आन्दोलनमा लाग्ने कर्मचारीलाई प्रचण्ड-माधवको आश्वासन: हाम्रो सरकार आएपछि हेर्छौं – Nepal Press

आन्दोलनमा लाग्ने कर्मचारीलाई प्रचण्ड-माधवको आश्वासन: हाम्रो सरकार आएपछि हेर्छौं

काठमाडौं । विभाजित नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले सरकारी कर्मचारीलाई सरकारविरोधी आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ । आन्दोलनमा लागेबापत कर्मचारीमाथि हुन सक्ने कारवाही ‘आफ्नो सरकार आएपछि विनाशर्त फुकुवा गर्ने’ आश्वासनसमेत दिइएको छ ।

विभाजित नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले शुक्रवार संयुक्त प्रेस वक्तव्य जारी गरी सरकारी कर्मचारीलाई यस्तो आश्वासन दिएका हुन् । शान्तिपूर्ण आन्दोलनमा सामेल हुने कर्मचारीमाथि केपी ओली नेतृत्वको सरकारले निगरानी गर्ने, धम्क्याउने र त्रास फैलाउने कुरा सुनिएको उनीहरूको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ- केपी ओली सत्ताका प्रतिगामी तथा जनविरोधी आदेशहरूलाई लत्याउदै लोकतान्त्रिक आन्दोलनमा कुनै पनि कारवाहीमा पर्ने कर्मचारीहरूलाई प्रतिगामी सत्ताको अन्त्य गरेपछि विनाशर्त झुटा मुद्दा र कारवाही खारेज गरी स-सम्मान पुनर्वहाली गर्ने कुरामा हाम्रो पार्टी प्रतिबद्ध छ ।

आन्दोलनमा सहभागी भएका कर्मचारीलाई दमन गर्नेहरूमाथि पनि अर्को सरकार आएपछि कडा कारवाही गर्ने चेतावनी प्रचण्ड र माधव नेपालले दिएका छन् । उनीहरूले ओली निरंकुशतन्त्रको अन्त्य गरेपछि प्रतिनिधिसभाबाट संघीय निजामति ऐन यथाशीघ्र जारी गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।

प्रचण्ड-माधवको विज्ञप्तिमा भनिएको छ– २०६२/६३ को आन्दोलनका क्रममा सात दलले गरेको प्रतिबद्धता बमोजिम प्रतिनिधिसभाबाट पारित संकल्प प्रस्तावअनुरुप कर्मचारी मैत्री संघीय निजामती सेवाा ऐन, प्रदेश निजामती सेवा एने र स्थानीय सेवा ऐनको निर्माण गरी तीनै तहमा निजामति कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन रहने गरि अधिकार सुनिश्चितता गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर