भाउ बढाउने तेल उद्योगमाथि सरकारको कारबाही, घट्ला त महंगी ? – Nepal Press

भाउ बढाउने तेल उद्योगमाथि सरकारको कारबाही, घट्ला त महंगी ?

काठमाडौं । दुई महीनादेखि खाने तेलको मूल्य अत्यधिक बढेपछि सरकारले कारवाही शुरु गरेको छ । बिनाकारण तेल उद्योगहरुले एकलौटी मूल्य वृद्धि गरेपछि सरकारले तेल उत्पादन गर्ने दुईओटा उद्योगलाई मंगलबार कारवाही गरेको हो ।

करीब दुई महिनादेखि खानेतेलको मूल्य प्रतिलिटर १० देखि ५० रुपैयाँसम्म वृद्धि भएको छ । बजारमा खाने तेलको मूल्य अत्यधिक बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले केही समय अघि तेलको मूल्य बढाउनुको कारण पेस गर्न उद्योगलाई पत्र काटेको थियो ।
तर, उद्योगले खाने तेलको मूल्य बढाउनुको कारण अझैसम्म विभागलाई पेश गर्न सकेका छैनन् । नेपालमा अहिले १७ ओटा उद्योगले खाने तेल उत्पादन गर्दै आएका छन् । ती सबै उद्योगबाट उत्पादित खानेतेलको मूल्यमा वृद्धि भएको छ ।

मूल्य वृद्धिका कारण उपभोक्ताको गुनासो बढेसँगै विभागले उद्योगहरुमा अनुगमन थालेको छ । अनुगमनका क्रममा विभागले मंगलबार बारा जिल्लामा सञ्चालित दुई उद्योगले खानेतेलको मूल्यमा वृद्धि गरेको पाएको थियो ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार बजार अनुगमका क्रममा उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएको भेटिएपछि तेल उत्पादक उद्योगलाई कारवाही गरिएको छ ।

विभागले बारामा रहेको अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालिलाई पनि केही दिन अघि कारवाही गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार ती उद्योगलाई तीन\तीन लाख रुपैयाँ जरिवाना गरेको छ ।

त्यस्तै विभागले काठमाडौंको नार्गाजुन नगरपालिकाको श्री भण्डारी स्टोरले बढी मूल्य लिएर तेल विक्री गरेको पाइएपछि उक्त स्टोरलाई दुई लाख ५० हजार जरिवना गरिएको सुवेदीले बताए ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले विभागले अहिले गरिरहेको अनुगमन न्यून भएको बताएका छन् । उनका अनुसार अहिले विभागले कारवाही गरेको जस्तो मात्रै गरेको छ । ‘दुई ओटा तेल उद्योगलाई कारवाही गरेर तेलको मूल्य घट्छ,’ उनले भने ।

बानियाँका अनुसार अहिले सरकारले प्रत्येक जिल्ला प्रशासनलाई अनुगमन गर्ने अधिकार दिएको छ । सबै जिल्लामा अनुगमन गर्ने हो भने मात्रै उद्योगले मनलाग्दी तरिकाले तेलमा गरेको मूल्य वृद्धि घट्ला नभए घट्दैन ।

खुद्रा व्यापारसंघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार दुई महिना अघि बजारमा भटमासमको तेलको मूल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ थियो । हाल सो तेलको मूल्य वृद्धि भई दुई सय १० रुपैयाँ पुगेको छ ।

त्यस्तै सनफ्लावर तेलको मूल्य एक महिना अघि प्रति लिटर एक सय ८५ रुपैयाँबाट वृद्धि भई हाल दुई सय २० रुपैयाँ पुगेको छ । तोरीको तेलमा भने दुई सय ५० रुपैयाँबाट बढेर हाल दुई सय ६० रुपैयाँ पुगेको छ ।

श्रष्ठका अनुसार विभागले उद्योगलाई कारवाही गरे पनि उनीहरुले तेलको मूल्य भने घटाएका छैनन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर