नेकपा विभाजनको असर मन्त्रीको घरमा: दम्पतिको बाटो अलग-अलग – Nepal Press

नेकपा विभाजनको असर मन्त्रीको घरमा: दम्पतिको बाटो अलग-अलग

काठमाडौं । मन मिल्ने कमरेडहरू अलग बाटो लाग्नुपर्दाको पीडा विभाजित नेकपाका नेता कार्यकर्ताहरूले भोगिरहेका छन् । वर्षौसम्म एउटै पार्टीमा काम गरेका कमरेड अलग हुनुपर्दा त सही नसक्नु पीडा हुन्छ भने एउटै घरमा विभाजन भयो भने कस्तो होला ?

अहिले यस्तै प्रश्नको उत्तर दिन उभिएका छन् संघीय सरकारका युवा तथा खेलकुदमन्त्री दावा लामा र वागमती प्रदेशसभाकी सांसद कुमारी मोक्तान । दावा र कुमारी माओवादी जनयुद्धकै बेला प्रेम विवाह गरेका जोडी हुन् । सिन्धुपाल्चोकका दावा र मकवानपुरकी कुमारी यसबीचमा माओवादी विभाजन हुँदा पनि मोहन वैद्य र रामवहादुर थापा बादल समूहमा सँगै लागेका थिए । तर, यसपटकको पार्टी विभाजनले भने दावा र कुमारीको परिवारलाई समेत विभाजित गरिदिएको छ ।

बादल समूहमा रहेका दावा र कुमारीलाई मध्ये अहिले दावा केपी ओली नेतृत्वको नेकपामा छन् भने कुमारी प्रचण्ड-माधव पक्षमा । दावा ओली पक्षमा लागेर मन्त्रीनै भइसके । कुमारी भने पति मन्त्री भएकोमा प्रतिक्रियाविहीन छिन् ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी कुमारीले नेपालप्रेससँग कुरा गर्दै पार्टी विभाजनले राजनीतिक रूपमा आफ्नो घर विभाजित भएको बताइन् । तर, पारिवारिक रूपमा कुनै समस्या नरहेको उनको भनाइ छ ।

मोक्तानले भनिन्- सुरुमा कता लाग्ने भन्ने कुरा अलि अलि दबाब परेकै हो । तर हामीले आ-आफ्नो लाइन रोज्यौं । उहाँ उता (ओली पक्ष)मा लाग्नुभयो मैले उहाँलाई साथ दिन सकिन । म अहिले अविश्वास प्रस्तावको पक्षमा छु र प्रचण्ड नेतृत्वको नेकपामा छु ।

बादलले दावा र कुमारी दुवैलाई आफूसँगै ओली पक्षमा राख्न खोजे पनि कुमारीले अश्वीकार गरेको बताइन्छ । उनलाई दावाले पनि सँगै लाग्न दबाब दिएको स्रोतको दावी छ । तर, जनयुद्धकालदेखिको लिगेसी कुमारीले छाड्न मानिन् ।

नेपाल प्रेससँग कुरा गर्दै उनले भनिन्- हामी जुन धार (जनयुद्ध)बाट आयौं त्यसैमा दुवै जान पाएको भए त राम्रो हुन्थ्यो । तर, लोकतन्त्रमा आफ्नो विचारको कुरा हो । दुवैजना राजनीति गर्ने भएपछि आ-आफ्नो विचार बोक्ने हो, यसले पारिवारिक जीवनमा असर गर्दैन ।

कुमारी मोक्तान २०६४ सालमा मकवानपुरबाट संविधानसभा सदस्य निर्वाचित भएकी थिइन् । अहिले उनी प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् । दावा लामा भने २०७४ को प्रदेशसभा निर्वाचनमा पराजित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *