पूर्व लडाकुको नाममा ओली-प्रचण्ड जुहारी, त्यो कालिबहादुरको गाह्रो साह्रोमा मैले हेरेकै थिएँ (भिडियोसहित) – Nepal Press

पूर्व लडाकुको नाममा ओली-प्रचण्ड जुहारी, त्यो कालिबहादुरको गाह्रो साह्रोमा मैले हेरेकै थिएँ (भिडियोसहित)

काठमाडौं । माओवादी लडाकुप्रति खासै अनुराग नदेखाउने प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय उनीहरूलाई पटक–पटक सम्झिरहेका छन् ।

१५ पुसमा पार्टीको सुदुरपश्चिम प्रदेश कमिटीको भेलालाई सम्बोधन गर्दा माओवादीका पूर्व लडाकु कालीबहादुर खामलाई सम्झिएका थिए ।

४ माघमा पनि ओलीले पूर्व लडाकु सम्झिए । आफ्नो सम्बोधनका क्रममा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अलपत्र पारेको र आफूले व्यवस्थापन गर्ने बताएका थिए । ओलीले भनेका थिए– ‘देशमा परिवर्तन ल्याउन भन्दै लडाइयो तर अहिले कहाँ ल्याए त्यो कुरा सम्झाउन खोजेको हुँ, वहिर्गमनमा परेका लडाकुहरुलाई यथोचित ब्यवस्था गर्छु ।’

त्यस्तै बिहीबार पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा पनि ओलीले पूर्व जनमुक्ति सेनाको प्रसङ्ग उप्काए । उनले आफ्ना लागि ज्यान दिने योद्धाका छोराछोरीलाई अलपत्र पारेर प्रचण्डले आफ्ना छोरी र ज्वाइँको लागिमात्र बार्गेनिङ गरेको बताएका थिए ।

ओलीको उक्त भनाइको खासै जवाफ नदिएका प्रचण्डले शुक्रबार भने मुखै फोडेर जवाफ दिए । ओलीले पूर्व जनमुक्ति सेनालाई बढ्ता प्रेम दर्शाएको प्रति व्यङ्ग्यात्मक रुपमा भने– आमाको दूध चुसेर भएन, बाबुको घुँडो !

प्रचण्डको आजको टिप्पणी

एउटा विचित्र उहाँले जनयुद्ध भनेपछि सुन्न पनि नचाहने एक नम्बर मान्छे उहाँ (ओली) हुनुहुन्थ्यो पहिला। तर, शान्ति सम्झौता भइसकेपछि त अलिकति मान्नु होला कि भन्ने ठानेको त एकतापछि पनि जनयुद्धका शहीदलाई सम्मान गर्ने कार्यक्रममा एक चोटी पनि जानु भएन। माधवजी जानु भयो, झलनाथजी जानु भयो । एमालेका सबै नेताहरू जानुभयो । केपी कहिल्यै पनि जानु भएन । मैले त्यसलाई खुब ‘नोट’ गर्‍या थिएँ ।

सरकारलाई मैले पटक–पटक यी घाइतेको उपचार गरौं भन्दा यो सरकारले भत्ता पो काटेछ । गृह प्रशासन पनि ओलीले जे भने त्यही मान्ने छ । मैले धेरै पटक भन्दा कहि कतै टेरपुच्छर लाइएन । घाइते अपाङगको उपचार गर्ने कुरालाई पुरै व्यवास्ता गरियो । अहिले पार्टी विभाजन गरेपछि र आफू पुरै अल्पमतमा परेपछि, मैले अहिले सुन्छु– ती घाइते अपाङ्गलाई हेर्नु पर्दैन ? भन्ने के यही केपी । फट्याई गर्न पनि कति सकेको के । जालझेल गर्न पनि कस्तो दिमाग हो ।

कालीबहादुर खाम खोइ अरे । कालीबहादुर खाम खोइ रे। त्यो कालीबहादुर खाम बिचरा आफैले केही गर्‍या त होइन । उसको मुद्दा ठीक ढंगले हल होस् भन्नका लागि १०/११ वर्षदेखि लागेकै थिएँ । उनलाई परेको गाह्रो, साह्रो हेर्न मैले लगातार बल गरेको छु । अहिले त कालीबहादुर प्रचण्डले त तपाईंलाई हेर्दैन, जनमुक्ति सेनाका कमाण्डरलाई । यो भन्दा लाजमर्दो अरु हुन्छ । प्रचण्डले जनमुक्ति सेना नहर्ने रे, केपीले हेर्ने रे ।

जसलाई मैले १० वर्षसम्म स्कुलिङ गरेर हुर्काएर, माया गरेर एउटा ठाउँमा पुर्‍याएको । ती मान्छेको चाहिँ अब केपीले संरक्षण गर्ने रे ! आमाको दूध चुसेर भएन, बाबुको घुँडो ! योभन्दा लाजमर्दो अरु हुन्छ ? प्रचण्डले जनमुक्ति सेना नहेर्ने रे, केपीले !

जनमुक्ति सेनाका सबै योद्धा, घाइते साथीहरू भ्रमित नहुनु होला । तपाईंहरूको रगत, पसिना र बलिदानले संघीय लोकतान्त्रिक गणतन्त्र बनाउन ऐतिहासिक भूमिका खेलेको छ । इतिहासको स्वर्णीमा अक्षरमा तपाईंहरूको नाम लेखिइसकेको छ । त्यसलाई कालो पोत्ने काम हामी कोही नगरौं । म यो अपील पनि गर्न चाहान्छु ।

पूर्व सहकर्मीप्रति पनि कटाक्ष

सम्बोधनका क्रममा प्रचण्डले ओली पक्षतिर लागेका आफ्ना पूर्वसहकर्मीमाथि पनि कटाक्ष गरे । प्रचण्डले उनीहरूलाई भगौडा भनेर समेत टिप्पणी गरे ।

प्रचण्डको भनाइ थियो- तपाईंहरुले थाहा पाउनुभएको छ, हिजो पूर्वमाओवादीका केही–केही फुट्ने, आउने–जाने गरेका केही चाहिँ अहिले खरानी घसेर चिन्नै नसकिने भएका छन् । केपीका ओरिजिनल साइबर स्यालभन्दा यी भगौडाहरुले यति धेरै खरानी घसेको देखेर मलाई लाजै लाग्या छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर