ब्राउनसुगरको ‘हब’ बन्दै पूर्व , ६ महिनामा ११ सय ६४ ग्राम बरामद – Nepal Press

ब्राउनसुगरको ‘हब’ बन्दै पूर्व , ६ महिनामा ११ सय ६४ ग्राम बरामद

विराटनगर । झापाको दमकमा बिहीबार ब्राउनसुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गर्‍यो ।

इलाका प्रहरी कार्यालय दमकको टोलीले दमक नगरपालिका-८ सेतुमारी रोडबाट मोरङ रतुवामाई नगरपालिका-२ का २१ वर्षीय कनैया गनगाई र रतुमाईकै २० वर्षीय राजकुमार गनगाईलाई पक्राउ गरेको हो । शरीरको विभिन्‍न भागमा लुकाएर राखेको अवस्थामा ३६ ग्राम ब्राउनसुगरसहित उनीहरू पक्राउ परेको झापा प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए ।

पूर्वको सीमावर्ती भारतीय बजारबाट पछिल्लो समय लागुऔषध भित्र्याउने गिरोह सक्रिय हुन थालेको छ । सिमावर्ती जिल्लाहरू सुनसरी, मोरङ र झापाको नाकाबाट सबैभन्दा बढी ‘ब्राउन सुगर’ भित्रिने गरेको प्रहरीले जनाएको छ । सुईबाट लिन सकिने र खान मिल्ने लागुऔषधहरु बढी भित्र्याउने गिरोहले अहिले ब्राउनसुगर भित्र्याउन थालेको छ । नेपाल प्रहरीको तथ्याङकले पछिल्लोसमय ओसारपसारकर्ता र सेवनकर्ताहरूले ब्राउन सुगर नै बढी मात्रामा ल्याउने गरेका छन् ।

यसको कारोबारी र प्रयोगकर्ता दुवै बढेको छ । नाकासँग जोडिएका भारतीय बजार विहार र पश्चिम बंगालका स्थानीय बजारहरूमा नेपालमा प्रतिबन्धित लागुऔषध सजिलै पाइने गरेकाले त्यसको कारोबार नेपालमा समेत बढेको हो । नेपाली कारोबारीहरूले ती ठाउँलाई कारोबारको सुरक्षित र भरपर्दो थलो बनाएका छन् । पूर्वका मात्रै नभई त्यहाँ नेपालभरीका कारोबारीहरू पुग्ने गरेका छन् । भारतको बिहार र पश्चिम बंगालका जोगबनी, अररिया, पानीट्यांकीलगायतका बजारमा लागुपदार्थ किनेर ल्याउने र नेपाली बजारमा त्यहाँको मूल्यभन्दा चौगुणा बढीमा बेच्छन् ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक विपिन रेग्मी लागुऔषधमा सक्रिय गिरोहले पछिल्ला दिनमा ब्राउन सुगरको कारोबार बढाएको बताउँछन् । ‘सीमापारका बजारमा सहजरूपमा ब्राउनसुगर पाइने गरेको छ,’ रेग्मीले भने, नेपाली प्रयोगकर्तासँगै कारोबारीहरू भारतका बजारसम्म पुगेर प्रतिबन्धित लागुपदार्थहरू भित्र्याउँने क्रम बढ्दो छ ।’

प्रहरीका अनुसार ओसारपसारमा संलग्नहरू काठमाडौं, पोखरा, धरानलगायत शहरका बढी छन् । धेरै फाइदाको लोभमा उनीहरू जहाज चढेरै कारोबारमा लागेका छन् । कुलतमा फसिसकेकाहरूले जति पनि मूल्य तिर्न तयार हुने भएकाले कारोबारीहरू खर्च र जोखिमको परवाह नगरी भारतीय बजारमा ब्राउन सुगर लिन पुग्ने गरेको अनुसन्धानमा संलग्‍न प्रहरी अधिकारी बताउँछन् ।

‘इन्जेक्सन, ट्याब्लेटहरु बोक्दा भारी हुने, छामछुम गर्दा बज्ने, कराउने हुन्छ । त्यसैले ब्राउन सुगर धुलो हुने भएकाले बज्ने, कराउने केही भएकाले ल्याउन सुरक्षित हुने हुदा त्यसैले यसको कारोबार बढेको पाएका छौं’, ती अधिकारीले भने ।

यस्‍तो छ ब्राउनसुगरको ग्राफ

प्रहरीको तथ्यांकअनुसार झापामा सबैभन्दा बढी ब्राउनसुगरको कारोबार हुने गरेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि ६ महिनामा १३ जिल्लामा १५५ ब्राउनसुगरका कारोबारी एवं सेवनकर्ता पक्राउ परेका छन् । ६ महिलासहित १११ जना कारोबारी रहेका छन् ।

यो अवधिमा प्रहरीले १ हजार १६४ ग्राम ब्राउन सुगर बरामद गरेको छ । झापाबाट मात्र ८२१ ग्राम ब्राउनसुगर भित्र्याउने ९१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यो तथ्यांकलाई हेर्दा अघिल्लो ६ महिनाभन्दा ब्राउन सुगर कारोबारीको संख्या र मात्रा निकै बढेको देखिन्छ ।

गएको आर्थिक वर्ष २०७६ माघदेखि ७७ असारसम्मको ६ महिनामा ३ महिलासहित १२३ जना ब्राउनसुगर कारोबारी र प्रयोगकर्ता पक्राउ परेका थिए । उनीहरूबाट ८७२ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । प्रहरीका अनुसार ब्राउन सुगर कोरोबारमा भारतीय नागरिकको पनि संलग्नता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर