इन्द्रेणी रङको खोजीमा एक श्यामश्वेत जिन्दगी – Nepal Press
समाइरासँग भिडियो संवाद

इन्द्रेणी रङको खोजीमा एक श्यामश्वेत जिन्दगी

नेपाल प्रेसको बुइँगलमा हामी ‘इन्द्रेणी गफ’ गरिरहँदा ११ हजार किलोमिटर पर वासिङ्टनमा कमला ह्यारिस इन्द्रेणी सपना देख्दै थिइन् । जो बाइडेन ‘इन्द्रेणी’ मन्त्रिमण्डल बुन्दै थिए ।

युनिभर्सल अपिलिङ बोकेको शब्द ‘इन्द्रेणी’ को खोजी पछिल्लो समय विश्व राजनीति, समाज, लोकतन्त्र र मानवीय मूल्यमा भैरहेको छ । पपुलिज्म मौलाइरहेको विश्वमा यो खोजी अस्वभाविक पनि होइन ।

‘इन्द्रेणी’ शब्दको गुरुत्व सबैभन्दा बढी समाइरा श्रेष्ठलाई भन्दा अरु कसलाई महसुस होला र ? ह्यारिस र समाइराले देख्ने ‘इन्द्रेणी’मा सातै रङ हुन्छन् । यिनै रङको खोजीमा समाइराले आफ्नै सपनाको कथ्य खोजि गरिरहेकी छिन् ।

त्यो कथ्यको खोजीका लागि उनले के–के मात्र गरिनन् ? क्वारेन्टाइनमा बलात्कार भएकी चेलीको लागि आवाज उरालिन् । बसन्तपुर डबलीमा ९ दिन भोकै बसेर सत्याग्रह गरिन् । इनफ–इज–इनफ आन्दोलनमा प्रहरीले वर्षाएको पानीको फोहोरा खेपिन् ।

‘ट्रान्सवुमन’ देह लिएर उनी समय र समाजविरुद्ध लडिरहेकी छिन् । सबैभन्दा कठिन युद्धचाहिँ आफैसँग हो । प्रत्येक विहानी आफैलाई प्रश्न गर्छिन् –म शरिर हूँ कि आत्मा ? दार्शनिकले ठम्याउन नसकेको गहिरो प्रश्नको उत्तरको खोजीको सुरुआतसँगै उनको दिन आरम्भ हुन्छ ।

यो उत्तरको खोजी गर्दै समाइराले २१ हिउँदको सिरेठो खेपिन् । ‘इन्द्रेणी’को अर्थ खोज्दै दुःखको सगरमाथा आरोहण गरिन् । जीवन र यसको सौन्दर्यलाई लिएर समाइराको डिस्नेरीमा आफ्नै खाले अर्थ छन् । भन्छिन् –म अरुको लागि हाँसिरहेकी हुन्छु । तर, दिमागमा त्यो हाँसो फेक मात्र हो । जुन चस्मा लगाएर हेर्‍यो, जिन्दगी त्यही रङको देखिन्छ ।’ रङले गर्ने सबैभन्दा निर्मम राजनीति हो यो ।

समाइराको जीवन श्यामश्वेत छ । उनको इन्द्रेणीमा दुःखको कालो रङ छ र आशावादको सेतो रङ पनि । उनलाई थाहा छ– निष्ठाको लडाइमा ‘ग्रे जोन’ हुँदैन । यो श्यामश्वेत नै हुन्छ ।

समाइराको जिन्दगी बाहिरदेखि हेर्दा खैरो देखिन्छ । तर, वास्तविक लडाइ इन्द्रेणीका लागि हो । समाइराले चाहेको सात रङ र बाँचिरहेको समयको श्यामश्वेत रङबीचको द्वन्द्व यथार्थ हो । संसारका करोडौं समाइरा अहिले यही महसुस गरिरहेका होलान् ।

यही महसुसले अहिले समाइराको परिचयको प्वाँखमा ‘राजनीति’ उनिदिएको छ । उनी एकसाथ नेतृ, अभियन्ता, ट्रान्सवुमन, मोडल र नृत्यांगना हुन् । गएको साता उनको परिचय शब्दकोषमा ‘नेतृ’ थपिएको छ । उनले रविन्द्र मिश्र नेतृत्वको विवेकशिल साझा पार्टीको केन्द्रिय सदस्यमा डेब्यु गरेकी छिन् ।

आफूलाई वैकल्पिक राजनीति शक्ति ठान्ने विवेकशिल साझाले गतसाता गठन गरेको इन्द्रेणी विभागको प्रमुख हुन् समाइरा । उनी साझा पार्टीभित्र आफूलाई सुरक्षित र आत्मविश्वासी ठान्छिन् । उनलाई लाग्छ –साझा पार्टी एउटा इन्द्रेणीजस्तै रङहरुको समूह हो जसले असमानतालाई निलिदिन सक्छ ।

कुनै दिन थियो– समाइराका लागि जीवन लेखिका पारिजातले व्याख्या गरेजस्तै ‘शुन्य’ थियो । आफूमाथि समुदायले गर्ने तिरस्कारयुक्त व्यवहारको आत्मबोधमा उनले तीनपटक आफैंलाई सिध्याउने प्रयास गरिन् ।

विवेकशील पार्टीले उनलाई मूलधारका दलले अंगाल्दै आएको मूल्य–मान्यतालाई अवज्ञा गर्ने मौका दिएको छ । सरकारसँग एलजीबीटीआइक्यू समुदाय (लैंगिक अल्पसंख्यक) को अधिकारका लागि लड्ने प्लेटफर्म दिएको छ । वैकल्पिक राजनीतिसँग साक्षात्कार गर्ने अवसर दिएको छ । के तपाइँ यसका लागि तयार हुनुहुन्छ ? नेपाल प्रेससँग उनी खुलिन् –मेरो जीवन नै यिनै भ्वाइसका लागि समर्पित हुनेछ ।

कुनै दिन थियो– समाइराका लागि जीवन लेखिका पारिजातले व्याख्या गरेजस्तै ‘शुन्य’ थियो । आफूमाथि समुदायले गर्ने तिरस्कारयुक्त व्यवहारको आत्मबोधमा उनले तीनपटक आफैंलाई सिध्याउने प्रयास गरिन् । देह विक्री गर्न भारत जाने तयारी गरिन् । उनी डिप्रेसनसँग लड्दै थिइन् । त्यही बेला देशमा लकडाउन भयो र लकडाउनले जीवनको आयाम युटर्न गरिदियो । क्वारेन्टाइनमा महिला बलात्कार भएको घटना उनको जीवनमा ‘केही गर्ने’ एउटा उत्प्रेरक बन्यो ।

अनि सुरु भयो –इनफ इज इनफको सिलसिला । असमानताविरुद्ध भद्र विद्रोह गर्ने सिलसिला । शरिर र आत्माको दार्शनिक उत्तर खोज्ने सिलसिला । एलजीबीटीआइ समुदायको हितमा काम गर्ने सिलसिला । सिलसिलाको यो श्रृंखलामा समाइराको लडाइ लैंगिक अल्पसंख्यकको हितको पक्षमा उभिएको छ ।

हामीसँगको क्यान्डिड गफमा उनी विद्रोही सुनिइन् । टीकटकमा रमाउने पुस्ताकी एक ठिटी समकालिन पुस्ताभन्दा एकसय असी डिग्री विपरित सुनिइन् । ह्यारिसले देख्ने इन्द्रेणीको सपना समाइराले देख्नु तन्नेरी पुस्तामा विकसित राजनीतिक चेतनाको एउटा संकेत हो । हुनसक्छ, व्यवस्थाविरुद्ध तन्नेरी पुस्ताको एउटा असन्तुष्टि पनि ।

समाइरासँगको पूर्ण संवाद भिडिओमा :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *