पर्यटकको चाप बढ्यो, तारे होटलमा एकै वर्ष १५ अर्ब लगानी – Nepal Press
प्रदेश-१

पर्यटकको चाप बढ्यो, तारे होटलमा एकै वर्ष १५ अर्ब लगानी

विराटनगर । विश्‍वव्यापी महामारी बनेको कोभिड-१९ बाट थलिएको पर्यटन क्षेत्र क्रमश: लयमा फर्किन थालेको छ । संक्रमण दर घटेर जनजीवन सामान्यतर्फ फर्किएसँगै प्रदेश १ का पर्यटकीय गन्तव्यहरूमा आन्तरिक पर्यटकको चहलपहल बाक्लिएको छ ।

पर्यटन प्रवर्द्धन र विकासका लागि प्रदेश १ मा पहिचान गरिएका २८ वटै गन्तव्यहरुमा पछिल्लो समय आन्तरिक पर्यटकहरू आउने क्रम बढेको छ । सँगसँगै सुस्ताएको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्किएको छ भने व्यवसाय पनि फस्टाउन थालेका छन् । महामारीका कारण बन्द भएका मेची-कोशी करिडोरका पर्यटकीय क्षेत्रमा खुलेका होटलहरूमा पर्यटकको चहलपहलसँगै आर्थिक कारोबार पनि बढ्न थालेको छ ।

आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश १ का संयोजक भविस श्रेष्ठले कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको पर्यटन क्षेत्र क्रमश: सुधारको पाटोमा फर्किएको बताए ।

‘कोरोनाका कारण अन्तर्राष्‍ट्रिय नाका सबै बन्द रहेकाले बाह्य पर्यटक आउने सम्भावना रहँदैन’ श्रेष्ठले भने,‘यस्तो अवस्थामा अन्तरिक पर्यटक घुम्न निस्किने क्रममा बढोत्तरी हुनुलाई सुखद पक्ष मन्न सकिन्छ।’ जसका कारण लामो समयदेखि सुस्ताएको पर्यटन क्षेत्र तङ्ग्रिन मद्दत पुग्छ ।’

उनका अनुसार मंसिरदेखि भेडेटार, इलामको फिक्कल, कन्याम, कोशी टप्पुलगायतका गन्तब्यमा पर्यटकहरूको चहलपहल बढेको छ । दर्शनका लागि पुग्ने प्रसिद्ध धार्मिकस्थल ताप्लजुङको पाथिभारा, वसन्तपुर, संखुवासभाको गुफापोखरी, तीनजुरे-मिल्केलगायतका प्रदेशका महत्वपूर्ण पर्यटकस्थलमा पनि पर्यटकको चाप छ ।

काकडभिट्टा, विराटनगरको रानी, इलामको पशुपतिनगर र सुनसरीको कोशी ब्यारेज नाकाबाट भारतीय पर्यटक यस प्रदेशमा भित्रिन्छन् । लकडाउनअघि दैनिक ३ हजार हाराहारीमा भारतीय पर्यटक आउँथे । होटल व्यवसाय क्षेत्रमा मात्र ५० हजारभन्दा बढीले रोजगारी पाएका थिए ।

ताप्लेजुङको पाथिभारा देवी, खोटाङको हलेंसी महादेव, सुनसरीको बराह क्षेत्र धाम, सप्तरीको छिन्नमस्ता देवी, धरानको दन्तकाली र बुढासुब्बा, झापाको कन्काई देवीलगायतका धार्मिक स्थलहरू यस प्रदेशका पर्यटकीय आकर्षणका केन्द्र हुन् ।

तेह्रथुमको चिचिलिङ, संखुवासभाको सभापोखरीजस्ता धार्मिक एवं सांस्कृतिक विशेषता बोकेका ३० भन्दा बढी ताल र पोखरी छन् जसले छुट्टै विषेशता बोकेका छन् ।
पूर्व तराई क्षेत्रमा कोशी टप्पु रामसार क्षेत्रसँगै थुप्रै रामसार क्षेत्रहरु छन् । मोरङमा पनि बेलबारी बेतनाजस्ता सिमसार क्षेत्रहरु छन् । इलामको श्रीअन्तुदेखि धनकुटाको भेडेटार मुलघाटजस्ता रमणीय ठाउँहरु प्राकृतिकरुपमा पर्यटक तान्ने स्थल हुन् ।

नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएशन प्रदेश १ वरिष्ठ उपाध्यक्ष पुण्य भट्टराईले मेची करिडोरमा रहेको ताप्लेजुङको ठुलोफेदीदेखि इलामको कन्यामसँगै कोशी करिडोर क्षेत्र धनकुटाको भेडेडार, हिले, संखुवासभाका पर्यटकीय गन्तव्यहरूमा आन्तरिक पर्यटकहरुको चहल-पहल बढेको बताए ।

एशोसिएशनको तथ्यांकअनुसार पछिल्लो ४ महिनामात्र यहाँका गन्तव्यहरू १५ हजार बढी पर्यटकहरूले भ्रमण गरेका छन् ।

कारोबार पुरानै अवस्थामा फर्कँदै

संक्रमणको जोखिम कम हुँदै गएपछि व्यवसायीहरूले स्वास्थ्य सुरक्षासम्बन्धी सरकारको मापदण्डलाई पालना गरी होटल सञ्‍चालन गरेका छन् । सँगै होमस्टेहरूमा पनि पर्यटक भरिन थालेका छन् ।

भेडेटारमा आन्तरिकसँगै भारतबाट पनि ठूलो संख्यामा पर्यटक आउँछन् । तर, आन्तरिक पर्यटकको समेत घुइँचो लाग्ने भेडेटार ८ महिनायता सुनसान थियो । ‘भेडेटारमा दैनिक ५ हजार हाराहारी आन्तरिक र बाह्य पर्यटक आउँथे,’ होटल एशोशिएशन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राई भन्छन, ‘करिब आठ महिना पूरै सुनसान रहेको होटलहरूमा अहिले सामान्य सुधार आएको छ । अब भने केही आशा जनाएको छ।’

कोशीटप्पुमा पनि पर्यटकहरू बढ्न थालेका छन् । यहाँ हात्ती सफारी र अर्ना हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरू आउँछन् । ‘बीचमा ठप्प रहेको पर्यटक आउने क्रम अहिले बिदाको दिन दैनिक १ सयभन्दा बढी पुगेको छ, ‘होटल व्यवसायी सुभाष भुजेल भन्छन् ।

इलामको पर्यटकीय चहलपहल लकडाउनको बीचमा सुस्ताएको थियो । अहिले कन्याम पर्यटक बढ्न थालेका छन् । आजकाल श्रीअन्तुमा सूर्योदय हेर्न पुग्नेको आन्तरिक र बाह्य पर्यटकको पनि भीड लाग्ने होटल व्यवसायी हरी गुरुङले जानकारी दिए ।

होटल कन्याम हिल कटेजका सञ्चालक राज गिरी भारतले पूर्वी नेपालको सीमास्थित पशुपतिनगर नाका बन्द गरेपछि पर्यटक आवतजावत प्रभावित भए पनि कन्याममा चहलपलह बढेको बताउँछन् ।

होटल क्षेत्रमा लगानी बढ्दै

प्रदेशमा यस वर्ष नयाँ तारे होटलका लागि १५ अर्ब लगानी थपिएको थियो । पाँच वर्षको अन्तरालमा यस क्षेत्रमा २५ अर्ब लगानी भइसकेको छ । पहाडी जिल्लामा ४० भन्दा बढी पर्यटकमैत्री होटल सञ्चालन छन्। कोशी र मेची करिडोरमा खुलेका होटलहरूमा २०० सुविधा सम्पन्न रुम क्षमता छन् । पर्यटकको चाप बढ्दै जाँदा व्यवसायीहरू होटलमा लगानीतर्फ आकर्षित छन् ।

५ वर्षमा २ करोडभन्दा बढी लगानीमा होटल निर्माण भएको होटल व्यवसायी महासंघ मेचीका केन्द्रीय सदस्य एवं ताप्लेजुङका होटल व्यवसायी छिरिङ शेर्पाले बताए । शेर्पाका अनुसार राम्रा र सुविधा सम्पन्न होटलले अहिले आफ्नो लगानीको लाभ उठाउन थालिसकेका छन् ।

तराई र ठूला शहर मात्र नभएर पहाडी जिल्लामा पनि पछिल्लो समय होटल व्यवसायमा लगानी गर्ने क्रम ह्वातै बढेको छ । यसले पूर्वी पहाडी जिल्लाको आर्थिक गतिविधिमा टेवा पुर्‍याउँदै आएको उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष टंक दुलालले बताए । होटल व्यवसायलाई स्थानीय पर्यटन प्रवर्द्धनसँग जोडेर लान थालिएकाले स्थानीयस्तरमा आर्थिक उपार्जनको भरपर्दो स्रोत बन्ने क्रममा रहेको उनले बताए ।

उनले भने, ‘कोरोना कहरले बीचमा भित्रिन लागेको ५/७ अर्बको लगानी अनिश्चिततातर्फ धकेलिदिएको छ ।’

ताप्लेजुङ, इलाम र पाँचथरमा करिव २० वटा पर्यटकलक्षित होटल खुलेका छन् । त्यस्तै कोशी करिडोर क्षेत्रअन्तर्गत धनकुटा, तेह्रथुम, संखुवासभालगायतका जिल्लामा पनि होटलहरू थपिने क्रम बढ्दो छ । त्यसबाहेक हिमालीमार्ग सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङमा सुविधासम्पन्न होटलहरू छन् ।

कोशी करिडोरका कान्जिरोवा, याक, सुरवी, शीतल निवास, होटल लालीगुराँस, भेडेटार भ्यू, होटल मनशान्त, अरुण भ्याली, ग्रिन हेवनलगायतका होटलहरू चिरपरिचित छन् । त्यस्तै मेची करिडोरमा ग्रिन भ्यू, वेलकम, चियावारी कटेज, मेवा खोला रिसोर्ट, स्नोलियो पार्क, सरगम, सुमितजस्ता होटलहरू चलेका छन् । ३५ सयको हाराहारीमा रहेका होटलमध्ये ५०० जति स्टारतहका छन् ।

ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, सुनसरी, संखुवासभा र खोटाङलगायतका जिल्लाहरुमा मुलुककै पर्यटन व्यवसायका लागि पूर्वको हवका रुपमा लिन सकिने सम्भावना छ ।
पूर्वी नेपालका यिनै पर्यटकीय गन्तव्यलाई लक्षित गरेर होटल व्यवसायको राम्रो सम्भावना देखिएको छ ।

ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, सुनसरी, भोजपुर, संखुवासभा र खोटाङलगायतका जिल्लाहरुमा मुलुककै पर्यटन व्यवसायका लागि पूर्वको हवका रूपमा लिन सकिने सम्भावना छ ।

पूर्वी नेपालका यिनै पर्यटकीय गन्तव्यलाई लक्षित गरेर होटल व्यवसायको सम्भावना पनि उज्वल छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर