चिसो बढेपछि रुपन्देही-कपिलवस्तुका विद्यालय ३ दिन बन्द – Nepal Press

चिसो बढेपछि रुपन्देही-कपिलवस्तुका विद्यालय ३ दिन बन्द

रुपन्देही । चिसो अत्याधिक बढेपछि रुपन्देही र कपिलवस्तु जिल्लामा ३ दिन विद्यालय बन्दको निर्णय गरिएको छ । मौसममा आएको परिर्वतनका कारण चिसो बढेको कारण कोभिड लगाायत जनस्वास्थ्यमा प्रभाव पर्ने बताउँदै बन्द गरिएको भनिएको छ ।

बुटवल उपमहानगरपलिकाले एक सूचना जारी गर्दै नगरपालिकाभित्रका विद्यालय ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ । उपमहानगरले बिहीबार विज्ञप्ती जारी गर्दै माघ ९ र माघ ११ गते बिदा हुने र सो बिदा स्थानीय बिदाबाट कटौती हुने जनाएको हो । विज्ञप्तीमा भनिएको छ, ‘केही दिनयता मौसममा परिवर्तन भएका कारण अत्याधिक चिसो बढेको हुँदा कोभिड र विद्यार्थीहरुको स्वाथ्यलाई मध्यनजर गर्दै बिदा दिइएको छ ।’

उता कपिलबस्तु नगरपालिकाले शीतलहरका कारण जाडो बढेपछि पठनपाठनमा समस्या आएको भन्दै माघ ८ देखि माघ १० सम्मका लागि नगरपालिकामा रहेको सबै सरकारी र निजी विद्यालयहरु बन्द गर्न निर्देशन दिएको छ ।

नगर शिक्षा समितिले निर्णय गरेर ३ दिनका लागि जाडो बिदा दिइएको कपिलबस्तु नगरपालिका इकाईका उपसचिव हरिप्रसाद ज्ञवालीले बताए । जाडोले गर्दा तल्लो कक्षा अध्ययनरत बिद्यार्थीलाई बढी असर पर्ने गरेको छ ।

चिसो बढेपछि अभिभावकले आफ्नो बच्चालाई बिद्यालय पठाउन पनि छाडेका छन् । बिद्यार्थीको न्यून उपस्थितिले पठनपाठनसमेत प्रभावकारी हुन नसकेको शिक्षकहरु बताउँछन । नगरपालिकामा ६० बढी विद्यालयहरु छन् ।

मन्त्री भन्छन्– चिसोबाट बच्नुस्

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले चिसोबाट सावधानी अपनाउन अनुरोध गरेका छन् । उनले चिसोबाट बच्न न्यानो कपडा लगाउन, अनावश्यक रुपमा घरबाहिर नबस्न समेत आग्रह छन् । विहिबार एक अपिल जारी गर्दै मन्त्री बरालले चिसोले शरीरमा केही समस्या देखीए नजिकको स्वास्थ्य संस्थामा जान समेत भनेका छन् ।

सामाजिक विकास मन्त्री बरालले चिसो र शीतलहरबाट प्रभावित समुदायहरुलाई सहयोग वितरण भइरहेको जानकारी दिए । उनले अरु पनि जोखिमयुक्त समुदायको पहिचान गरी आवश्यक सहयोग गर्न सरकारी संयन्त्र तथा गैरसरकारी संस्थाहरुसँग समेत अपिल गरेका छन् ।

बिहीबार विहानदेखि परेको शीतलहर र अत्याधिक चिसोका कारण लुम्बिनी प्रदेशका तराई क्षेत्रको जनजीवन बढी प्रभावित बनेको छ ।

देशको पूर्वी र मध्य भूभागमा बंगलादेश र आसपासमा बनेको निम्न चापीय प्रणालीको प्रभावले तराईका जिल्लाहरुमा विहानैदेखि बाक्लो हुस्सु र शीतलहर देखापरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लुम्बिनी प्रदेशका रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङलगायत तराईका अन्य जिल्लाहरुमा विहानैदेखि बाक्लो हुुस्सु र चिसोका कारण जनजीवन प्रभावित बनेको हो ।

अपरान्हबाट यस क्षेत्रका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरोसंगै पानी पनि परेको अवस्था थियो । बाक्लो कुहिरो तथा पानीसँगैको शीतलहरले वजारमा चहलपहल पातलो भएको थियो भने सवारी साधन चलाउने क्रममा बत्तिको प्रयोग गर्नु परेको थियो ।

देशको उच्च हिमाली भुभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको साथै विभिन्न भूभागहरुमा आकाशमा बादल लागेसँगै राम्रोसँग घाम नलाग्दा दिउँसोको तापक्रममा गिरावट आउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर