बताए ।

भारत सरकारले नेपाललाई १० लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको छ । माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने उक्त कोभिशिल्ड खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ ।

सरकारको कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ । पहिलो चरण खोप लगाएपछि सरकारले दोस्रो चरणका लागि ‘कोभ्याक्स सुविधा’ नामक सयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ ।

कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसङ्ख्या पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार (जिटुजी), सार्वजनिक खरीद नियमावलीअनुसार र ठेक्कामार्फत ल्याउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर