कहाँ जान्छ करोडौं किलो केराउ ? – Nepal Press
केराउ तस्करी

कहाँ जान्छ करोडौं किलो केराउ ?

काठमाडौं । राजश्व विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा करीब २१ करोड केजी केराउ विभिन्न देशबाट नेपाल भित्रिएको छ ।

कोरोनाका कारण लकडाउन भए पनि केराउ आयात भने रोकिएन । चालु आर्थिक वर्षको पाँच महिनामा २ कारोड ६१ लाख ३४ हजार ८५३ केजी केराउ नेपाल भित्रिएको हो। वर्सेनि करोडौ केजी केराउ नेपाल भित्रिए पनि कहाँ खपत हुन्छ ? सरकारसँग यकिन तथ्यांक छैन ।

तेस्रो मुलुकबाट ल्याइएको केराउ नेपालमा खपत हुनेभन्दा पनि अवैध रुपमा भारत निकासी हुने बताउँछन् रौतहट जिल्लाका डीएसपी भरत श्रेष्ठ । उनका अनुसार खुला सीमा भएका कारण केराउ अवैध रुपमा भारत निकासा भइरहेको फेला परेको उनले बताए ।

सीमामा प्रहरीले पटक–पटक अवैद्य रुपमा भारतर्फ लैजाँदै गरेको केराउ बरामद् गरेको छ । केही दिन अघिमात्र प्रहरीले रौतहटको नेपाल–भारत सीमा क्षेत्रमा एक ट्रक अवैद्य केराउ बरामद् गरी भन्सार कार्यालयमा बुझाएको थियो ।

तुलनात्मक रुपमा पछिल्लो समय केराउको अवैध निकासी कम भएको प्रहरीले बताएको छ । ‘अहिले ट्रकका ट्रक अवैध निकासी हुन दिइएको छैन’ डीएसपी श्रेष्ठले भने । सीमाको सबै क्षेत्रमा प्रहरी तैनाथ नभएका कारण निकासी भने नरोकिएको उनको भनाइ छ ।

भारतमा नेपाली बजारको भन्दा बढी मूल्यमा केराउ बिक्री हुने भएकाले व्यपारीले अवैध ढंगले भारत लैजाने गरेका छन् । आव २०७७÷०८७ क्यानडाबाट मात्र १४ करोड ७१ लाख केजी केराउ नेपाल भित्रिएको छ । त्यस्तै रुसलगायत अन्य देशबाट पनि केराउ भित्रिने गरेको छ ।

गत मंसिर महिनामा मात्र ६३ लाख ११ हजार ५४३ केजी केराउ नेपाल भित्रिएको छ । कोरोना माहामारीले गर्दा नेपालमा केराउको आयात पछिल्लो वर्षभन्दा केही कम भएको भन्सार विभागका प्रवक्ता शिशीर घिमिरेले बताए ।

नेपालमा केराउको आयात अत्यधिक भएपनि निकासी नियन्त्रणमा खासै पहल भएको छैन । कुनै पनि वस्तुको आयात देशको खपतभन्दा बढी देखिए अर्थ मन्त्रालयअन्तर्गतका निकायले नियन्त्रण गर्नुपर्छ । तर यसबारे अनुसन्धान मात्र भइरहेको बताउँछन् अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगाल ।

केराउको अवैध निकासी रोक्न खोज्दा तस्करी र प्रहरीबीच झडपसमेत हुने गरेको छ । गत कात्तिकमा कैलालीको जुगेडाबाट भारततर्फ अवैध रुपमा केराउ लैजाँदै गरेका तस्करलाई पक्राउ गर्न खोज्दा झडप भएको थियो । झडपमा दुई प्रहरीको मृत्यु भएको थियो । तर अचेल जुगेडाबाट केराउको चोरी–निकासी नभएको बताउँछन् कैलालीका प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा ।

एक साताअघि कैलालीको टीकापुरबाट भारततर्फ लैजाँदै गरेको २० बोरा अवैध केराउ प्रहरीले बरामद् गरेको पनि जबराले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर