श्रम सम्झौता भएको ४ महिना पछि इजरायलसँग कार्यान्वयन सम्झौता – Nepal Press

श्रम सम्झौता भएको ४ महिना पछि इजरायलसँग कार्यान्वयन सम्झौता

काठमाडौं । नेपाल सरकार र इजरायल सरकारविच श्रम सम्झौता भएको ४ महिनापछि नेपाली कामदार इजरायल पठाउने विषयले पुर्णता पाएको छ ।

नेपाल सरकार र इजरायल सरकारविच आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा श्रम सम्झौता भएको ४ महिना पछि कार्यान्वयन भएको हो । यो सँगै नेपाली कामदार वैदेशिक रोजगारीको शिललिशामा इजरायल पठाउने विषयले पुर्णता पाएको छ । नेपाल सरकार र इजरायल सरकारविच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो ।

श्रम सम्झौताको अभिन्न अंगका रुपमा रहेको कार्यान्वयन सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहत रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहाल र इजरायल सरकारको तर्फबाट नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर गर्दै नेपालका लागि इजरायलका राजदूत खनानले सम्झौता अनुसार नेपालबाट जाने कामदारको लागि कुनै विभेद नगरी इजरायलका नागरिक सरह सेवा सुविधा प्राप्त गर्ने व्यवस्था रहेको बताए । उनले नेपाल सरकारले छिट्टै प्रक्रिया सुरु गर्ने पनि विस्वास व्यक्त गरे ।

नेपाल सरकारको तर्फबाट हस्ताक्षरकर्ता विभागका महानिर्देशक दहालले सम्झौता अनुसार इजरायल जाने नेपाली कामदारको लागि एक आन्तरिक कार्यविधि तर्जुमा गरी छिट्टै प्रक्रिया थालनी गर्ने नेपाल प्रेसलाई जानकारी दिए । तर प्रक्रिया पुरा हुन केहि समय भने लाग्ने सक्ने उनले बताए । इजरायलका लागि नेपालका राजदूत डाक्टर अन्जान शाक्यले नेपाल–इजरायल श्रम सम्झौताले दुवै देश बीचको मित्रतामा थप टेवा पुग्ने विस्वास भर्जुअल माध्यमबाट व्यक्त गरे ।

कोरोनाको महामारीका बीचमा नेपलाी नागरिकलाई इजरायलमा रोजगारीको अवसर प्राप्त हुन लागेकोमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले खुसी व्यक्त गरे । इजरायलबाट नेपालले सीप तथा प्रविधि हस्तान्तरणमा उल्लेख्य उपलब्धी हाँसिल गरिरहेको र आगामी दिनमा कृषि लयागत रोजगारीका अन्य क्षेत्रमा समेत नेपाली नागरिकलाई रोजगारीको अवसर मिल्ने विस्वास व्यक्त गर्दै यस प्रक्रियामा संलग्न दुवै देशका राजदुत लगायत सम्बद्ध कर्मचारीलाई मन्त्री चौधरीले धन्यवाद व्यक्त गरेको मन्त्रालयका सह–सचिव एवम प्रवक्ता भरतमणि सुवेदीले बताए ।

सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीको सेवा, सुविधा, हित र सुरक्षालाई ध्यानमा राखेर विभिन्न मुलुकसंग द्विपक्षीय श्रम सम्झौता मार्फत नेपाली कामदार पठाउने नीति लिएको छ । त्यसै नीति अनुसार आज नेपाल सरकार र इजरायल सरकारकाविच नेपाली कामदार पठाउने विषयमा कार्यान्वयन सम्झौता भएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर