प्रचण्डले भने: राजाको श्रीपेचलाई लात्तले हान्यौं, तर केपीलाई तह लगाउन सकेनौं – Nepal Press

प्रचण्डले भने: राजाको श्रीपेचलाई लात्तले हान्यौं, तर केपीलाई तह लगाउन सकेनौं

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षसम्म केपी ओलीलाई तह लगाउन नसकेकोमा आत्मालोचना गरेका छन् ।

पार्टीद्वारा राजधानीमा आयोजित प्रदर्शनपछिको सभामा बोल्दै उनले राजा महाराजालाई फाले पनि ओलीविरुद्ध उदाररुपमा प्रस्तुत हुनु आफूहरुको कमजोरी भएको बताए ।

प्रचण्डले भने, ‘हामीले जनयुद्ध र जनआन्दोलनमार्फत गौरवपूर्ण परिवर्तन हासिल गरेका थियौं । राजा महाराजाको श्रीपेच झिकेर लात्तले हान्न सक्छन् भन्ने प्रमाणित गरेका थियौं । तर देशलाई प्रगतितर्फ लैजाने सपना तीन वर्षमा पुुरा गर्न सकेनौं ।’

‘मैले सोचेको थिएँ पार्टी एकतापछि र दुई तिहाई ल्याएपछि घोषणापत्रमा भनेजस्तै सबै क्षेत्रमा न्यायको नयाँ युग सुरु हुनेछ । सुशासन र पारदर्शीताको नयाँ युग सुरु हुनेछ । सबै उत्पीडितले राहत पाउनेछन् । हामीले घोषणापत्र जस्तै गर्न नखोजेको पनि होइन । तर सुरुदेखि अभाष भएको थियो, केपीजीले सहमति गर्ने तर कार्यान्वयन एउटा पनि नगर्ने हुन् कि भन्ने’ उनले भने, ‘सत्ता प्राप्तपछि सहमतिअनुसार एउटा पनि काम नगर्ने लक्षण देखिएको थियो । हामीले त्यसका विरुद्ध बहस गरेका थियाै । आज के भन्न चाहन्छु भने हामीले यो तीन वर्षमा केपीलाई तह लगाउन सकेनौं । केपीलाई सम्झाई–बुझाई गरेर उदारतापूर्व उहाँका कतिपय कुरा मान्दा देश अगाडि जाने हो कि भनेर सोच्यौं । त्यो तरिकाले केपी ओली प्रवृत्तिलाई ठिक गर्न सकिने रहेनछ ।’

उनले थपे, ‘सुरुदेखि केपीको गलत प्रवृत्तिका विरुद्ध संघर्ष गर्नुपथ्र्यो, सकिएन । म आज आत्मालोचित हुन चाहन्छु । आज पार्टीभित्रका सहमति मात्रै होइन, देशको संविधान र लोकतान्त्रिक गणतन्त्रै नमान्ने काम भयो । अब केपी ओलीलाई मात्रै दोष दिएर चोखै हुँदैनौं हामी । अब म जनतालाई साक्षी राखेर प्रतिज्ञा गर्छु कि अब केपी प्रवृत्तिप्रति उदार भएर भित्रभित्र संघर्ष गर्ने तर, प्रवृत्तिलाई अगाडि बढ्न दिने भुल गर्ने छैनौं । त्यसो गरेर फाइदा हुँदो रहेनछ । त्यतिबेलै संघर्ष गरेको भए बेलैमा नांगिन्थे कि भन्ने फर्केर हेर्दा लाग्छ । तर हाम्रो कमजोरीलाई, उदारतालाई कमजोरी ठान्ने जुन दुस्साहस उनले गरे, त्यसले हामी तपाईहरुको अगाडि आउन वाध्य भयौं ।’

ओलीले अब शान्ति प्रक्रिया पनि विघटन गर्न खोजेको दावीसमेत प्रचण्डले गरे ।  ‘खबरदार केपी ओली, जनताले अब त्यसका लागि छुट दिने छैनन् ।’ उनले भने ।

आजको जनसागर निर्वाचन आयोग र अदालतले राम्रै देखेको उनले टिप्पणी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर