२५ वर्षको अनुभव नेपालमा खन्याउन तयार छन् वाटमोर – Nepal Press

२५ वर्षको अनुभव नेपालमा खन्याउन तयार छन् वाटमोर

काठमाडौं । नेपाली क्रिकेटमा ठूलो आशाको सञ्चार गर्दै भित्रिएका नयाँ प्रशिक्षक डेभ वाटमोर बिहीबार पहिलोपटक नेपाली खेल पत्रकारमाझ पेश भए । वाटमोरका लागि नेपाली पत्रकार नौला, पत्रकारका लागि भने उनी चिरपरिचित झैं ।

उता त्रिवि क्रिकेट मैदानमा पवन सर्राफले छक्काको वर्षा गरिरहँदा यता होटल एल्लो प्यागोडामा पत्रकारहरु वाटमोरलाई प्रश्नको वर्षा गरिरहेका थिए । पत्रकारलाई वाटमोरले सन्तुलित जवाफ दिए, धेरै महत्वाकांक्षी सुनिएनन् ।

‘नेपालमा आफ्नो अनुभवको प्रयोग गर्ने मैले अवसर पाएको छु । म नेपालको क्रिकेट सुधार्ने भरपुर प्रयास गर्नेछु । यहाँ हुन पाउँदा एकदमै खुशी छु । मेरा लागि यो नयाँ चुनौती हो र यसलाई स्वीकार्न म तयार छु,’ वाटमोरले सुरुमा यसरी औपचारिक भनाइ राखे ।

अनि थपे, ‘नेपालले यसअघि नै हासिल गरेको एकदिवसीय मान्यता कायम राख्ने र त्यसलाई अझै सुधार्ने प्रयास गर्नेछु । नेपाली खेलाडीहरूसँग काम गर्नका लागि म उत्सुक छु । केही नेपाली खेलाडीलाई म पहिलेदेखि नै चिन्छु, केहीलाई चिन्दिनँ । तर त्यसका लागि धेरै समय लाग्ने छैन ।

एकपटक उनीहरूसँग काम गरिसकेपछि एक अर्कालाई बुझ्न र प्रदर्शनका लागि स्वस्थ वातावरण निश्चय नै बन्ने छ ।’

क्रिकेटको बारेमा आफूले अहिलेसम्म हासिल गरेका सबै ज्ञान खेलाडीहरुसित बाँड्ने उनले बताए ।

‘आजदेखि मेरो कार्य सुरु भएको छ । अगाडि धेरै काम गर्नुछ । त्यसका लागि सबैको साथ र सहयोग आवश्यक पर्नेछ,’ भन्दै उनले आफ्नो भनाइ टुंग्याएर पत्रकारलाई प्रश्न गर्ने अवसर दिए ।

पहिलो प्रश्न आयो, ‘नेपाली टोली रोज्नुको प्रमुख कारण ?’

जवाफः मैले अहिलेसम्म गरेका सबै काम चुनौतीपूर्ण थिए । र, नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक बन्नु पनि कुनै चुनौतीभन्दा कम छैन । यो सहज कार्य होइन । नेपालको क्रिकेटको स्तर वृद्धि गर्नु देशका लागि एकदमै महत्वपूर्ण विषय छ । त्यो स्तरको चुनौतीले मलाई सधैँ उत्साहित गर्छ । त्यसैले मैले नेपाल चुनेको हुँ ।’

अर्को अपेक्षित प्रश्नः १९९६ मा श्रीलंकाले विश्वकप जिताउने प्रशिक्षक (त्यतिखेर क्रिकेट जगतमा श्रीलंका एक नयाँ टोली थियो) वाटमोरका सामु नेपाललाई विश्वकपसम्म पु¥याउने चुनौती छ, र बोर्डबाट हामी के आशा गर्न सक्छौं ?

बोर्डले सक्दो सहयोग गर्ने नै छ । विश्वकपसम्म पुग्ने कुरा एकदमै कठिन छ । अन्य धेरै देशले पनि हामीले झैँ त्यहाँसम्म पुग्नका लागि कोशिश गरिरहेका छन् । तर, जबसम्म हामी उच्चस्तरमा जाने सपना देख्दैनौ, जान खोज्दैनौं तबसम्म हामी पुग्दैनौं ।

प्रत्येक दिन हामीले सुधार गर्दै गयौं र एक टोलीको रूपमा एक अर्काका लागि निरन्तर कार्य गर्दैै जान सक्यौं भने विश्वकपसम्म पुग्न पनि सम्भव छ । म सबै खेल जित्ने वचन दिन सक्दिनँ । तर, प्रयास गर्ने हो भने सकारात्मक नतिजा आउने सम्भावना रहन्छ ।

वाटमोर र पत्रकारबीच भएका थप प्रश्नोत्तरः

२०१७ मा पनि केही दिनका लागि नेपाल आउनुभएको थियो, अहिले नेपाली टोलीको प्रशिक्षक बनेर आउनुमा त्यो (त्यतिबेलाको प्रभाव) पनि एक कारण हो ?

त्यो नै प्रमुख कारण हो । एकदमै नयाँ ठाउँमा गएर नयाँ खेलाडीहरूसँग काम गर्नुभन्दा पहिल्यै पुगिसकेको र चिनेका खेलाडीसँग काम गर्नु राम्रो पक्ष हुन्छ ।

मुख्य प्रशिक्षक बन्ने इच्छा हुनुभन्दा अगाडि नै नेपाली टोली हेर्नु भएको थियो ?

समय–समयमा हेरिरहेको थिएँ । यसअघि म सिंगापुरमा हुँदा नेपाल पनि सोही समूहमा रहेको थियो । त्यहाँ एक–अर्काविरुद्ध नखेले पनि खेलाडीसँग भेटघाट भएको थियो । पुनः तीनै खेलाडीसँग रि–युनाइट हुन पाउँदा खुशी लागेको छ । मैले इन्टरनेट र पत्रिकामा लगभग प्रत्येक दिन मैले नियालिरहेको थिएँ ।

नेपाली टोली अहिले संक्रमणकालमा छ, केही अनुभवी खेलाडी र केही नयाँ खेलाडी छन् । यो अवस्थामा टीम सन्तुलित राख्नु कत्तिको चुनौतीपूर्ण छ ?

यो खेलाडी छनोट समितिका लागि पनि चुनौतीपूर्ण हुनेछ । टोलीमा अनुभवी र नयाँ दुवै प्रकारका खेलाडी हुनु राम्रो पक्ष हो ।

तपाईँको पोर्टफोलियोबाट नेपालले कसरी फाइदा लिन सक्छ ?

मैले २५ वर्षमा धेरै अनुभव बटुलेको छु र यो अनुभव बाँड्न पाउँदा म एकदमै धेरै खुशी छु । यसले खेलाडी र प्रदर्शनलाई सुधार्न सहयोग गर्नेछ । मैले केही सिद्धान्तमा काम गरेको छु, म त्यो खेलाडीमा लागू गर्नेछु ।

नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा २५/२६ जना खेलाडी सामेल हुने गरेका छन्, यसमा तपाईको रणनीति के हुन्छ ?

यो खेलाडी छनोट समितिसँगको छलफलपछि सहकार्यमा हुनेछ । मलाई विश्वास छ त्यसरी हामी उत्कृष्ट सम्भावित खेलाडीलाई टोलीमा समेट्ने छौं ।

नेपाली दर्शकबाट के अपेक्षा गर्नु हुन्छ ? र, घरेलु मैदानमा दर्शकको भूमिका के हुन्छ ?

नेपालमा क्रिकेटप्रति एकदमै धेरै रुचि छ । घरेलु मैदानमा हुने खेलमा जस्तै अवेमा हुँदा पनि टेलिभिजनमा हेरेर समर्थन गर्छन् । त्यो नेपाली क्रिकेटप्रतिको रुचिको प्रमाण हो ।

एक वर्षको मात्रै सम्झौता छ, तत्काल तपाईका चुनौती र योजना के हुन् ?

तत्कालको चुनौति भनेको छनोट समितिसँगको सहकार्यमा खेल जित्न सक्ने उत्कृष्ट खेलाडीको समूह तयार गर्नु हो, जसले बरीयतामा पनि सुधार ल्याउनेमा म विश्वस्त छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *