गङ्गामायाको जीवन रक्षाका लागि संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह – Nepal Press

गङ्गामायाको जीवन रक्षाका लागि संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अनसनरत गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ ।

छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कानूनी कारवाहीको माग गर्दै लामो समयदेखि अनसनरत गङ्गामायाको स्वास्थ्य स्थितिका बारेमा निरन्तर अनुगमन गरिरहेको आयोगको बागमती प्रदेश कार्यालयले उनको जीवनरक्षा, स्वास्थ्य उपचार तथा उचित बसोबासको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वीर अस्पताललाई पत्राचार पनि गरिसकेको जनाएको छ ।

पछिल्लोपटक २०७७ पुस ६ गतेदेखि आमरण अनसनमा रहेका अधिकारीलाई ट्रमा सेन्टरको आकस्मिक कक्षमा राखिएको भए पनि उनको स्वास्थ अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको पाइएको आयोगका प्रवक्ता समेत रहेका सह–सचिव डा. टीकाराम पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए । गङ्गामाया अधिकारीको न्याय प्राप्तिको हक सुनिश्चित गर्दै जीवन रक्षा तथा उचित बसोबासको व्यवस्थापन गर्न, निजको जीवन रक्षाको लागि प्रभावकारी कदम चाल्न तथा यसअघि नेपाल सरकारले गरेका सम्झौताको पालना गर्न आयोगले सरकारसँग फेरी पनि आग्रह गरेको उनले बताए ।

आमरण अनसन जस्तो जोखिमयुक्त बाटो नरोज्न आयोगले अनसनरत गङ्गामाया अधिकारीलाई पनि आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर