भ्याक्सिन शुरुमा ‘फ्रन्टलाइनर’लाई होइन, ज्येष्ठ नागरिक र दीर्घ रोगीलाई दिउँ – Nepal Press

भ्याक्सिन शुरुमा ‘फ्रन्टलाइनर’लाई होइन, ज्येष्ठ नागरिक र दीर्घ रोगीलाई दिउँ

काठमाडाैं । भारतबाट नेपालमा कोरोनाविरुद्धको खोप कोभिसिल्ड बिहीबार भित्रियो । कोरोनाविरुद्धको लडाईमा यो एउटा महत्वपूर्ण चरण हो । तथापि यस खोपको प्रभावकारिता बारे अहिले नै भन्न सकिने अवस्था छैन ।

समग्रमा कोभिसिल्डले ७० प्रतिशत काम गर्ने भनिएको छ । खोप ‘हाफ डोज’ वा ‘लो डोज’ दिँदा ९० प्रतिशत र दुवै डोज लगाउँदा ६२ प्रतिशत काम गर्ने पनि भनिएको छ । बेलायत, साउथ एसिया, अफ्रिका ब्राजिल लगायतका देशहरूले प्रयोग गरेको आधारमा यसको प्रभावकारिता विश्लेषण गरिएको हो ।

भारतले यसको प्रभावकारिताबारे कुनै तथ्यांक सार्वजनिक गरेको छैन । तर, उनीहरूसँग तथ्यांक छ । हामीले यसको यसको प्रभावकारिताबारे अहिले प्रारम्भिक तथ्यांकलाई नै आधार मान्नुपर्छ । यद्यपि, खोपले काम गर्छ कि गर्दैन भनिहाल्न त्यति सहज छैन । खोपको प्रभावकारिता खस्कने हो कि भन्ने आशंका पनि छ । त्यसैले यसको लागि अनुसन्धान जारी हुनुपर्छ ।

एसजिन भाइरसको वरिपरि गुच्चाजस्तो चुच्चो निस्किएको हुन्छ, त्यसलाई स्पाइक भनिन्छ । फाइजर अक्सफोर्ड लगायतका कम्पनीले स्पाइक जिनलाई नै लक्षित गरेर भ्याक्सिनहरू बनाएका हुन्छन् । जुन भ्याक्सिन एस जीन अथवा स्पाइक जिनलाई टार्गेट बनाएर विकास गरिएका छन् त्यो स्पाइक जिनमा अत्यधिक मात्रामा परिवर्तन हुँदै गयो भने एउटा चुनौती रहन्छ ।

भाइरसमा पछि गएर निरन्तर देखिने स्वरुप परिवर्तन नै हाम्रो लागि चुनौती हो । यसकारण प्रभावकारिताको अंक खस्कन सक्ने सम्भावना हुन्छ । स्पाइक जीनलाई लक्षित गरेर बनाइएका भ्याक्सिनहरू भाइरस म्युटेसन भयो भने भने आगामी दिनमा चुनौती हुन्छ ।

यतिबेला भ्याक्सिनबारे नकारात्मक टिप्पणीहरू पनि भइरहेका छन् । यो स्वभाविक हो । कसैलाई केही भइहाल्छ कि भन्ने त्रास त छ नै । लाखौंमा तथा हजारौंमा एक जनालाई यस्तो हुनसक्छ । हालसम्म त्यस्तो नकारात्मक प्रभाव भ्याक्सिनको परेको छैन । तर, नपर्ला भन्न सकिन्न ।

अहिलेलाई खुसी हुनुपर्ने कुरा चाहिँ भ्याक्सिन आएको छ । त्यो नै राम्रो कुरा हो । भ्याक्सिन नआएमा भाइरसले अझै कडा समस्या निम्त्याउन सक्थ्यो । त्यसकारण लक्षित समूहलाई बचाउने उपाय भ्याक्सिन नै हो ।

ट्रायल नै नभएका कारण सुत्केरी महिला, नियमित औषधि लिइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएका लगायत बिरामीलाई खोप नदिने भन्ने कुरा छ । यसमा धेरै कुरा स्पष्ट हुँदै जान्छ ।

भ्याक्सिन वितरणबारे सुरुमा फ्रन्टलानरलाई दिनुपर्छ भन्ने कुरा छ । तर, तथ्यांक हेर्ने हो भने कोरोनाबाट सबैभन्दा बढी जेष्ठ नागरिक र दीर्घरोगी मरेका छन् । प्राथमिकतामा राखिएको फ्रन्टलाइनर बरु सजग नै छन् । मेरो चाहना जेष्ठ नागरिक र दीर्घ रोगीलाई पहिलो चरणमा खोप दिऊँ भन्ने हो ।

(कुराकानीमा आधारित)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर