प्रचण्ड–माधव पक्षको जनसभा : दुई घन्टा केपी ओलीलाई गाली ! – Nepal Press

प्रचण्ड–माधव पक्षको जनसभा : दुई घन्टा केपी ओलीलाई गाली !

काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधवपक्षीय फग्लेटोले आज राजधानीमा आफ्नो शक्तिजाँच गर्यो । एक लाख जनता उराल्ने दावी गरेका सो पार्टीका नेताहरुले यो प्रदर्शनलाई प्रतिष्ठाको विषय बनाएका थिए । साथै, नेताहरुले नयाँ सन्देश केही दिन्छन् कि भन्ने कौतुहल कार्यकर्ता पङ्ती र आम सर्वसधारणमा थियो ।

दावी गरिएजस्तो एक लाख जनता सडकमा नआए पनि आजको प्रदर्शनमा भएको सहभागीता प्रचण्ड–माधव समूहका लागि उत्साहजनक नै मान्नुपर्छ । सभाका लागि अघिल्लै दिनदेखि विभिन्न जिल्लाबाट कार्यकर्ता र शुभचिन्तकहरु ओसारिएका थिए ।

सभास्थल खचाखच नै थियो । तर, सबैभन्दा खट्केको कुरा चाहिँ नेताहरु आफ्नो भाषणमा केपी ओलीलाई गाली गर्नमै समय खर्चिए । पार्टीका कार्यकर्ता र जनतालाई नयाँ सन्देश केही दिन सकेनन् । गालीमा पनि नयाँपन केही थिएन । उही भष्मासुर, तानाशाह, भगौडा, गणतन्त्र–विरोधी जस्ता पुराना उपमाले नै उनीहरुले ओलीलाई सिंगारे, जुन शब्द सुन्दासुन्दा जनताका कान पाकिसकेका छन् ।

सभामा चार जनालाई मात्र बोल्न दिइएको थियो । उनीहरुबीच ओलीलाई कडा शब्दमा गाली गर्ने प्रतिस्पर्धाजस्तै चल्यो । सुरुमा बोलेका घनश्याम भुषालले ओलीलाई घुँडा टेकाइछाड्ने उद्घोष गरे । ओलीले बनाएको ‘साइबर सेना’ लाई साइबर स्यालको संज्ञा दिँदै उनले भने, ‘ओलीसँग अब साइबर स्याल र सेटिङवाला मान्छे मात्र बाँकी छन् ।’

भुषालपछि पालो आयो झलनाथ खनालको । उनी आफ्नै शैलीमा पेश भए । केपी ओलीलाई भगौडाको संज्ञा दिँदै खनालले भने, ‘केपीओली यो पार्टीका भगौडा हुन् । उनी अध्यक्ष हुनै लायक रहेनछन् ।’ खनालले ओलीको प्रतिगमन नसच्चिएसम्म टाउकोमा कफन बाँधेर सडकमा बस्ने हुँकार गरे ।

पार्टीका दुई अध्यक्षमध्ये एक, जो अहिले पहिलो वरियताको भनिएको छ, माधव नेपालले प्रचण्डभन्दा अगाडि बोले । उनले केपी ओलीलाई जेल हाल्ने कुरा गरे । सच्चिएर आएदेखि माफी दिन सकिने पनि बताए ।

नेपालले भने, ‘हामीले ओलीलाई पार्टी सदस्यबाट हटाउन स्पष्टिकरण सोधेका छौं । म त सुर्खेतबाट भर्खरै आएको । स्पष्टिकरणको जवाफ आयो कि, गल्ति स्वीकार गरे कि, माफी नै पो मागे कि ? मैले बुझ्न पाएको छैन । यदि सच्चिएर आउँछन् भने केही समय जेलमा राखेर फेरि निकालौंला । अथवा सुरुमै माफी दिउँला ।’

अन्त्यमा बोलेका प्रचण्डमा सबैको ध्यान केन्द्रित थियो । उनले भाषण गर्ने पालो आउँदा लामो हुटिङ पनि भयो । प्रचण्डले एउटा नयाँ कुरा बोले । अदालतलाई घुमाउरो चेतावनी दिए उनले । यदि ओलीको कदमलाई अदालतले सही ठहर्याएमा शान्ति प्रक्रिया नै डिरेल हुन सक्ने प्रचण्डको चेतावनी थियो । हुन त उनले अदालतमाथि स्पष्ट धम्कीपूर्ण भाषण प्रयोग गर्ने जस्तो संकेत देखाएका थिए, तर अलि सम्हालिए ।

प्रचण्डले भने, ‘यो देशमा फेरि युद्ध होस, हिंसा होस, अराजकता होस भन्ने कसैले पनि चाहेको छैन । सम्मानित सर्वोच्च अदालतका सम्मानित न्यायधिस कोही पनि फेरि द्वन्द्व चाहनुहुन्छ भन्ने कल्पना पनि गर्न सक्दिनँ । तर, केपी ओलीको स्वेच्छाचारी कदमलाई सतही ठहर्याउने काम भयो भने… शान्तिप्रक्रियामा डिरेल हुन सक्छ ।’

प्रचण्डले ओलीलाई बेलैमा तह लगाउन नसकेको भन्दै आत्मालोचना गरे । त्यसो त प्रचण्डका प्राय भाषण आत्मालोचनाबिना पूरा पनि हुँदैनन् । अनि, ओलीमाथि सारा आक्रमण गरिसकेपछि उनले यो पनि भने, ‘ नागरीक समाजका अगुवा,  पत्रकार र सम्पादहरुले ओलीलाई गालीमात्र नगरी आफ्नो कमजोरी पनि मुल्याङ्कन गर्न मलाई सुझाव दिनुभएको छ, त्यसैले म आज आत्मालोचित पनि हुन चाहन्छु ।’

समग्रमा नेताहरुको भाषण ओलीलाई अतिरिक्त शक्तिशाली देखाउने खालको थियो । ‘राजा महाराजाको श्रीपेच झिकेर लात्ताले हानेको तर ओलीलाई तह लगाउन नसकिएको’ प्रचण्डको अभिव्यक्ति कार्यकर्तालाई उत्साहित पार्नेभन्दा दिक्क पार्ने खालको थियो । प्रचण्डले अदालतबाट विघटनको विपक्षमा निर्णय नआए शान्ति प्रक्रिया ‘डिरेल’ हुने चिन्ता व्यक्त गर्दै जनतामा नयाँ आशंका जन्माइदिएका छन् ।


प्रतिक्रिया

One thought on “प्रचण्ड–माधव पक्षको जनसभा : दुई घन्टा केपी ओलीलाई गाली !

  1. पराजित मानसिकता भएपछि जनताकाे समय नाश गर्न थालेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *