देउवा निवासमा जब उठ्यो गच्छदारको गुनासो र माधव नेपालको ‘कल’ प्रसंग – Nepal Press
बालुवाटार जग्गा प्रकरण

देउवा निवासमा जब उठ्यो गच्छदारको गुनासो र माधव नेपालको ‘कल’ प्रसंग

काठमाडौं । २०४८ सालपछि सत्ता राजनीतिमा सधैं चलायमान र शक्तिमा रहेका थोरै पात्रमा पर्छन् बिजयकुमार गच्छदार । तत्कालिन राजा ज्ञानेन्द्रले कुनै समयका उनी जस्तै शक्तिशाली कांग्रेस नेताहरु खुमबहादुर खड्का र चिरन्जिवी वाग्ले जस्तालाई भ्रष्टाचार मुद्दामा जेल हाल्दा पनि गच्छदार जोगिएर गणतन्त्रकालिन सत्ता समिकरणमा झन ठूला खेलाडी बनेर निस्किएका थिए ।

तर अहिले गच्छदार राजनीतिक जीवनकै कठिन र कमजोर घडीमा छन् । बालुवाटारको जग्गा प्रकरणमा अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएपछि सांसद पदमात्र गएको छैन, बाँकी राजनीतिक जीवन पनि धरापमा छ । उनले बालुवाटार प्रकरणबाट जोगिन प्रधानमन्त्री केपी ओलीदेखि आफ्नै सभापति शेरवहादुर देउवालाई नगुहारेका होइनन् ।

बुधबार विहान देउवा निवास बुढानिलकण्ठमा पनि यही विषयले प्रवेश पायो । बुधबार बिहान कांग्रेसका ‘पूर्वेली’ नेताहरु भेला भए । प्रदेश नम्बर एकमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावबारे राय लिन सभापति देउवाले गच्छदार सहित सो प्रदेशका नेताहरुलाई बोलाएका थिए ।

गम्भीर राजनीतिक विषयमाथिको छलफल भएपनि बैठकको सुरुवात उपसभापति बिजयकुमार गच्छदारको गुनासोबाट सुरु भयो । गच्छदार विघटित प्रतनिधिसभामा कांग्रेस संसदीय दलको उपनेता थिए । बालुवाटार जग्गा प्रकरणमा अख्तियारले मुद्धा चलाएपछि उनको संसदीय भूमिका ‘निलम्बित’ अवस्थामा रह्यो ।

यद्यपि कांग्रेस उपसभापतिका हैसियतले पार्टीका आन्तरिक राजनीतिका महत्वपूर्ण मञ्चहरुमा गच्छदार उभिने गरेका छन् । बुढानिलकण्ठ बैठकमा आफ्नो राजनीतिक क्रियाशीलता कम भएको सन्दर्भ दिदैं गच्छदारले धारणा राखे ।

‘मलाई षड्यन्त्रपूर्ण ढंगले मुद्धा चलाइयो । ममाथि अन्याय भइरहेको छ भनेर पार्टीभित्र बारम्बार भनेको छु । यही मुद्धाका कारण राजनीतिक गतिविधि पनि कम गरेको छु ।’, बैठकको सुरुमै गच्छदारले गुनासो गरे ।

बालुवाटार जग्गा प्रकरणमा आफूले कुनै गल्ती नगरेको दावी गर्दै आएका गच्छदारले राजनीतिक प्रतिशोध राखेर नेता सिध्याउने काम भइरहेको बताए । ‘पहिले मलाई सिध्याउन मुद्धा चलाइयो । अब सुन्दैछु माधव नेपाललाई पनि मुद्धा लाग्दैछ रे । यसबारेमा पनि साथीहरुको ध्यान जाओस्’, गच्छदारले भने ।

आफू र माधव नेपाल मात्रै नभएर प्रधानमन्त्री केपी ओलीले जोकोहीलाई प्रतिशोधको आधारमा मुद्धा चलाउन सक्ने गच्छदारको दावी थियो ।

‘मैले राजनीतिक रुपमा मलाई सिध्याउन मुद्धा चलाइँदैछ भनेर बारम्बार भनेकै हो । अब माधव नेपाल मात्रै होइन यसको श्रृखंला लामो छ । जसलाई पनि झूठो मुद्धा लगाउन सक्छ’, गच्छदारले भने ।

गच्छदारले अदालतबाट न्याय पाउनेमा आफू विश्वस्त रहेको भएपनि अहिले अदालतमा नै सत्ताको छायाँ पर्न थालेकोले सबै सचेत हुनुपर्ने बताए ।

शेरबहादुरलाई माधवको कल

गच्छदारले बोल्ने क्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सभापति देउवाबीचको टेलिफोन संवादको प्रसंग समेत झिकेको त्यहाँ सहभागी नेताहरुले नेपालप्रेसलाई बताए । जुन कुरा उनीहरुका लागि नयाँ थियो ।

‘तपाईलाई माधवजीले फोन गरेर बालुवाटार प्रकरणमा आफूलाई मुद्धा हाल्नसक्ने बताउनुभएको रहेछ । तपाईले प्रधानमन्त्रीसंग कुरा गर्छु भन्नुभयो रे । के कुरा गर्नुभयो ?’, गच्छदारले भने ।

गच्छदारको गुनासोपछि सभापति देउवाले आफूले मुद्धा लाग्न नदिन धेरै प्रयास गरेको बताएका थिए । ‘तपाईको लागि पनि मैले धेरै गरेको हो । माधवको बारेमा पनि प्रधानमन्त्रीसंग कुरा गर्छु भनेको हो । यो गम्भीर कुरा हो ।’, देउवाले भने ।

बैठकमा गच्छदारले प्रतिशोधका आधारमा मुद्धा चल्दै जाने हो भने कोही सुरक्षित नहुने भन्दै देउवालाई सचेत गराएका थिए । अख्तियारको मुद्धाबारे गुनासो सकिएपछि राजनीतिक विषयमा गच्छदारले धेरै कुरा राखेनन् ।

‘मलाई शेरधन राई र भीम आचार्य दुवैले फोन गरेका थिए । पार्टीले निर्णय गर्छ भनेको छु’, उनले भने । गच्छदारले आफू राजनीतिक रुपमा कम सक्रिय रहेकोले प्रदेश र जिल्लामा निरन्तर गइरहने नेताहरुको सुझाव अनुसार अघि बढ्नुपर्ने बताउँदै भनाई त्यस सन्दर्भमा बिट मारेका थिए ।

गच्छदारको राजनीति

२०२६ सालमा विद्यार्थी राजनीतिमार्फत गच्छदार नेपाली कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका थिए । २०४८ सालदेखि हालसम्म संसदीय निर्वाचनमा गच्छदार अपराजित छन् । २०६४ सालदेखि २०७४ सालसम्म एक दशक भने गच्छदार कांग्रेसमा रहेनन् ।

कांग्रेसबाट अलग रहेको एक दशकमा मधेशी जनअधिकार फोरम हुँदै गच्छदार लोकतान्त्रिक फोरमको अध्यक्षसमेत रहेका थिए । गत आमनिर्वाचन अघि पार्टी एकतामार्फत कांग्रेसमै फर्किएका गच्छदार २०७४ सालको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।

हालसम्म १२ पटक मन्त्री बनेका गच्छदारले ४ वटा मन्त्रिपरिषदमा उपप्रधानमन्त्रीको जिम्मेवारी समेत पाएका थिए । कांग्रेसमा फर्किएपछि उपसभापतिको भूमिकामा रहेको गच्छदारका तर्फबाट ११ जना कांग्रेस केन्द्रीय सदस्य बनेका छन् ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियारले डामेपनि कांग्रेसको आन्तरिक राजनीतिमा भने गच्छदारको भूमिका महत्वपूर्ण हुने गर्दछ ।


प्रतिक्रिया

One thought on “देउवा निवासमा जब उठ्यो गच्छदारको गुनासो र माधव नेपालको ‘कल’ प्रसंग

  1. मंत्रिपरिसदले गरेको निर्णय मान्न बाध्य सानातिना कर्मचारीलाई मात्र कारबाही गरेर के हुन्छ ??? खोइ बालुवाटार जागा प्रकरण का मुख्य नाइके बाबुराम भट्टराई र माकुनेलाइ कारबाही गरेर खोरमा जाकेको ???? खोइ दलाल, ब्यापारी र ठुला कर्मचारीलाई कारबाही ???? आफ्नै मन्त्रिपरिसद मा रहेका मन्त्रिहरु कारबाहीमा पर्ने, तर तेसको मुख्य नाइके प्रधानमन्त्री चाहीे नीतिगत निर्णय गरेको भन्दै मुद्दा चलाउन डराउने र बचाउने कस्तो कुकर्म अख्तियार को ??? सोझासाझा जनतालाई नैतिकता र अरुलाई अर्ति उपदेश दिदै हिड्ने भारतीय दलाल भनेर आरोप लागेका बाबुराम र माकुनेको असली अनुहार देखिसकेपछि तुरन्त खोरमा जाक !!! येस्ता गद्दार पाखण्डी नेता हरुलाइ पनि महान भनेर पछी लाग्ने भरौटे हरुको चेतना स्तरलाई पनि धिक्कार छ !!!! जय नेपाल, जय नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर