प्रचण्डले ‘नि:सन्तान’ भनेपछि ओलीको प्रत्याक्रमण – Nepal Press

प्रचण्डले ‘नि:सन्तान’ भनेपछि ओलीको प्रत्याक्रमण

काठमाडौं । नेकपा विभाजनपछि दुई पक्षका नेताहरू एक-अर्कालाई गालीगलौजको प्रतिस्पर्धामा छन् । अब त व्यक्तिगत स्तरमै ओर्लेर आरोप–प्रत्यारोप सुरु भएको छ, त्यो पनि, दुई प्रमुख नेताबीच ।

केही दिनअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक अन्तरवार्तामा प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत जीवनमाथि लिएर कटाक्ष गरे । ओली सन्तानविहीन भएकाले कसैलाई हेर्नु नपरेको तर, आफ्ना सन्तान भएकाले हेर्नुपर्ने उनको घुमाउरो आशय थियो ।

ऋषि धमलाले उनलाई सोधेका थिए, ‘तपाईं छोरीका लागि परिवारका लागि बुहारीका लागि देशका लागि राजनीति गर्ने एजेन्डै छैन भन्ने आरोप छ नि ?

जवाफमा प्रचण्डले बोलेका शब्दहरु यस्ता थिएः

‘म निसन्तान भइन त मेरो दोष हो र ? केपीजी नि:सन्तान हुनुभयो, उहाँले छोराछोरी भन्नु परेन । म निसन्तान भइनँ, मेरा छोराछोरी छन् नाति–नातिना छन्, ज्वाईं छन् । त्यो मेरो दोष हो र ? अनि, मेरा छोराछोरी भएका हुनाले नै सुविधा दिएको छ त कहिँ ? हिजो विद्रोहमा मर्न हिँडेका मान्छे होइनन् ? चाहे मेरा छोरी भन्नुस, बुहारी भन्नुस सबै लडाईंमा थिएनन् ? जेल, नेल, यातना भोगेर आएका होइनन् ? क्रान्तिमा होमिएर त्याग–बलिदानका कीर्तिमान कायम गरेका छन्, त्यो मेरो देश हो ? उनीहरु चुनावमा गएर जिते मेरो दोष हो ?’

प्रचण्डले यति बोलेपछि ओलीबाट जवाफ नआउने कुरै भएन । फेसबुकमा आएका फेक न्यूजमा त टिप्पणी गर्ने ओलीले प्रचण्डलाई जवाफ दिन के बाँकी राख्थे । बिहीबार प्रेस संगठनको भेलामा ओलीको जवाफी फायरिङ निस्कियो ।

अब पढ्नुस ओलीले हिजो प्रचण्डलाई दिएको जवाफः

‘केपी ओलीका छोराछोरी छैनन्, मेरा त छोरीहरु छन्, ज्वाइँहरु छन्, हेर्नैपपर्‍यो । बनाउनैपर्‍यो । छोरी भएपछि मेयर बनाउनै पर्‍यो । भोटले पुगेन भने मतपत्र च्यात्नैपर्‍यो । ज्वाइँ छन्, के गर्ने अब ? घर किन्दिनै पर्‍यो, घडेरी किन्दिनै पर्‍यो । गाडी किन्दिनैपर्‍यो । पद, ओहोदा दिनैपर्‍यो । केपी ओलीका छैनन्, कल्लाई देओस्, मेरा त छन्, दिन्छु ! गज्जब हो, बहादुर हो । बाबु त यस्तो होस् ! ससुरो त यस्तो होस् ! गज्जब हो !

त्यसपछि ओलीले थपे :

‘एउटा कुरो म उहाँलाई सम्झाउँछु । मलाई त सञ्चै छ । यो देशका सबै केटाकेटीलाई म आफ्नै केटाकेटी ठान्छु । मेरा आफ्नै केटाकेटीका लागि मलाई केही गर्नु छैन, त्यसमा मलाई न गौरब, न हर्ष, न विस्मात्, केही पनि छैन । तर, म उहाँलाई भन्न चाहन्छु, उहाँलाई त्यो ठाउँमा पुर्‍याउने योद्धाहरुका छोराछोरी छन् कि छैनन् ? ज्वाइँहरु छन् कि छैनन् ? आफन्त छन् कि छैनन् ? ती योद्धाहरु छन् कि छैनन् ? लड्ने बेलामा, ज्यान दिने बेलामा योद्धा चाहियो । अरुका छोराछोरी चाहियो । आफ्ना छोराछोरी विदेशमा राखेर पढाउने, अनि तर मार्ने बेलामा मेरा त छोराछोरी छन्, के गर्ने ?

अरुका पनि छोराछोरी हुन् । अरुका छोराछोरीको पनि ज्यान हो । अरुका छोराछोरीका पनि हातखुट्टा हुन्, टाउका हुन् । त्यो चाहिँ काठको बनाएको हो ? भाँचे पनि हुन्छ ? फुटाए पनि हुन्छ ? जे गरे पनि हुन्छ ? अरुका छोराछोरी के खेलाउने पुतली हुन् ? पसलमा बेच्न राखेका पुतली ? त्यति पनि भाऊ छैन जनताका छोराछोरीको ? तिनको हालत के छ ? मेरा त छोराछोरी छन्, हेर्नुपर्छ अरे ! अरु हेर्नुपर्छ कि पर्दैन ? देश बनाउन भनेर जसलाई होमियो, तिनलाई हेर्नुपर्छ कि पर्दैन ?’

यति भनिसकेर ओलीले आफूले कसैसँग दन्तबझान गर्न नचाहने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर