शिक्षाको जग हो गणित, जगविनाको घर कस्तो होला ? – Nepal Press
नेपाल टक

शिक्षाको जग हो गणित, जगविनाको घर कस्तो होला ?

पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ मा लागू गर्न तयार पारेको भनिएको नयाँ पाठ्यक्रमको प्रारूपका बारेमा तीन वर्षदेखि विवाद छ । केन्द्रले तयार पारेको गणितविनाको पाठ्यक्रम ठीक–बेठीक भन्ने बहस चलिरहेका बेला गणित समाजका सहसचिव तथा केन्द्रीय गणित विभागका उपप्राध्यापक डा.जीवन काफ्लेसँग नेपाल प्रेसका राजाराम न्यौपानेले गरेको कुराकानीः

गणितका विषयमा भइरहेको विवाद के हो ?

प्रस्तावित पाठ्यक्रमअनुसार जीव विज्ञान, रसायन शास्त्र र भौतिक विज्ञान पढ्ने विद्यार्थीले गणित विषयलाई मूल विषय बनाउन पाउँदैनन् । प्रस्तावित पाठ्यक्रमअनुसार म्यानेजमेन्ट पढ्ने विद्यार्थीले चाहँदाचाहँदै पनि गणित र व्यावसायिक गणित दुवै पढ्न पाउने अवसरबाट पनि वञ्चित हुने देखिन्छ ।

तसर्थ प्रस्तावित पाठ्यक्रमले पाँच वटा विषयलाई समावेश गर्दा पनि भौतिक समृद्धिको आधारस्तम्भलाई पूर्णतः उपेक्षा गर्नु नै पाठ्यक्रमका बारेमा विवाद उठ्नुको मुख्य कारण हो । यसमा उज्ज्वल भविष्यको सपना देख्ने विद्यार्थी, अभिभावक, शिक्षक र समृद्ध नेपालको परिकल्पना गर्ने वर्ग समयमै सजग हुनु जरूरी छ ।

कक्षा ११ र १२ मा गणित नहुँदा के हुन्छ ?

गणित यस्तो विषय हो, जुन सबै प्राकृतिक र सामाजिक विज्ञानको अध्ययनमा अधिकतम उपयोग गर्नुपर्ने हुन्छ । स्कूल तहमा गणित विषयको पृष्ठभूमि नहुने हो भने सबै विषयको ज्ञान अपूर्ण हुन्छ ।

यो विषयको जगविना अन्य कुनै पनि विषयमा दक्षता हासिल गर्छु भन्नु जगविनाको गगनचुम्बी महलको कल्पना गर्नु मात्र हो ।

गणितविना विज्ञान अध्ययन गर्न नसकिने हो ?

गणितले विद्यार्थीमा हरेक विषयको बारेमा तार्किक, वस्तुगत तथा वैज्ञानिक ढङ्गले अध्ययन–विश्लेषण र मूल्याङ्कन गर्ने क्षमताको विकास गराउँछ नै; विद्यार्थीलाई खोज–अनुसन्धान गर्ने सामथ्र्यको पनि विकास गराउँछ । तसर्थ गणित विषय सम्पूर्ण ज्ञान–विज्ञान तथा भौतिक समृद्धिको प्रविधिको आधारस्तम्भ हो ।

विश्व बजारको शिक्षामा ११ र १२ को विज्ञानमा गणित छ कि छैन ?

कतिपय देशहरूमा आवश्यकता अनुसार गणित तथा विज्ञानलाई अनिवार्य विषय बनाएर पठनपाठन गर्ने गरेको पनि पाइन्छ । तर विकासोन्मुख देशका लागि त सिङ्गो विज्ञान तथा प्रविधिको आधारस्तम्भ बनेको गणित विषयलाई ओझेलमा पार्ने गरी पाठ्यक्रमको प्रारूप लागू गर्न तयार पारेको छ ।

यो विषयको जगविना अन्य कुनै पनि विषयमा दक्षता हासिल गर्छु भन्नु जगविनाको गगनचुम्बी महलको कल्पना गर्नु मात्र हो ।

विशेषतः प्रस्तावित पाठ्यक्रमले पाँच–पाँच वटा विषयलाई समावेश गर्दा पनि भौतिक समृद्धिको आधारस्तम्भलाई पूर्णतः उपेक्षा गर्नु नै पाठ्यक्रमका बारेमा विवाद उठ्नुको मुख्य कारण हो ।

गणित हटाउँदा विज्ञानका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा के असर पर्छ ?

त्रिविमा इन्जिनियरिङ पढ्न कक्षा ११ र १२ मा २०० पूर्णाङ्क बराबरको गणित विषय पढ्नु अनिवार्य छ । पोखरा र पूर्वाञ्चल विश्वविद्यालयमा बायोलोजी समूहका विद्यार्थीले कक्षा ११ मा १०० पूर्णाङ्कको भए पनि गणित पढेर इञ्जिनियरिङमा प्रवेश पाउने सुविधा उपभोग गरिरहेका छन् ।

अहिलेको प्रस्तावित पाठ्यक्रमलाई कार्यान्वयन गर्ने हो भने विद्यार्थीहरू इन्जिनियरिङ पढ्ने अवसरबाट पनि वञ्चित हुने दुर्भाग्यपूर्ण अवस्था सृजना हुनेछ ।

त्यस्तै वन विज्ञान, कृषि विज्ञान, विम्याथ एस्सी जस्ता विषय पढ्न पनि कक्षा ११ वा १२ मा १०० पूर्णाङ्कको गणित र जीव तथा वनस्पति विज्ञान विषय पढेको हुनैपर्छ ।

तर अब लागू गर्न खोजिएकोे पाठ्यक्रम अनुसार भौतिक विज्ञान समूहले जीव तथा वनस्पति विज्ञान पढ्न नपाउने र जीव तथा वनस्पति विज्ञान समूहले गणित पढ्न नपाउने अवस्था छ ।

विश्व बजारमा बिक्ने जनशक्ति उत्पादन गर्न गणित किन आवश्यक छ ?

विदेश अध्ययन गर्नका लागि जीआरई, स्याट, जिम्याट जस्ता आईक्यूहरूमा पनि अत्यधिक रूपमा गणितका प्रश्नहरू समावेश गरिएका हुन्छन् । यदि गणित जस्तो विषयलाई हटाउने हो भने अवसरबाट हाम्रा विद्यार्थीहरू सधैं असफलताको शिकार हुनुपर्ने अवस्था सृजना हुन्छ ।

हालसालै त्रिविको इन्जिनियरिङ अध्ययन संस्थानमा प्रवेश परीक्षामा गणितको भार ४० बाट बढाएर ५० अङ्क बनाइएको छ । यसले गणितको महत्व इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई कति अत्यावश्यक छ भन्ने कुरा स्वतः प्रमाणित गर्छ ।

विज्ञान बाहेकका विषयहरूमा गणितको उपयोगिता कत्तिको रहन्छ ?

हालसम्मको व्यवस्थानुसार भविष्यमा सीए, बीबीए र आईटी पढ्छु भन्ने विद्यार्थीले गणित र व्यावसायिक गणित विषय पढ्न पाउँथे ।

तर प्रस्तावित पाठ्यक्रमअनुसार म्यानेजमेन्ट पढ्ने विद्यार्थी चाहँदाचाहँदै पनि गणित र व्यावसायिक गणित दुवै पढ्न पाउने अवसरबाट पनि वञ्चित हुने देखिन्छ । यसले जग कमजोर भई विद्यार्थी सीए, बीबीए, बीसीए र आईटी पढ्ने अवसरबाट वञ्चित हुने स्थिति आउँदैछ ।

रोजगारीको क्षेत्रमा गणितको उपयोगिता कत्तिको छ ?

उच्च शिक्षाका क्षेत्रमा मात्र होइन रोजगारीका क्षेत्रको उपयोग गर्ने अवसरबाट पनि प्रस्तावित पाठ्यक्रमको प्रारूपले विद्यार्थीलाई वञ्चित गर्ने स्थिति सृजना भएको छ ।

जागिरका लागि विभित्र पदमा परीक्षा दिंदा गणित र आईक्यू विधा समावेश गरिने तर ११ र १२ को प्रारूपमा गणितलाई महत्त्व नदिने विरोधाभास कार्य छ ।

सरकारले तपाईंहरूले भनेको जस्तो नै शिक्षा नीति बनाउनुपर्ने ?

नीतिनिर्माण सरकारले गर्ने भए तापनि उसले हालसालै ल्याएको राष्ट्रिय शिक्षा नीतिमा सबै तहको शिक्षामा विज्ञान, प्रविधि इन्जिनियरिङ र गणित शिक्षालाई पाठ्यक्रमको अभिन्न अङ्ग बनाउने कुरा र हालसालै सीडीसीले ल्याउन खोजेको पाठ्यक्रमको प्रारूपमा यस नीतिलाई बेवास्ता गरेको देखिन्छ ।

शिक्षामन्त्रीको पहलमा पाठ्यक्रम विकास केन्द्रले गठन गरेको उच्चस्तरीय समितिको प्रतिवेदन लागू गर्न मात्र भनेको हो ।

गणित विषय सम्पूर्ण ज्ञान विज्ञान तथा भौतिक समृद्धिको प्रविधिको आधारस्तम्भ हो । यो विषयको ज्ञानविना भौतिक समृद्धिको सुदृढ जग बसाउँछौं भत्रु दिवास्वप्न मात्र हो ।

यस्तो आधारस्तम्भलाई पन्छाएर कसरी दक्ष जनशक्ति उत्पादन हुन्छ, कसरी दिगो विकासको जग निर्माण हुन्छ, समृद्ध नेपालको लक्ष्य कसरी पूरा गर्न सकिन्छ भत्रे प्रश्नहरू टड्कारो रूपमा सृजना भएका छन् ।

गणित गाह्रो र नीरसिलो विषय भएकाले पनि हटाइएको भनिन्छ नि ! आजको समाजले कस्तो गणितको पाठ्यक्रम खोजिराखेको छ ?

हुन त पाठ्यक्रम निर्माण गर्दा गाह्रो र नीरसिलो पार्ने प्रवृत्ति नभएको त होइन । यसको बारेमा हामी पछि छलफल तथा अभियान चलाउनेछौं । अहिले यो विषयमा गहिराइमा जान चाहन्न । आजको समाजमा सुन्ने र घोक्ने गणित होइन; सुन्ने, देख्ने र प्रयोग गर्नेे गणितको आवश्यकता छ ।

तसर्थ पाठ्यक्रम र पाठ्यपुस्तक तयार पार्दा विज्ञहरूले राष्ट्रिय आवश्यकता, विद्यार्थीको सामथ्र्य, सुदूर भविष्य, रुचि तथा समकालीन विश्वका विभिन्न देशहरूमा भएको सफल प्रयोग र प्रचलनहरूतर्फ पनि ध्यान पुग्नु आवश्यक ठान्दछु ।

गणितको कारणले धेरै फेल वा डी ग्रेड आइरहेको भन्ने छ नि ?

फेल भयो भन्दैमा कहाँ विषय हटाउन पाइन्छ र ! बरु गणितलाई कसरी सरल, सहज र सबैको लोकप्रिय बनाउने भन्ने बारेमा पो पहल गर्नुपर्छ ।

गणित तथा विज्ञान विषयको धरातल अतिशय दुर्बल हुने गरी पाठ्यक्रमको प्रारूप तयार गर्नुको पछाडि सम्बद्ध पक्षले विज्ञान प्रविधिजस्तो विधा पढ्न सकेनन्, रुचि भएन, उत्तीर्ण प्रतिशत ज्यादै कम भयो भन्ने असङ्गत तर्क अघि सार्ने गरिएको छ ।

यस्तै सरदरमा हरेक वर्ष कक्षा ११ मा तीन लाख पचास हजार विद्यार्थी भर्ना हुन्छन् । तीमध्ये विज्ञान विषय लिई पढ्ने विद्यार्थी करीब पचास हजार मात्र हुन्छन् । त्यसैले ठूलो हिस्सा ओगटेको विद्यार्थी वर्गलाई लक्षित गरी पाठ्यक्रमको प्रारूप बनाइएको हो भन्ने तर्क पनि अगाडि सारिएको छ ।

अब लागू गर्न खोजिएकोे पाठ्यक्रम अनुसार भौतिक विज्ञान समूहले जीव तथा वनस्पति विज्ञान पढ्न नपाउने र जीव तथा वनस्पति विज्ञान समूहले गणित पढ्न नपाउने अवस्था छ ।

फेरि कक्षा ११ र १२ का विद्यार्थीको उत्तीर्ण प्रतिशत कम भयो भनेर पनि गणित जस्ता विषयलाई पन्छाएर सामाजिक विज्ञानका विषयलाई अनिवार्य बनाइँदैछ । यसबाट करीब पचासौं हजारको सङ्ख्यामा रहेको विपुल प्रतिभावान विद्यार्थी वर्गलाई विज्ञान तथा प्रविधि विषय पढ्ने अवसरबाट वञ्चित गरिंदैछ ।

उच्च, दक्ष र बौद्धिक जनशक्ति उत्पादन गर्ने पाठ्यक्रम बनाउनुको सट्टा उत्तीर्ण प्रतिशत बढाउने खेलमा पाठ्यक्रमलाई अपाङ्ग बनाउन हुन्छ ? माध्यमिक शिक्षालाई प्रमाणपत्र वितरण गर्ने थलो बनाउने हो ? पचासौं हजारको सङ्ख्यामा रहे पनि विराट प्रतिभासम्पन्न विद्यार्थीको प्रविधि विषय पढ्ने अवसरबाट वञ्चित गर्न मिल्छ ?

तपाईंहरूले पाठ्यक्रम विकास केन्द्र, शिक्षामन्त्री र प्रधानमन्त्रीलाई विज्ञप्ति पनि बुझाउनुभयो, के आश्वासन पाउनुभयो ?

हामीले बारम्बार पाठ्यक्रम विकास केन्द्रका निर्देशक, शिक्षामन्त्री र प्रधानमन्त्रीलाई भेटेर गणितको बारेमा सचेत गराइराखेका छौं । उहाँहरुले सकारात्मक कुरा त गर्नुभएको छ तर हामी विश्वस्त हुन सकिरहेका छैनौं ।

गणितको मुद्दा सर्वोच्च अदालतमा पनि पुगेको थियो । के भन्यो सर्वोच्चले ?

सम्मानित अदालतले गणितको विषयलाई छलफल गरेर टुङ्ग्याउन निर्देशनात्मक आदेश दिएको छ ।

समस्या समाधान कसरी गर्ने त ?

अहिलेको कक्षा ११ र १२ को प्रारूपमा सामाजिक अध्ययन र जीवन उपयोगीको सट्टामा विद्यार्थीहरूले चाहेमा गणित विषय रोज्न पाउने परिवर्तन गर्दा धेरै हदसम्म समस्या समाधान हुन्छ । तसर्थ काउन्सिलको मिटिङ राखेर तत्काल निर्णय गरी अन्योल हटाउन जोडदार माग गर्दछौं ।

सरकारले समस्याको समाधान गरेन भने गणितप्रेमी विद्यार्थी, अभिभावक तथा शिक्षकले सशक्त अभियान तथा आन्दोलन अगाडि बढाउने छन् ।


प्रतिक्रिया

2 thoughts on “शिक्षाको जग हो गणित, जगविनाको घर कस्तो होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर