भोजपुरमा प्रचण्ड-माधव पक्ष हाबी, को नेता कता लागे ? – Nepal Press
नेकपा विभाजन

भोजपुरमा प्रचण्ड-माधव पक्ष हाबी, को नेता कता लागे ?

शेरधन राईको प्रभाव किन कमजोर ?

काठमाडौं । नेकपा विभाजनसँगै भोजपुरका नेता तथा जनप्रतिनिधिले आ-आफ्नो धार स्पष्ट पारेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको गृहजिल्ला भोजपुरमा केन्द्रमा नेतृत्वबीच ध्रुवीकरणको शुरूदेखिनै फुटको बाछिटा पुगेको थियो । स्थानीय तह, विघटित प्रतिनिधिसभाका जनप्रतिनिधि र जिल्लाका केन्द्रीय अधिकांश नेता प्रचण्ड-माधव पक्षको नेकपामा उभिएका छन् ।

नेकपा विभाजनपछि दुई कित्तामा बाँडिएका नेता कार्यकर्ताहरू आफ्नो पक्षमा कार्यकर्ता तान्‍न दिनहुँ दौडधुपमा व्यस्त देखिन्छन् । गाउँ-गाउँसम्म प्रचण्ड-माधव पक्षले भेला बैठकलाई भने तीब्र पारेको छ । ओली पक्षका नेताहरू पनि आफूलाई बलियो पार्न फोनकल र व्यक्तिगत भेटघाटमा लागेका छन् । केही कार्यकर्ता र मतदाता भने पार्टीको आधिकारिकता र चुनाव चिन्हको निर्वाचन आयोगले दिने निर्णयलाई कुरेर बसेका छन् । तल्लो तहसम्मका पूर्व माओवादी एक ढिक्का देखिएका छन् ।

जनप्रतिनिधि को कता ?

एक निर्वाचन क्षेत्रमा रहेको भोजपुरमा विघटित प्रतिनिधि सभा सदस्य सुदन किराँती प्रचण्ड-माधव पक्षमा छन् । उनी पूर्वमाओवादीका हुन् । भोजपुरबाट प्रदेशसभामा प्रतिनिधित्व गरेका राजेन्द्रकुमार राई प्रचण्ड-माधव पक्षमा उभिएका छन् । प्रदेश ख बाट विजयी शेरधन राई ओली पक्षमा छन् । शेरधन प्रदेश १ का मुख्यमन्त्री छन् ।

स्थानीय तहका प्रतिनिधि को कता ?

भोजपुरमा २ नगरपालिकासहित ९ स्थानीय तह छन् । तीमध्ये अरुण गाउँपालिका प्रमुख र उपप्रमुख दुवै नेपाली कांग्रेसले जितेको थियो । भोजपुर र षडानन्द नगरपालिका साथै साल्पासिलिछो गाउँपालिका प्रमुखमा पनि कांग्रेसनै विजयी भएको थियो भने उपप्रमुख पूर्वएमालेले जितेको थियो ।

टेम्केमैयुङ गाउँपालिका, हतुवागढी गाउँपालिकाका दुवै पदमा पूर्वएमाले विजयी भएको थियो । रामप्रसादराई र पौवादुङ्‍मा गाउँपालिकामा प्रमुख पूर्वएमाले र उपप्रमुख पूर्वमाओवादीले जितेको थियो । आमचोक गाउँपालिका प्रमुख र उपप्रमुख दुवै पूर्वमाओवादी विजयी भएका थिए ।

हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राई, रामप्रसादराई गाउँपालिका अध्यक्ष विजय राईले ओली पक्षमा कित्ता क्लियर गरेका छन् । प्रचण्ड-माधव पक्षमा उभिएका स्थानीय तह प्रमुखहरूमा आमचोक गाउँपालिकाका अशोक राई र टेम्केमैयुङ गाउँपालिकाका ध्रुवराज राई छन् ।

नेकपाले जितेका स्थानीयतहका उपप्रमुखहरू सबै प्रचण्ड-नेपाल पक्षमा छन् । भोजपुर नगरपालिका उपप्रमुख ममिता राई, षडानन्द नगरपालिकाकी मेरिका राई, आमचोक गाउँपालिका उपप्रमुख सीता राई, रामप्रसादराई गाउँपालिका उपप्रमुख सम्झना राई, टेम्केमैयुङकी ईन्द्रावती राई र साल्पासिलिछो गाउँपालिका उपप्रमुख धनमाया राई प्रचण्ड-नेपाल पक्षमा लागेका छन् ।

केन्द्रीय नेता यसरी भए विभाजित

विभाजनअघि नेकपामा भोजपुरका धेरै नेता केन्द्रीय सदस्य थिए । अजम्बर राई काङमाङ, जयन्तीदेवी राई, पदमबहादुर राई, राजेन्द्रकुमार राई, सुदन किराँती, शेरधन राई, हरिबहादुर राई केन्द्रीय सदस्य थिए । शेरधनबाहेक सबैले ओलीलाई छाडेका छन् ।

पूर्वएमालेका नेता रहेका अजम्बर संघीय समाजवादी हुँदै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेर एकतापछि नेकपा केन्द्रीय सदस्य बनेका थिए । पूर्वराज्यमन्त्रीसमेत भएका पदमबहादुर विप्लव पक्षबाट पछिल्लो समय नेकपामा प्रवेश गरी केन्द्रीय सदस्य भएका हुन् ।

भोजपुर घर भई राजनीतिमा सक्रिय घनेन्द्र बस्नेत, सावित्री काफ्लेलगायत पनि दाहाल-नेपाल पक्षमा आएका छन् ।

ओली पक्षले भने भोजपुरका कृपासुर शेर्पा, प्रेमकुमार राई, भरत तामाङ, सिर्जना राई, सुरेन्द्र उदास, धनहर्क राई, देविराम चौलागाईं, विष्णुकुकार राई र सविना राईलाई अधिवेशन आयोजक कमिटीको केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

जिल्ला कमिटीको अवस्था

नेकपा भोजपुरको तत्कालीन जिल्ला कमिटीमा प्रचण्ड-माधव पक्षको वर्चश्‍व छ । १४१ सदस्य जिल्ला कमिटीमा आफ्नो पक्षमा १११ सदस्य रहेको उनीहरूको दाबी छ । ओली पक्षका एक नेता जिल्ला कमिटीमा आफ्नो कमजोर उपस्थिति स्वीकारे पनि उनीहरूले दाबी गरेजस्तो नभई ५० जनाभन्दा बढी आफूहरूको कित्तामा रहेको बताउँछन् ।

कार्यालमा रहेका पूर्वपदाधिकारीहरूमध्ये शरणकुमार राई, शैलेन्द्र भुजेल, वीरजंग राई, विमल खड्का प्रचण्ड-माधव पक्षमा छन् । जिल्ला अध्यक्ष प्रेमकुमार राई केन्द्रीय सदस्य मनोनीत भएपछि जिल्ला नेतृत्वमा मकर खड्काको चर्चा छ । त्यस्तै प्रचण्ड-माधव पक्षको अध्यक्षमा शरणकुमार राईको सम्भावना बलियो बनेको छ

जनवर्गीय संगठन

जनवर्गीय संगठनमा पनि ओली पक्ष कमजोर देखिएको छ । राष्ट्रिय युवा संघ नेपाल भोजपुरका संयोजक सन्दीप राई र सह-संयोजक करण मुक्मेन राई प्रचण्ड–नेपाल पक्षमा छन् । अनेरास्ववियू संयोजकमा धुव्रराज राई र सह-संयोजक नविन राई पनि सोही पक्षमा छन् । तत्कालीन जनवर्गीय संगठनमा माधव नेपालनिकटको वर्चश्‍व थियो ।

शेरधन राईको प्रभाव कमजोर !

एमाले-माले फुटदेखि नै नचलमलाएका शेरधन राईले सत्तामा प्रभुत्व जमाएपनि जिल्लाका नेता/कार्यकर्ताहरूलाई एक ढिक्का राख्न नसकेको टिप्पणी बढ्न थालेको छ । उनी २०५६ को संसदीय चुनावमा देशभरबाट निर्वाचितमध्ये सबैभन्दा कम उमेरका सांसद हुन् । सञ्‍चारमन्त्री भएका राई अहिले मुख्यमन्त्री छन् ।

उनको जन्मथलो आमचोक गाउँपालिका पनि स्थानीय तह निर्वाचनमा प्रमुख उपप्रमुख दुवै पूर्वमाओवादीले जिते । अहिले दुवैजनाले दाहाल-नेपाल पक्षलाई साथ दिएका छन् ।

एक समय उनलाई साथ दिएका जिल्लाका नेताहरू शेरधन साँघुरो घेरामा काम गर्न रुचाउने भएकोले यो अवस्था आएको अनुभव सुनाउँछन् । ‘उहाँले आफूलाई आवश्यक पर्दासम्म प्रयोग गर्नुहु्न्छ । अवसर आउँने बेलामा छाड्नुहुन्छ । अनि ठाउँमा पुगेपछि कार्यकर्तासँगै कन्भर्सेसन नै हुन पाउँदैन’, एक नेताको गुनासो छ ।

तर, माथिल्ला नेताहरू अर्कोपट्टी लागे भन्दैमा यो अनुमान गर्न हतार हुने ओलीपक्षीय जिल्ला नेता मकर खड्का बताउँछन् । ‘सतही हेर्दा भ्रम देखिन्छ । तर कार्यकर्ता र जनतामाझ शेरधन नै लोकप्रिय हुनुहुन्छ । कुनै विचलन छैन’, खड्काले नेपालप्रेससँग भने ।


प्रतिक्रिया

2 thoughts on “भोजपुरमा प्रचण्ड-माधव पक्ष हाबी, को नेता कता लागे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर