बाग्मती सेमिफाइनल नजिक, प्रदेश २ बाहिरियो – Nepal Press

बाग्मती सेमिफाइनल नजिक, प्रदेश २ बाहिरियो

काठमाडौं । पृथु बाँस्कोटाको अविजित अर्धशतक प्रेरित बाग्मती प्रदेशले प्रधानमन्त्री कपमा शुक्रबार प्रदेश नम्बर २ लाई ६ विकेटले पराजीत गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश २ ले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १७९ रनको योगफल तयार पारेको थियो । १८० रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बाग्मतीले ४८ दशमलव २ ओभरमा ४ विकेट मात्रै गुमाएर पूरा गर्‍यो ।

बाग्मतीका लागि पृथु बास्कोटाले ७५ बलमा ४ चौका र १ छक्कासहित अविजित ५३ रन बनाए । त्यस्तै, ९३ को सामना गरेका बिभत्सु थापाले ३ चौकासहित ४७ रन तथा आकाश थापाले ३२ रन बनाए ।

प्रदेश २ का लागि हरिशँकर साहले २ तथा कुमार थापा र विशाल शुस्लिङले १\१ विकेट लिए । यसअघि पहिलो इनिङमा ब्याटिङ गरेको प्रदेश २ का लागि विवेकले सर्वाधिक ७४ बलमा ३ चौका र ३ छक्कासहित ६६ रन बनाए ।

कुमार थापाले २२, राहुल प्रताप सिंहले १८, कप्तान सुरज कुर्मीले १३ र सुधिर चौधरीले १५ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बाग्मतीका लागि गौतम केसीले १० ओभरमा २९ रन खर्चेर १ मेडनसहित ४ विकेट लिए । रामनरेश गिरीले २ तथा नन्दन यादव, तिलक भण्डारी र बिपिन आचार्यले १\१ विकेट लिए ।

जितसँगै बाग्मतीले ३ खेलबाट ६ अंक जोडेको छ । जारी प्रतियोगितामा सतप्रतिशत नतिजा राख्न सफल बाग्मती सेमिफाइनल प्रवेश लगभग निश्चित भएको छ । त्यस्तै लगातार दुई खेलमा पराजय बेहोरेको प्रदेश २ को सेमिफाइनल यात्रा टुङ्गिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *