कर्णाली हारेसँगै एपिएफ र आर्मी सेमिफाइनलमा – Nepal Press

कर्णाली हारेसँगै एपिएफ र आर्मी सेमिफाइनलमा

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले कर्णाली प्रदेशलाई ७१ रनले पराजित गरेसँगै प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा लगातार तेस्रो जित निकाल्दै समूह ‘ए’को शीर्ष स्थान कब्जा गरेको हो । यससँगै दोस्रो स्थानको त्रिभुवन आर्मी क्लब पनि सेमिफाइनलमा पुगेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एपिएफले ४९.५ ओभरमा सबै विकेट गुमाएर २१८ रनको योगफल तयार पारेको थियो । २१९ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कर्णालीले ४३.२ ओभरमा सबै विकेट गुमाएर १४७ रन मात्रै बनाउन सक्यो ।

कर्णालीका लागि हेमन्त ओलीले १०२ बलमा ६ चौकासहित सर्वाधिक ५८ रन बनाए । हिमान्शु शाहीले २० कप्तान रबिन्द्र शाहीले १४ रन बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा कर्णालीले तेस्रो पराजय बेहोर्नु पर्‍यो ।

एपिएफका लागि किशोर महतो र बसन्त रेग्मीले ३/३ तथा भुवन कार्कीले २ र कप्तान शरद भेसावकरले १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको एपिएफका लागि सन्दीप जोराले ७६ बलमा ५ चौका र २ छक्कासहित ६० रनको अर्धशतकीय इनिङ खेले । एपिएफका अमर रौतेला ३१, सुवाष खकुरेल २३ तथा शंकर राना र भुवन कार्की १५/१५ रन बनाएर आउट हुँदा किशोर महो १३ रनमा अविजित रहे ।

कर्णालीका लागि रबिन्द्र साही र अनुज चुनाराले ३/३ विकेट लिए । दिवान पुन र राज साहले पनि कर्णालीका लागि २/२ विकेट लिएका थिए ।

यसअघिका दुई खेलबाट ४ अंक जोडेको एपिएफ जारी सिजन अपराजित छ । दुई टोलीले सेमिफाइनल यात्रा तय गरेसँगै कर्णाली, प्रदेश १ र गण्डकी प्रतियोगितामा यात्रा टुङ्गिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *