शिव श्रेष्ठ र करिश्माका छोरा-छोरीलाई डेब्यू फिल्ममै धक्का – Nepal Press

शिव श्रेष्ठ र करिश्माका छोरा-छोरीलाई डेब्यू फिल्ममै धक्का

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा लामो समय राज गरेकी नायिका करिश्मा मानन्धर । अहिले पनि उनको चर्चा अरु जल्दाबल्दा अभिनेत्रीको तुलनामा कम छैन । उनै करिश्माकी छोरी कविताले पनि चलचित्रमा करिअर सुरु गरेकी छन् ।

कविताले अभिनय गरेको पहिलो चलचित्र ‘एउटा यस्तो प्रेम कथा’ हालै रिलिज भयो । कोभिडका कारण लामो समय बन्द रहेका हलहरु खुलेपछि नयाँ रिलिज भएको चलचित्र यही थियो । तर, यसले दर्शक तान्न सकेन । चलचित्र फ्लप भएको छ । तसर्थ करिश्मापुत्रीको डेब्यू सुखद भएन ।

करिश्माकै समकालीन नायक शिव श्रेष्ठले निर्माण गरेको चलचित्र फ्लप हुनुमा कारण धेरै छन् । मुख्य त अहिलेको परिस्थिति नै हो । हलहरु खुले पनि कोरोनाको त्राश सकिएको छैन । दर्शकहरु हलमा जान अझै डराइरहेका छन् । तसर्थ यो चलचित्र जोखिम मोलेर नै रिलिज गरिएको थियो । दर्शक नआउने खतराकै बीच रिलिज गरिएको चलचित्रले कुनै चमत्कार गर्न सकेन ।

मल्टिस्टारर चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयूष्मान देशराज जोशी, वर्षा राउत, सञ्जोग कोइराला, मिथिला शर्मा लगायतका दिग्गज कलकारको भिड थियो । कविताको भूमिका पनि सामान्य थियो । त्यस हिसाबले चलचित्र फ्लप हुनुमा उनी मुख्य भागिदार होइनन् । र पनि यसको ठूलो घाटा चाहिँ उनलाई भएको छ । पहिलो चलचित्र फ्लप भएपछि कुनै पनि नयाँ कलाकारलाई माथि उठ्न सकस हुन्छ ।

छोेरीको डेब्यू असफल भएपछि करिश्माले सामाजिक सञ्जालमा उनलाई सहानुभूति दर्शाएकी छन् । ‘एउटा यस्तो प्रेमकथा’ को गीत सेयर गर्दै फेसबुकमा उनले लेखेकी छन्, ‘अरुलाई दोष दिएर महत्वपूर्ण बनाउन चाहन्नँ, तर बच्चा त राम्रो थियो ।’

शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले पनि यही चलचित्रबाट डेब्यू गरेका थिए । चलचित्रमा शक्ति र कविताको जोडी छ । कवितालाई जस्तै शक्तिलार्ई पनि पहिलो फिल्मबाट निराशा हात परेको छ ।

अब आगामी दिनमा उनीहरू दुवैले चलचित्र क्षेत्रमा स्थापित हुन निकै पापड बेल्नुपर्ने निश्चित छ । स्टार किड हुँदा चलचित्रमा इन्ट्री गर्न त सहज हुन्छ, तर यहाँ स्थापित बन्न चाहिँ आफैंले क्षमता देखाउनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *