प्रदेशमा अविश्वास प्रस्ताव आए प्रतिपक्षको धर्म निभाउँछौं: रामचन्द्र पौडेल – Nepal Press

प्रदेशमा अविश्वास प्रस्ताव आए प्रतिपक्षको धर्म निभाउँछौं: रामचन्द्र पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश १ मा अविश्वास प्रस्ताव आए कांग्रेसले प्रतिपक्षको धर्म निभाउने बताएका छन् । प्रधानमन्त्रीले देशलाई अफगानिस्तान बनाउन खोजेको आरोपसमेत उनले लगाए ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले भने, ‘प्रतिपक्षीको धर्म के हो ? केन्द्रमा पनि हामी छायाँ सरकार बनाएर बसेका छौं । प्रदेशमा पनि प्रतिपक्षीको धर्म निभाउँछौं । अविश्वासको प्रस्ताव आयो भने सत्ताको खिलाफमा हाम्रो भोट जान्छ ।’

प्रधानमन्त्रीले गरेको संसद विघटनका विषयमा आफ्नो पार्टीभित्र दुई लाइन नरहेको उनले दावी गरे । ओलीको कदम प्रतिगामी र संविधानविरोधि भन्दै सच्याउनुको विकल्प नरहेको पौडेलको भनाइ छ ।

‘उहाँ मेरो राजनीतिक निर्णय हो भन्नुहुन्छ । उहाँको निर्णय राष्ट्रघाति निर्णयलाई अदालतले, जनताले किन मान्ने ?’ पौडेलले प्रश्न गरे । पार्टीको महाधिवेसन पनि गर्नुपर्ने र संविधान पनि बचाउनुपर्ने भएकाले कांग्रेसलाई दोहोरो संकट भएको उनको भनाइ छ ।

‘हामीले चुनाव बहिष्कार गर्ने भनेको होइन । हामी संविधानमा टेकेर चुनावमा जान चाहन्छौं । देशलाई अफगानिस्तानको बाटोमा लैजान खोजिएको छ । यो हामीलाई स्वीकार्य छैन,’ पौडेलले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *